७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

सुर्तीविरुद्ध सक्रियता

जनस्वास्थ्यका क्षेत्रमा आममानिसलाई जानकारी गराउनुपर्ने अनेकन विषय छन्। विशेषगरी सुर्तीजन्य पदार्थबाट हुने जनधनको क्षतिबारे आधारभूत जानकारी राखेको पाइँदैन। कतिपय सामान्य भनिएका जानकारी मात्रै राख्न सक्दा पनि मानिसलाई असामान्य फाइदा हुन्छ।

सुर्तीजन्य पदार्थबाट नेपालमा मात्र बर्सेनि २७ हजार मानिसको मृत्यु हुन्छ भन्ने तथ्यांक आफैँमा झस्काउने खालको छ। आममानिसको यति ठूलो मृत्युको कारक सुर्तीजन्य पदार्थ सेवनमा जुन तहको सक्रियता सरकार र आममानिसमा हुनुपर्ने हो त्यो देखिएको छैन। त्यसैको परिणामस्वरूप धेरै ठूलो जनधनको क्षति हुँदा पनि संवेदनशीलता छैन।

सुर्तीजन्य पदार्थ सेवनबाट बर्सेनि नेपालमा २७ हजार १३७ जनाको मृत्यु हुने गरेको जानकारी राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले मंगलबार एक विज्ञप्ति मार्फत दिएको छ। यो नेपालमा हुने मृत्यु संख्याको करिब १५ प्रतिशत हो। विगतमा नेकपा (माओवादी) ले सञ्चालन गरेको दश वर्ष लामो सशस्त्र द्वन्द्वमा करिब १७ हजार व्यक्तिको मृत्यु भएको थियो।

त्यो मृत्यु शान्ति प्रक्रियापछि रोकिएको छ। तर, सुर्तीजन्य पदार्थबाट हुने यस्तो मृत्यु रोक्न सरकारले गरिरहेको प्रयत्न सफल नभएको देखाउँछ। सुर्तीजन्य पदार्थ, वायु प्रदूषण, सवारी दुर्घटना आदिका कारण नेपालमा मृत्यु बढिरहेको छ। यो अस्वाभाविक किसिमको मृत्यु रोक्न सकिन्छ। त्यसका निम्ति प्रयत्न हुनु आवश्यक छ।

सुर्तीजन्य पदार्थका कारण विश्वमा बर्सेनि ८० लाख मानिसको मृत्यु हुन्छ। यसमध्ये पनि ७० लाख मानिस प्रत्यक्ष सुर्तीजन्य पदार्थ सेवन गरेका कारण मृत्युको मुखमा पर्छन्। बाँकीको मृत्यु भने सँगै बस्नेले खाएको चुरोटको धुवाँको असरबाट हुन्छ। हामीकहाँ सरकारले सार्वजनिक स्थानमा धूमपान गर्न नपाउने कानुन बनाए पनि यसको पालना भएको छैन। कतिपय रेस्टुरेन्टमा युवाले चुरोट पिइरहेका देखिन्छ।

यसरी अन्यको स्वास्थ्यमा समेत असर पार्ने काम नगर्न रोक लगाएको देखिँदैन। कमाइ हुन्छ भनेर रेस्टुराँमै चुरोट खान दिने गर्नु भएन। त्यति मात्र होइन, कतिपय ठूला अपार्टमेन्ट र कार्यालयको एउटा कुनामा गएर चुरोट पिएको देखिन्छ। तर, त्यसको गन्ध र असर भने पूरै भवनमा परिरहेको हुन्छ।

सुर्तीजन्य पदार्थको असर न्यूनीकरणका निम्ति मुलुकमा कानुन बनेर लागु पनि भएको छ। सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी ऐन, कानुन र निर्देशिकाको कार्यान्वयन पक्षमा भने कमजोरी देखिन्छ। यसको कार्यान्वयनमा ध्यान दिएको भए स्वाभाविकरूपमा यसका उपभोक्ता कम हुने थिए। अचेल सार्वजनिक स्थानमा किशोर/किशोरीले समेत सुर्तीजन्य पदार्थ निर्वाध उपभोग गरेका देखिन्छ।

