१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

‘माटोबिना नै सहरी खेती गर्ने सिप सिक्यौं’

काठमाडौं महानगरपालिकाले वैशाख १२ देखि कार्यान्वयनमा ल्याएको शिक्षामा सीप कार्यक्रमको नमुना रानीपोखरीमा रहेको संस्कृत माध्यमिक विद्यालय बनेको छ। मंगलबार स्कुल परिसरमा पुग्दा स्कुलछेउमा रहेको खाली जग्गामा हरियाली छाएको छ। यो हरियाली स्कुलका विद्यार्थीले गर्दा छाएको हो।

स्कुलअगाडिको भागमा दुईवटा टावरमा माटोरहित खेती गरिएको छ। विद्यार्थीले रोपेको हरियो सिमी फुलेको छ, सागमा पनि फूल लागेको छ। भिन्डी फलेको छ। टावरमा भ्यान्टा फलेको छ। सयपत्री फुलेको छ। फर्सीमा फूल लागेको छ। तोरी पनि फुलेको छ। स्कुलको कम्पाउन्ड वालनजिकै रहेको खाली जग्गामा टमाटर पनि फलेको छ। रायो र तोरीको साग पनि राम्रै उम्रिएको छ। अहा ! कति राम्रो शिक्षामा सिप यहाँ प्रस्ट देखिन्छ।

डेढ महिनाअगावै यस स्कुललाई महानगरपालिकाले कार्यक्रमका लागि पाँच लाख रकम अनुदान दिएको थियो। स्कुलका कक्षा ८ र ९ का विद्यार्थीले डेढ महिनाअघि विद्यालयपरिसरमा रोपेको सागसब्जी तथा फूल अहिले बिक्री हुन थालेपछि विद्यार्थी दंग परेका छन्।

स्कुलको कम्पाउन्ड वालनजिकै रहेको खाली जग्गामा टमाटर पनि फलेको छ। रायो र तोरीको साग पनि राम्रै उम्रिएको छ। अहा! कति राम्रो शिक्षामा सिप यहाँ प्रस्ट देखिन्छ।

कक्षा ८ र ९ अध्ययन गर्दै गरेका करिब ७० विद्यार्थीले समूह बनाएर विभिन्न समूहमा रोपेका तरकारी तथा सागसब्जी र फूल अहिले सप्रिएका छन्। संस्कृतका आयुर्वेदका विद्यार्थी किताबी ज्ञानलाई व्यवहारमा उतार्न पाउँदा निकै खुसी भएका छन्। मंगलबार नागरिककर्मी स्कुलपरिसरमा पुग्दा विद्यार्थी आफूले टावरमा रोपेको सिमी, साग, सयपत्री फूल, भन्टा, भिन्डीलगाएतका तरकारी माटोबिना नै पानीमा मात्र सप्रिएको नियालिरहेक खेतीपाती गर्ने सीप स्कुलदेखि नै सिक्न पाउँदा निकै दंग परेका थिए उनीहरू।

कक्षा ९ का परीक्षित खतिवडा आफूले स्कुलमा टावरमा माटोरहित तरकारी तथा सागसब्जी पनि उमार्न पाउँदा निकै दंग परेका थिए। बूढानीलकण्ठ घर भएका उनी आयुर्वेदका विद्यार्थी हुन्। ‘माटोबिना टावर बनाएर पानीमा भिटामिन हालेर पनि सहरी खेती गर्न सकिने सिप मैले स्कुलमै सिकें। गाउँघरमा त माटोमा खेती गर्ने गरेको मात्र देखेको थिएँ’, परीक्षितले नागरिकसँगको भेटमा भने, ‘स्कुलमा सिकेको ज्ञानले मैले मेरो घरको कौसीमा स्ट्रबेरी, भोटे खुर्सानी, धनियाँ, बोडी र गोलभेडा रोपेको छु। कति राम्रो टुसा लागेको छ।’ उनले खुसी साटे, ‘घरमा आमाले तरकारी केलाएर निकाल्नुभएका फोहर माटोमा कुहाएर मल बनाउन सक्ने भएको छु।’

