९ मंसिर २०८१ आइतबार
image/svg+xml
शिक्षा

पढ्न उत्साहित हुँदै छन् दलित बालबालिका

बिहान सबेरै उठ्नु, ०७ देखि ०९ बजेसम्म हुने ‘ट्युसन क्लास’ भ्याउनु, फेरि १० नबज्दै विद्यालय पुग्नु। सिरहाको इँटाटारस्थित तेनुवापटी आधारभूत विद्यालय कक्षा ४ का छात्रा राधनाकुमारी सदायको दिनचर्या दुई वर्षदेखि यस्तै छ।

केही समय पहिले पढ्न र स्कूल जानुपर्छ भनेपछि झर्को मान्ने छोरी राधनामा आएको परिवर्तन देखेर दङ्ग छन् उनका बुबा भरोसी र आमा निलमदेवी। राधनाका बुबा-आमा मात्रै होइन, पढाइप्रतिको लगाव र विद्यालयमा नियमित आउने उत्साह देखेर दङ्ग छन् विद्यालयका प्रधानाध्यापक रतनदेव सिंह पनि।

यस्तै परिवर्तन आएको छ तेनुवापटी आधारभूत विद्यालयमा ६ कक्षाका निखलेसकुमार सदाय र विष्णुकुमार सदायमा पनि। उनीहरू दुवै स्कूल जान औधि मन गर्छन् अचेल। राधना, निखलेस र विष्णुलाई मात्रै होइन, सिरहाका चारवटा वस्तीका करिब १५३ विद्यार्थीमा यस्तै परिवर्तन आएको छ। तर, यस्तो परिवर्तन भने त्यसै आएको होइन।

दलित बस्तीका यी बालबालिकालाई रमाइलो मानेर स्कुल जाने र ट्युसन पढ्ने वातावरण बनाइदिएको हो, दलित जनकल्याण युवा क्लब लहानले। विविध समस्याका कारण विद्यालय जान र पढ्न खासै रुची नगर्ने दलित समुदायका बालबालिकालाई ‘फ्रिडम फण्ड’ को आर्थिक सहयोगमा पठनपाठनदेखि आवश्यक शैक्षिक सामग्री सहयोग गर्न थालेपछि परिवर्तन देखिन थालेको क्लबका अध्यक्ष उमेशकुमार बिसङ्केले बताए।

गरीबीका कारण आवश्यक शैक्षिक सामग्री र अतिरिक्त कक्षा ट्युसन पढ्न नपाउँदा विद्यालय जान मन नगर्ने गुनासोपछि क्लबले हरवाचरवा, सुकुम्बासी, भूमिहीन दलित समुदायका बालबालिकालाई स्कूल पोशाक, स्टेशनरी र झेला वितरण गर्न थालेको अध्यक्ष बिसङ्केको भनाइ छ।

‘विद्यालय बाहिर रहेका, नाम लेखाएर पनि स्कूल नजाने बालबालिकालाई आवश्यक शैक्षिक सामग्री र पठनपाठनमा सहयोग गरी विद्यालयमा पहुँच पुर्‍याउनु हाम्रो मुख्य उद्देश्य थियो’, उनले भने, ‘सानो सहयोग गर्दा पनि अहिले दलित बस्तीका विपन्न बालबालिकामा पढ्न र नियमित विद्यालय जान केही सहयोग पुगेको छ।’

विद्यालय बाहिर रहेका दलित बालबालिकालाई विद्यालय भर्ना गराउने, निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्ने, अभिभावकलाई बालबालिकाको पढाइप्रति चासो राख्न उत्प्रेरित गर्न शिक्षाको महत्वबारे जानकारी दिने कार्यमा विशेष जोड दिएकाले विद्यार्थी र अभिभावक दुवैमा परिवर्तन देखिन थालेको क्लबका कार्यक्रम संयोजक बहादुर सदायले बताए।

दलित समुदायका बालबालिका विद्यालय बाहिर रहने, नियमित विद्यालय नजाने, पढ्नमा गुणस्तर नबढ्ने जस्ता कारणबारे अनुसन्धान गर्ने, बालबालिकालाई विद्यालयमा टिकाउन आवश्यक क्रियाकलाप सञ्चालनका लागि समुदाय, शिक्षक तथा सरोकारवालासँग छलफल गरी समस्या समाधान गर्ने रणनीति क्लबले अख्तियार गरेको उनले बताए।

स्कूलमा खेलकुद सामग्रीको उपलब्धता, दिवा खाजा कार्यक्रम, छात्रवृत्तिमा पहुँच, विद्यालय पोशाक, झोला र स्टेशनरीको उपलब्धता तथा बस्तीमा गठन भएका हरवाचरवा महिला समूह एवं तीनको परिचालनले पनि दलित समुदायका बालबालिकालाई विद्यालय जान आकर्षित गरेको स्थानीय सामाजिक परिचालक सन्तोशकुमार विसङ्के बताउँछन्।

