२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
शिक्षा

एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी पढिरहेका छन्। कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरू पढ्दै आएका छन्।

नर्सरीदेखि १० कक्षासम्म पढ्ने १३ जुम्ल्याहा रहेको विद्यालयका संस्थापक प्रध्यानाध्यपक भोजराज दाहालले बताए। ‘विगतमा पनि जुम्ल्याहा विद्यार्थी विद्यालयमा पढ्न आउने गरेका थिए, एकैपल्ट यति धेरै जुम्ल्याहा विद्यार्थी पढ्न आएका यसपटक नै हो। यो आफैंमा दुर्लभ संयोग हो’, दाहालले भने, ‘एउटै शैक्षिक सत्रमा १३ जोडी जुम्ल्याहा विद्यार्थी हामीसँग हुँदा गर्व लागेको छ।’

जुम्ल्याहा जन्म आफैंमा दुर्लभ जन्म भएको बताउँदै प्रिन्सिपल दाहालले जुम्ल्याहा विद्यार्थीको आफ्नो विद्यालयको गौरव भएको बताउँछन्। ‘एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा हुनु हाम्रा लागि दुर्लभ मात्रै होइन ऐतिहासिक पनि हो। हामी यी नानीबाबुको पढाइमा कुनै कमी हुन नदिने गरेर लागेका छौं’, दाहालले भने।

जुम्ल्याहा विद्यार्थी पढाउँदै आएका शिक्षकसँग पनि फरक खालको अनुभव छ। जुम्ल्याहा विद्यार्थी एउटै कक्षामा रहेकाले उनीहरूमा सहकार्य र प्रतिस्पर्धाको भावना रहेको विद्यालयका सामाजिक शिक्षक ईश्वर पौडेल बताउँछन्।

विद्यार्थीलाई पढाउने क्रममा शिक्षक अनुहारमा एकरूपता भएकाले कहिलेकाहीं झुक्किने गरे पनि जुम्ल्याहा जोडीसँग व्यवहार गर्न सजिलो हुने पौडेल बताउँछन्। तेह्र जोडी जुम्ल्याहा विद्यार्थी अरू विद्यार्थी जस्तै पढाइ र अतिरिक्त क्रियाकलापमा अब्बल रहने गरेका उनले बताए।

विद्यालयको १० कक्षामा पढ्ने जुम्ल्याहा दाजुबहिनी निहाल क्षेत्री र निहारिका क्षेत्री दुवैले जुम्ल्याहा भएर जन्मिन पाएकोमा गर्व लागेको बताए। एउटै कक्षाको पढाइ भएकाले घरमा पढ्न सजिलो भएको भन्दै उनीहरू घरमा अभिभावकको माया बराबर पाएको बताउँछन्।

उनीहरू जस्तै विद्यालयकै ८ कक्षामा पढ्ने रीतिका सापकोटा र रिया सापकोटा दिदीबहिनी हुन्। दिदीबहिनी त्यसैमाथि एउटै कक्षामा पढ्ने भएकाले कहिलेकाहीं साथीहरू र शिक्षकशिक्षिका समेत झुक्किने गरेको दुवैको अनुभव छ।

जुम्ल्याहा सन्तान जन्मिँदा सुरुका केही वर्ष हुर्काउनबढाउन समस्या भएको भए पनि दुवै सन्तानले सँगसँगै प्रगति गरेको देख्दा भने  फरक खालको खुसी महसुस हुने गरेको कावासोती-२ का जुम्ल्याहा सन्तानका पिता रिसिकान्त सापकोटा बताउँछन्। जुम्ल्याहा सन्तानलाई आमाको दूध, पोषण लगायतका कुराहरू आवश्यक मात्रमा पुर्‍याएर सुरुसुरुमा हुर्काउन गाह्रो भए पनि हुर्किदै गएपछि धेरै कुरा मेल खाने भएकाले उनीहरूलाई बुझ्न झनै सजिलो हुने सापकोटा बताउँछन्। ‘सँगै पढ्ने, सँगै खेल्ने र एक अर्काको भावना अरू बच्चाभन्दा छिट्टै बुझ्ने भएकाले पनि रमाइलो लाग्छ’, उनले भने।

२०४६ सालमा स्थापना भएको उक्त विद्यालयले आफ्नो  तेत्तीसौं वार्षिकोत्सवमा मंगलबार जुम्ल्याहा सन्तान र उनीहरूका अभिभावकलाई सम्मान गरेको छ। रासस

प्रकाशित: ७ पुस २०७९ ०५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App