कक्षा ९ कै सन्देश बरालले भने स्कुलमा सिकाएको सहरी खेतीको सिप प्रयोग गरी आफूलाई दैनिक जीवनमा भान्छामा प्रयोग हुने चिजबिज त आफैंले पनि सानै प्रयासमा उब्जनी गर्न सिकेको बताए।

 काभ्रेका सन्देशलाई पनि माटोमा मात्र खेती गरेको थाहा थियो। १५ वर्षीय सन्देशलाई पहिलोपटक माटोबिना पनि खेतीको जानकारी पाएको उनले सुनाए। उनले स्कुलमा हरियो सिमी, खुर्सानी, टमाटर र तोरी रोपेको जनाए।

कक्षा ९ कै सन्देश बरालले भने स्कुलमा सिकाएको सहरी खेतीको सिप प्रयोग गरी आफूलाई दैनिक जीवनमा भान्छामा प्रयोग हुने चिजबिज त आफैंले पनि सानै प्रयासमा उब्जनी गर्न  सिकेको बताए।

‘अब शुक्रबार एक दिन हामीले स्कुलमा किताब ल्याउनु पर्दैन। यस दिनलाई हामीले सिप सिक्ने दिनका रूपमा प्रयोग गर्न पाउँदा निकै खुसी लागेको छ’, आयुर्वेदका विद्यार्र्थी सन्देशले भने, ‘डेढ महिनाअघि रोपेको हाम्रा सबै तरकारी र फूल उम्रिएका छन्। स्कुलै हरियाली बनेको छ। साथै तरकारी पनि बिक्री गर्न पाएको खुसीको सिमाना छैन।’

सोही स्कुलकी अर्की छात्रा निषिता पुरीले आफूले स्कुलमा बिना हानिकारक औषधी प्रयोग गरी खेती गर्न सिकेको बताइन्। उनले यो सिप जीवनोपयोगी रहेको समेत सुनाइन्। ‘मैले स्कुलमै पहिलोपटक प्याज कुहाएर रस निकालेर बोटबिरुवा छर्केर किरा नलाग्ने सिप सिकें। यो म जीवनभर प्रयोग गर्ने छु’, निषिताले अनुभव सुनाइन्, ‘यति मात्र होइन, मैले स्कुलमा सिकेको सिप घरमा गएर पनि प्रयोग गरेको छु। भान्छामा तरकारी, चामल, दाल लगायतका खानेकुरा पखालेका पानी कौसीमा रोपिएका धनिया, पुदिना, टमाटर, सिमि, खुर्सानीको बोटमा हाल्ने गरेको छु।

यसले बोटबिरुवा राम्ररी सप्रँदो रहेछ। साथै बिरुवासँगै एउटा लठीमा पहेंलो स्टिकर र रातो धागो बाँधेर राख्दा किरा नलाग्ने पनि थाह पाएँ। कक्षा १२ पास भएर स्कुलबाट बाहिरिँदा अब हाम्रो साथमा शैक्षिक प्रमाणपत्रका साथै सिपमूलक प्रमाणपत्र पनि हुने छ।’ कम्तीमा स्कुलबाट बाहिरिँदा आफूहरूसँग केही न केही सिप हुने भएकाले आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिने विद्यार्थीको अनुभव छ।