विद्यार्थी निखलेसकुमार सदाय पनि घरमा ट्युशन र विद्यालयमा पठनपाठनसँगै अतिरिक्त क्रियाकलाप समेत हुने गरेकाले आफूलाई नियमित स्कूल जान सहज भएको धारणा राख्छन्। पहिले पारिवारिक समस्याका कारण आवश्यक शैक्षिक सामग्री नपाउँदा विद्यालय जान मनै नलाग्ने गरेकोमा त्यो समस्या समाधान भएपछि आफूलाई विद्यालय जाऊँजाऊँ लाग्न थालेको निखलेसको भनाइ छ। ६ कक्षाका विष्णुकुमार सदायलाई पनि त्यस्तै लाग्दछ। ‘म अचेल सकेसम्म कुनै दिन स्कूल जान छोड्दिनँ। त्यहाँ गएर पढ्न अनि खेल्न रमाइलो लाग्छ’ उनले भने, ‘मलाई फुटबल खेल्न मन लाग्छ। सधैं ‘टिफिन टाइम’ मा खेल्ने गर्दछु।’

उनीहरूका अभिभावकले पनि ट्युशन पढ्न र विद्यालय जान आवश्यक सहयोग पाएकाले आफूहरूलाई सहज भएको बताएका छन्। दैनिक गुजाराका लागि ज्यालामजदुरी गर्नुपर्ने बाध्यताका कारण छोराछोरीको पठनपाठनमा लगानी गर्न समस्या हुने गरेको उनीहरूको दुखेसो छ। राधनाका बुबा भरोसी सदायले आफूले नपढेर दुःख पाएकाले अब छोराछोरीले पढेर आफ्नो सपना पूरा गर्ने विश्वास व्यक्त गरे।

‘हामीलाई कालो अक्षर भैंसी बराबर’ छ। उहिले पढ्न पाइन, अहिले आएर दुःख पाइएको छ’, उनले भने, ‘अबको पिंढीले यस्तो दुःख नपाऊँन्।’ राधनाले पनि पढेर भविष्यमा ठूलो मान्छे बन्ने सपना रहेको बताइन्। उनी भन्छिन्, ‘धेरै पढेर डाक्टर बन्छु अनि आमाबाबु सबैैको उपचार गर्छु।’

प्रायः दलित बस्तीमा अशिक्षा र चेतनाको कमीले कुलतमा फस्ने र चाँडै विवाह गर्ने समस्या छ। अहिले सहयोगी संस्था र प्रदेश सरकार समेतले बालबालिकाको पठनपाठनमा सहयोग गरिरहेकामा खुशी छन् अभिभावक कुलदेवी सदाय। उनका चार सन्तानमध्ये अहिले तीन जना पढिरहेका छन्। जेठी छोरीको ९ कक्षाको पढाइ नसक्दै विवाह भइसकेको छ। बाँकी तीन सन्तान नियमित स्कूल पढाइरहेको र क्लबबाट सहयोग प्राप्त हुँदा आफूलाई सहज भएको उनले बताइन्।

विद्यार्थी र अभिभावक मात्रै होइन, शिक्षक तथा प्रधानाध्यापकले पनि पहिलेको तुलनामा नियमित विद्यालय आउने दलित बालबालिकाको संख्या र पढाइमा लगाव बढिरहेको बताए। प्रधानाध्यापक सिंहले दलित समुदायका बालबाललिका सकेसम्म स्कूल नआउने र आए पनि बिचमै कक्षा छोड्ने समस्या रहेकामा अहिले धेरै सुधार भएको बताए। ‘करिब ५० प्रतिशत दलित विद्यार्थी बिचमै कक्षा छोड्थे’, उनी भन्छन्,‘अहिले क्लबले सहयोग गरेका कारण नियमित विद्यालय आउने संख्या बढेको छ।’

अभिभावकले नै विद्यालय जानुभन्दा गरिबीका कारण ज्याला मजदूरीको लागि भारत जान प्रोत्साहन गर्ने गरेको तीतो विगत सम्झिंदै प्रधानाध्यापक सिंहले अहिले भने त्यो प्रवृत्तिमा पनि सुधार हुन थालेको धारणा राखे। उनका अनुसार अहिले सो विद्यालयमा कक्षा १ देखि ७ सम्म कूल दुई सय ९९ विद्यार्थीमध्ये दलित विद्यार्थीको संख्या एक सय २३ रहेको छ। इँटाटाराको दलित बस्तीबाट अहिलेसम्म दुई जनाले मात्र १२ कक्षासम्म पढेका छन्।

