१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

शिक्षकलाई सेवाकालीन तालिम

ताप्लेजुङको फक्ताङलुङ र सिरिजंगा गाउँपालिकाका १२ विद्यालयका २० जना शिक्षकलाई पेसागत विकाससम्बन्धी सेवाकालीन (टिपिडी) तालिम दिन सुरु गरिएको छ। शिक्षक तालिम केन्द्र इनरुवा सुनसरीका शाखा अधिकृत रेवन्त बस्नेतका अनुसार पेसागत विकास सम्बन्धी नतिजासहितको प्रमाणपत्र प्राप्त नभएसम्म शिक्षकको व्यक्तिगत फायल खडा हुँदैन। १० दिन सेवाकालीन तालिमको प्रत्यक्ष प्रशिक्षण र पाँच दिन सम्बन्धित विद्यालयमा गई तालिम सिकाइको अभ्यासमूलक कार्यको योगफलका आधारमा मूल्यांकनसहित प्रमाणपत्र दिने गरी तालिम सुरु भएको हो।

तालिम सकिएको ४५ दिनभित्र परियोजना कार्य सम्पन्न गरी प्रतिवेदन पेस भएपछि नतिजा प्रकाशन गरिने बस्नतेले जानकारी दिए। हिमालयन ट्रस्ट युकेको आर्थिक सहयोगमा ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले तालिमको आयोजना गरेको हो।

रिडको कार्य क्षेत्र फक्ताङलुङ गाउँपालिका–४ इखाबु, वडा नं ५ तापेथोक, वडा नं ६ लेलेप र वडा नं ७ ओलाङचुङगोला तथा सिरिजङ्गा गाउँपालिकाको वडा नं ६ मामांखे ७ खेवाङ र ८ याम्फुदिन हो। रिड नेपालका जिल्ला कार्यक्रम प्रबन्धक राजेन्द्रप्रसाद पन्तले सिरिजंगाका ३ तथा फक्ताङलुङका ९ गरी १२ आधारभूत विद्यालयका शिक्षक तालिममा सहभागी भएको जानकारी दिए।

रिडले यी दुवै गाउँपालिकासहित शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङसँग समन्वय गरेको छ। कोशी प्रदेशको शिक्षक तालिम केन्द्र इनरुवाले आफ्नै क्षेत्रमा सेवाकालीन तालिम लिन पाउनु ताप्लेजुङका शिक्षकका लागि भाग्यको विषय भएको बताएको छ। शाखा अधिकृत बस्नेतका अनुसार यस्तो प्रकृतिको तालिम लिन सजिलो छैन। कोशी प्रदेशमा वर्षभरिमा आधारभूत तहका बढीमा एक सयजना शिक्षकका लागि यस्तो तालिमको कोटा भएको र त्यो पनि ताप्लेजुङसहितका हिमाली तथा पहाडी जिल्लामा आयोजना हुन कठिनाइ भएको बेला रिड नेपालले तालिम आयोजना गरेर स्थानीयलाई मौका दिएको भन्दै उनले रिडको कार्यशैलीको प्रशंसा गरे।

रिड नेपालका जिल्ला कार्यक्रम प्रबन्धक पन्तका अनुसार नेपाल सरकार र रिड नेपालका बीचमा सन् २०१४ मा सम्झौता भएको छ। सम्झौताअनुसार सम्बन्धित प्रदेशको शिक्षक तालिम केन्द्रको सहकार्यमा रिडले प्रदान गर्ने यस्तो तालिमको समग्र मूल्यांकनका आधारमा नतिजासहितको प्रमाणपत्र दिने, यस्तो प्रमाणपत्र सरकारी निकायले प्रमाणीकरण गर्ने र त्यस्तो प्रमाणपत्र सरकारी निकायले जारीसरह हुने छ।

शिक्षक तालिम केन्द्रका शाखा अधिकृत बस्नेतका अनुसार तालिम समयमा गरेको लगनशीलता, कक्षाकोठामा गरेको अभ्यासमूलक कार्य र परियोजना अवधिमा गरेको मेहनतका आधारमा तालिमका सहभागीको मूल्यांकन गरिन्छ। 

प्रकाशित: २४ फाल्गुन २०७९ ०१:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App