संस्कृत माविका सहायक प्रिन्सिपल अक्रुर चौलागाईका अनुसार स्कुलको ३ सय स्क्वायर फिटको अगाडिपट्टि र जमल साइडको कम्पाउन्ड वालको भुइँको जग्गामा विद्यार्थीले खेतीपाती गरी थरीथरीका तरकारी र फलफूल रोपेर माटोसँग भिज्न पाएका छन्। ‘हाम्रो विद्यार्थीले रोपेका तरकारी स्कुलको गार्ड दाइ, क्यान्टिन र छात्राबासले खरिद गर्ने गर्छन्’, सहायक प्रिन्सिपल चौलागाईंले भने, ‘यसपटक फर्सीको मुन्टा, भ्यान्टा, तोरी, रायो सिमीलगायतका तरकारी बेचर ३ सय ५० रकम जम्मा भएको छ। यो रकम विद्यार्थी कल्याणकारी कोषमा जम्मा गरिएको छ।’

उनले थपे, ‘महानगरपालिकाले पाँच लाख रकम अनुदान दिएको थियो। युथ फर एग्री वेलफेयर संस्थाले तालिम दिएर कार्यक्रम सञ्चालन गरेका छौं।’ काठमाडौं जस्ता सहरी क्षेत्रमा बिनामाटो पनि खेती गर्न विद्यार्थीले सिकेको जनाए।

संस्कृत माविका सहायक प्रिन्सिपल अक्रुर चौलागाईका अनुसार स्कुलको ३ सय स्क्वायर फिटको अगाडिपट्टि र जमल साइडको कम्पाउन्ड वालको भुइँको जग्गामा विद्यार्थीले खेतीपाती गरी थरीथरीका तरकारी र फलफूल रोपेर माटोसँग भिज्न पाएका छन्।

संस्कृत माविका शिक्षक माधव लामिछानेका अनुसार यस स्कुलमा कक्षा ६ देखि १२ सम्म कुल ५ सय २१ विद्यार्थी छन्। ‘यो कार्यक्रमले विद्यार्थीले गोडमेल गर्ने, मल बनाउने, माटो छुने, मल राख्ने, डल्ला फुटाउने, बेर्ना जमाउने, झार उखल्ने तथा सामान्य खनजोत गर्ने सिप सिक्ने अवसर पाएका छन्’, शिक्षक लामिछानेले भने, ‘स्कुल शिक्षा पास भएपछि विद्यार्थीलाई कम्तीमा आर्थिक रूपमा आत्मनिर्भर बन्ने बाटो छ।’

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार महानगरले यो वर्ष नमुना विद्यालयका लागि एक करोड रकम विनियोजन गरेको छ। महानगरका दरबार स्कुल, संस्कृत मावि र क्षेत्रपाटीको कन्या माविलाई ३०÷३० लाख रूपैयाँ उपलब्ध गराएको छ।

‘महानगरले पुस्तकविहीन शुक्रबार कार्यक्रमअन्तर्गत थालेको तालिमबाट विद्यार्थीले व्यावहारिक र जीवनोपयोगी सीप प्राप्त गर्न सक्ने छन्। विद्यालय शिक्षा पूरा भएपछि स्वदेशमै आर्थिक आयआर्जन गर्ने वातावरण विद्यालय स्तरबाटै बन्छ’, प्रवक्ता मानन्धरले नागरिकसँग भने, ‘यसले केही हदसम्म बिदेसिने वातावरण रोक्छ।’

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार महानगरले यो वर्ष नमुना विद्यालयका लागि एक करोड रकम विनियोजन गरेको छ।

उनले थपे, ‘अहिले ११ वटा सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारका शिक्षा उपलब्ध छ। बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप व्यावसायिक र जीवनोपयोगी बनाउँदै लैजाने महानगर शिक्षासम्बन्धी नीति हो।’

महानगरले शिक्षामा सीपका लागि ९० घन्टा समय छुटाएको छ। १० वटा विषय चयन गरेको छ। कृषि तथा सहरी खेती, सौन्दर्य कला, काष्ठकला तथा नक्कासी, पाककला, फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडानलगायत १० विषयमा विद्यार्थीले सिप सिक्नेछन्। 

प्रकाशित: ४ जेष्ठ २०८० ०२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App