अहिले युवामा यसको लत बढ्ता लागेको देख्दा पनि नियन्त्रण भने यथोचित रूपमा हुन नसकेको बुझ्न सकिन्छ। सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, दीर्घ श्वास/प्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने गर्दछ। सुर्तीजन्य पदार्थको असरलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी ऐन, कानुन र निर्देशिका पारित भई लागु भइसकेको जनाइएको छ।

सुर्तीजन्य पदार्थका प्रयोगकर्ता कम गर्न प्रभावकारी अभियान र कार्यक्रम सञ्चालन भएको देखिएको छैन। त्यस्तो हुँदो हो त त्यसको असर समाजमा प्रतिबिम्बित हुन सक्छ। अचेल सुर्तीजन्य पदार्थको प्रयोगका नयाँ तरिका समेत आएका छन्। इसिग्रेटको प्रचलन युवामा देखिन्छ। त्यो पनि निकोटिन मुक्त हो भन्ने छैन।

अचेल हुक्का खान पाइने रेस्टुरेन्टहरू प्रचलित छन्। कतिपयले यस्ता पदार्थ उपभोग गरेर सामाजिक सञ्जालमा समेत राखेका देखिन्छ। तिनलाई यसो गर्नुहुँदैन भन्ने ज्ञान कम देखिन्छ। अरूलाई यस्तै काम गर्न दुरुत्साहन गर्ने किसिमका गतिविधि सञ्चालन हुन दिनु उचित होइन। प्रत्येक वर्ष सुर्तीजन्य पदार्थविरुद्ध दिवस मनाउने गरे पनि यसको प्रभावकारिता कम छ। संयोगले मंगलबार यही दिवस परे पनि यसविरुद्ध अभियान चलाएको देखिएन। वास्तवमा आममानिसले महसुस गर्ने गरी यसविरुद्ध अभियान चलाउनुपर्छ।

सुर्तीजन्य पदार्थ प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ भन्ने पुष्टि भइसकेको छ। त्यति मात्र होइन, यो वातावरणीय स्वच्छताका हिसाबले पनि उचित होइन। यसको सेवन र सेवनपछि फ्याँकिएका पदार्थले समेत वायु, जल र माटोलाई समेत प्रदूषित पार्छ। यसको प्रयोगले व्यक्तिमा क्यान्सर लगायतका असाध्य रोग लाग्ने त छँदैछ। एक तथ्यांकअनुसार विश्वमा प्रत्येक वर्ष ३५ लाख हेक्टर जमिन सुर्ती खेतीका निम्ति नष्ट हुन्छ। यसले माटोको ऊर्वराशक्ति समेत ह्रास गराउँछ। यस्तो उत्पादन विकासोन्मुख देशमा बढी हुन्छ। विकासोन्मुख देशले ९० प्रतिशत उत्पादन थेग्नु भनेको त्यहाँको माटो र वातावरणमा समेत नकारात्मक असर पर्नु हो।

हाम्रो जस्तो मुलुकले क्यान्सर जस्तो दुसाध्य रोगको उपचारका निम्ति धेरै ठूलो रकम खर्च गर्छ। सुर्तीजन्य पदार्थको उत्पादन, वितरण र बिक्रीबाट हुने आम्दानी धेरै देखे पनि परोक्ष रूपमा त्यसले नोक्सानी गरिरहेको हुन्छ। मानव संसाधनमाथि पार्ने नकारात्मक असरले अन्ततः देशको अर्थतन्त्रमै नकारात्मक प्रभाव पर्छ। त्यसकारण सुर्तीजन्य पदार्थको उपभोगलाई निरुत्साहित गर्न स्वास्थ्य नेतृत्व केन्द्रित हुनुपर्छ।

हाम्रो समाजमा एउटा पुस्ता सुर्तीजन्य पदार्थको उपभोगप्रति आकर्षित देखिन्न। तर, त्यसपछिको नयाँ पुस्ता भने फेरि यसको लतमा लागेको देखिन्छ। यसको अर्थ सुर्तीजन्य पदार्थ विरोधी वातावरण निरन्तर समाजमा हुनुपर्छ। अनि मात्र यसप्रतिको आकर्षण कम हुन्छ। यसबाट हुने मृत्यु घटाउन पनि प्रयोगलाई निरुत्साहित गर्नुको विकल्प छैन।

प्रकाशित: १८ जेष्ठ २०७९ ०१:१२ बुधबार

Download Nagarik App
Download Nagarik App