बरियापट्टी गाउँपालिका–३ स्थित जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक वीरबल यादवले पछिल्लो समय विभिन्न संस्था र सरकारले सहयोग गरेका कारण केही परिवर्तन भए पनि मुसहर बस्तीबाट नियमित विद्यालय नआउने र बिचमै पठाइ छोड्ने समस्या कायमै रहेको बताए। उनले दलित विद्यार्थीलाई लक्षित गरी ‘किशोरी शिक्षा’ र ‘निःशुल्क ट्युसन कक्षा’ सञ्चालन गर्दा पनि अपेक्षित सुधार हुन नसकेको बताए।

‘दलित बालबालिका विद्यालयमा भर्ना हुने तर ४/५ कक्षा नपुग्दै छोडने प्रवृत्ति रहेको छ’, यादवले भने। यस वर्षको एसइईमा यस विद्यालयबाट एकजना मात्र दलित विद्यार्थी उत्तीर्ण भएका थिए।

सामाजिक परिचालक विसङ्खेले पनि प्रदेश सरकार, दातृ निकाय र स्थानीय क्लबले सहयोग गर्दा पनि अझै करिब १० प्रतिशत बालबालिकालाई अभिभावकले स्कूल पठाउने नगरेको बताए।   बालबालिकाको सुन्दर भविष्यका लागि विद्यालय, सहयोगी संस्था र अभिभावक गरी सरोकारवाला पक्ष गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ छ।

प्राध्यापक डा विजयप्रसाद मिश्र पनि गरिब दलित बस्तीका बालबालिकामा विद्यालय जानुपर्छ भन्ने भावना विकास हुँदै गए पनि अझ धेरै समस्या रहेको बताउँछन्। यो समस्या समाधान गर्न दलित, गरिब, हरवाचरवा, सुकुम्बासी, भूमिहीन समुदायका अभिभावकमा बालबालिकालाई पढाउने इच्छा जागृत गराउने उपायको खोजी गरिनुपर्ने उनको मत छ। प्राडा मिश्र भन्छन्, ‘दलित बस्तीमा गएर कुराकानी गर्दा पढेर के हुन्छ र! जति पढे पनि जागीर पाइँदैन भन्ने मानसिकता छ। यसलाई चिर्न उनीहरूमा भरोसा दिलाउने र स्वरोजगारमूलक शिक्षण गतिविधि हुनु आवश्यक छ।’

गरिब बस्तीमा परिवारको दैनिक गुजारा टार्ने आधार नबन्दासम्म शिक्षाको लक्ष्य पूरा गर्न कठिन हुने भएकाले यसतर्फ ध्यान दिन सरकार र सरोकारवालालाई उनको आग्रह छ।

मधेश प्रदेशका धेरै बस्तीमा बालबालिकाको पढाइमा धेरै समस्या छन्। यस्ता समस्याको पहिचान गरी समाधानको प्रयास गर्न सके लहानका यी बालबालिकामा आएको परिवर्तन जस्तै अरू ठाउँमा पनि आउनसक्छ। यस्तै समस्यालाई मध्यनजर गर्दै दलित जनकल्याण युवा क्लब, लहानले ‘फ्रिडम फण्ड’ को आर्थिक सहयोगमा सिरहाका चारवटा दलित बस्तीका बालबालिकालाई लक्षित गरी सहयोग कार्यक्रम गर्दै आएको छ। क्लबका अध्यक्ष विसङ्केका अनुसार जिल्लाको औरही गाउँपालिका-४ स्थित इटाटारको दलित बस्तीमा ४२ बालबालिका, बरियापट्टी गाउँपालिका-३ बरियापट्टीमा ३६ जना, धनगढीमाई नगरपालिका-१ बाखरमा ४० जना र लक्ष्मीपुर पतारी गाउँपालिका-१ रामपुर पिपरामा ३५ दलित बालबालिकाका लागि सन् २०२१ देखि सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ।

सन् २०२४ सम्म सञ्चालन हुने यस कार्यक्रमबाट दलित बस्तीमा पढ्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको उनको भनाइ छ। तर, यो कार्यक्रम सकिएपछि के गर्ने भन्ने अन्योल भने कायम छ। ‘हामीले दलित बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउन भूमिका निर्वाह गर्‍यौं। यसबाट दलित बस्तीका बालबालिका र अभिभावक उत्साहित छन्’, विसङ्खेले भने, ‘अब यस कार्यक्रमको समयावधि सकिएपछि स्थानीय सरकारले सहयोग गर्ने हाम्रो अपेक्षा छ।’

औरही गाउँपालिका-४ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद यादव वडा तथा गाउँपालिकाले कार्यक्रमलाई निरन्तरता दिने गरी छलफल भइरहेको बताउँछन्। उनी भन्छन्, ‘वडाबाट दुई लाख बजेट पनि छुट्याएको छ।’ रासस

प्रकाशित: २० पुस २०७९ ०८:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App