९ मंसिर २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

प्रमुख प्रश्न

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि १ सय ६५ र ३ सय ३० प्रत्यक्ष पदका निम्ति आइतबार उम्मेदवारी दर्ता भएको छ। समानुपातिकतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाइसकिएको छ। प्रत्यक्षतर्फको उम्मेदवारी पनि बुझाइसकेपछि मुलुकमा निर्वाचनको वातावरण सुरु भइसकेको छ। उम्मेदवारको अनुहार हेरेर जोड–घटाउ गर्न मतदातालाई पनि सजिलो हुन्छ। यसपटकको निर्वाचनका निम्ति तय भएका उम्मेदवार हेरेपछि निर्वाचन परिणाम आकलन गर्न पनि सहज भएको छ।

निर्वाचनका निम्ति प्रमुख दलहरूले अघि सारेका उम्मेदवार र गठबन्धनका आधारमा यो निर्वाचन विगतभन्दा भिन्न हुने देखिएको छ। मुलुकका ठूला दल गठबन्धन लिएर अगाडि आएका छन्। सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) दुवैले एक्लाएक्लै निर्वाचनमा भाग लिन आँट गरेनन्। अझ गठबन्धनविरुद्ध एक्लै निर्वाचनमा भाग लिने बताइरहेको एमालेले पनि साँठगाँठ गर्नुपरेको छ। एक्लै निर्वाचनमा भाग लिँदा अप्ठ्यारो पर्ने महसुस एमालेले गरेको यसबाट देखिन्छ।

गठबन्धनबेगर कसैले पनि निर्वाचनमा भाग लिन चाहेनन्। एकातिर, सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमोर्चा छन्। अर्कोतिर, विपक्षी गठबन्धनमा एमाले, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल र कांग्रेस बिपी देखिएका छन्। निर्वाचन लड्दा जोसुकैसँग मिल्न सकिन्छ भन्ने दृष्टान्त दलहरूले प्रस्तुत गरेका छन्। अन्यथा, एमालेले अहिले राप्रपालाई साथमा लिएर हिँड्नुपर्ने थिएन। त्यसैगरी कुनै बेला सशस्त्र द्वन्द्वका बेला राज्य र विद्रोही पक्षको प्रतिनिधित्व गरेका शेरबहादुर देउवा र पुष्पकमल दाहाल सँगै हिँड्न बाध्य हुने थिएनन्।

यसपटकका गठबन्धन भनेका सुविधाका साँठगाँठ हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिगमन भयो भनी गठबन्धनमा सामेल भएका उपेन्द्र यादवले अहिले एमालेसँग सहयात्रा सुरु गरेका छन्। ओली कसैसँग पनि गठबन्धन नगर्ने बोलीमा अडिन सकेनन्। उनले पनि गठबन्धन गर्नै परेको छ। त्यसैले अहिलेका गठबन्धन सत्तास्वार्थले बनेका हुन् भन्नेमा कुनै द्विविधा छैन। त्यसैले हिजो कसले के भनेका थिए भन्ने भन्दा पनि आगामी दिनमा निर्वाचन कसरी जितिन्छ भन्नेमै सबैको ध्यान गएको छ।

विभिन्न दलबीचको गठबन्धनले दलभित्रका पुराना र इमान्दार कार्यकर्तालाई पछि पारेको छ। निर्वाचन जित्न सक्ने बाहिरका व्यक्तिको खोजीमा सबै दल लागेका छन्। त्यसैले दल भनेर लामो समयदेखि संघर्ष गरेर मात्र हुने भएन, स्रोत/साधन जुटाउन सक्ने र नेतालाई खुसी पार्न सक्ने व्यक्तिले मात्र यस्तो अवसर पाउने देखिएको छ। प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवार बनाएका व्यक्तिहरू पनि कुनै न कुनै रूपमा नेतृत्वसँग नजिक भएकाहरू रहेका छन्। उनीहरूले दलभित्रै रहेका पुराना कार्यकर्तालाई पाखा पार्न सफल भएका छन्।

कांग्रेसमा डा. मीनेन्द्र रिजाल जस्ता व्यक्ति निर्वाचनमा उम्मेदवार बनाइएनन्। त्यसैगरी एमालेले भीम रावल र घनश्याम भुसाललाई प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार बनाउनुपर्ने आवश्यकता महसुस गरेन। एमालेमा राप्रपा नेपालका नेता कमल थापा अटाउन सक्नु तर रावल र भुसाल नअटाउनुको अर्थ बुझ्न गाह्रो छैन। एमाले अध्यक्ष केपी शर्मा ओली दलभित्र बुल्डोजर लगाउन सक्षम भएका छन्। त्यसैगरी कांग्रेसभित्रका आकांक्षीहरू पाखा लागेका छन्।

सबैजसो दलको उम्मेदवारी चयन प्रक्रिया हेर्दा आफू र आफ्ना गुटलाई बलियो बनाउने ध्याउन्न सबैमा देखिन्छ। आफ्नो दल बलियो बनाउँदा भन्दा गुट दह्रिलो हुँदा फाइदा हुन्छ भनी ठान्ने प्रवृत्ति देखिएको छ। निर्वाचनपछि दलको आकार घटे पनि आफ्नो प्रभाव त्यसमा रहिरहनु पर्छ भन्ने देखिएको छ। आफूसँग दल रहिरह्यो भने जस्तोसुकै ढंगले अगाडि बढ्न सकिन्छ भन्ने देखिएको छ। गठबन्धनकै सरकार बनाउन सामान्य सहयोगी भए पनि छुट्टै दल हुँदा त्यसले सहयोग पुर्‍याउँछ भन्ने नेताहरूलाई लागेको देखिन्छ। त्यसैले सानोतिनो दल भए पनि ठूला दलसँग निर्वाचनमा भाग खोज्न सजिलो हुने देखिएको छ।

अघिल्ला निर्वाचनसम्म दुई ठूला दलमा राजनीति केन्द्रित हुने अपेक्षा गरेको देखिएको थियो। अब स्थिति त्यता नजाने भयो। बरु दलहरूमै बिग्रह भई अझ संख्या बढ्न सक्ने देखिएको छ। निर्वाचनका बेला दलविरुद्ध दलकै नेता तथा कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिने घटना पनि निकै भएका छन्। यसले दलहरूभित्रको एकता अरू कमजोर बनेको देखिन्छ।

निर्वाचनमा सिद्धान्त, दल आदि पक्ष अब गौण हुने देखिएको छ। कुनै पनि नाम भएका दल विशेष भन्दा पनि त्यसमा कस्ता उम्मेदवार रहेका छन् भन्ने पक्षमा आममतदाताको ध्यान पुग्नुपर्ने देखिएको छ। अबको भूमिका भने आममतदाताकै हो। मतदाताले विवेक पुर्‍याए भने निर्वाचन परिणाम सुखद हुन सक्छ। प्रत्यक्ष निर्वाचनमा हुने उम्मेदवारलाई हेरेर मतदाताले निर्णय गर्न सक्छन्। अहिलेसम्म समानुपातिक उम्मेदवारको नाम सार्वजनिक भइसकेको छैन। त्यसमा पनि कस्तालाई प्राथमिकतामा राखेका छन् भन्ने हेरेर समानुपातिकको मत सदुपयोग गर्न सकिन्छ। आममतदाताको सचेतता अहिलेको प्रमुख प्रश्न हो। 

प्रकाशित: २४ आश्विन २०७९ ००:२६ सोमबार

Download Nagarik App
Download Nagarik App