१० मंसिर २०८१ सोमबार
image/svg+xml
सम्पादकीय

काकाकुल काठमाडौंको मेलम्ची सपना

गत वर्षायाममा आएको बाढी र पहिरोबाट क्षति पुगेको मेलम्ची खानेपानी आयोजना पुनः कहिलेबाट सञ्चालन हुने भन्ने जनचासोबीच उपत्यकाबासीका धारामा केही दिनमा पानी खस्ने भएको छ।

यसरी अस्थायी प्रबन्धअन्तर्गत भए पनि वर्षाअघिका २ महिनाका लागि उपयत्यकामा मेलम्चीको पानी वितरण हुनुलाई सुखद सुरुआत मान्न सकिन्छ। बाढीले पुरेका अस्थायी संरचना खोतलेर पानी राजधानी ल्याउन लागिएको हो।

तत्काल स्थायी संरचना बन्न संभव नभएको र आगामी वर्षायाममा बाढीको प्रबल संभावना रहेकाले मुहानस्थलको गेट बन्द गर्नुपर्ने स्थिति रहेको आयोजनाले जनाएको छ। यो आयोजना समस्याग्रस्त देखिए पनि कम्तिमा अहिलेलाई यसले केही आशा अवश्य जगाएको छ। नयाँ वर्षको थालनीसँगै यस्ता खबरले स्वाभाविकरूपमा उत्साह जगाउँछ। तैपनि यसको स्थायी समाधान खोज्नु अहिलेको आवश्यकता हो। आखिर समाधान नभएको समस्या छैन।

त्यसो त, एक वर्षअघि परीक्षणका रूपमा उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको थियो। तर गत असार १ र साउन १७ गते आएको बाढी र पहिरोले आयोजनाका सुरुङहरू पुरिएका थिए। यो अनपेक्षित प्राकृतिक प्रकोपका कारण मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्सको संरचना २० देखि ३० फिटसम्म पुरिएको थियो।

बाढीले मुहानस्थलमा ठुल्ठूला ढुंगा र बालुवाको लेदोसहित १ लाख ३० हजार घनमिटर गेग्रान थुपारेको थियो। यही गेग्रानलाई ३ महिना लगाएर पन्छाएपछि अहिले सुरुङमा पानी हालिएको हो। अहिले प्रतिसेकेण्ड २ सय ६५ लिटरका दरले पानी सुरुङमा हालिएको आयोजनाले जनाएको छ।

सम्बद्ध अधिकारीले सुरुङमा रहेको अवरोध हटाएर ‘तत्कालका लागि पानी ल्याइने र त्यो केही महिनाका लागिमात्र हुने’ बताएका छन्। अझैपनि मेलम्ची शिर रहेको हिमाली भेगमा पहिरोको जोखिम उत्तिकै छ भने मेलम्चीदेखि मुहान क्षेत्र हेलम्बुसम्म करिब १८ किलोमिटर सडक बाढीले जीर्ण बनाएको छ। मेलम्चीदेखि अम्बाथान क्षेत्रका ६ वटा पुल बगाएकाले निर्माण सामग्री ल्याउन पनि चुनौती देखिएको छ।

निराशा तथा अनिश्चिताका बीच वहुप्रतीक्षित मेलम्ची पानीले थोरै समयका लागि भएपनि राजधानीबासीको तिर्खा मेट्ने भएको छ। यो सुखद समाचार हो। तर गत वर्ष मध्य चैतदेखि मेलम्चीको पानी धारामा खस्न थालेको केही समयमै बन्द भएपछि उपत्यकाबासी निराश भएका थिए। यस हिसाबले आयोजना थालनी गर्दा यस्ता सम्भावित परिस्थितितर्फ बेलैमा ध्यान पुग्नु पर्छ भन्ने सन्देश विकास आयोजना सञ्चालकलाई लिएको हुनुपर्छ। हामीकहाँ विकास आयोजना निर्माण हुँदा यसका वहुआयामिक पक्षमा ध्यान पुर्‍याउन पनि उत्तिकै आवश्यक छ।

त्यसो त ३ दशकदेखि राजधानीबासीले मेलम्ची सपना देख्दै आएका हुन्। २०४७ सालतिर प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौँबासीको उपयोगका लागि आपूर्ति गरिने प्रतिबद्धता व्यक्त गरेका थिए। काठमाडौँ उपत्यकामा खानेपानीको मागभन्दा आपूर्तिको मात्रा अत्यन्त कम रहेको सन्दर्भमा बढ्दो पानीको माग थेग्न सक्ने एकमात्र विकल्पका रूपमा मेलम्ची खानेपानी आयोजनाको अवधारणा सुरु भएको हो। काठमाडौँ उपत्यकाको सहरी क्षेत्रमा स्थायी/अस्थायी गरी हाल करिब ३५ लाख जनसंख्या छ। हाल उपत्यकामा दैनिक करिब ३५ करोड लिटर खानेपानीको माग रहेको अनुमान छ।

अझै पनि काठमाडौँ उपत्यकामा पानीको अधिकांश आपूर्ति भूमिगत स्रोतबाट हुने गरेको छ। उपत्यकाभित्रका विभिन्न सतह तथा भूमिगत पानी उपयोग हुँदा काठमाडौँको जमिनभित्र पानीको सतह घट्दै गएको भूगर्भविद्हरूले बताउँदै आएका छन्। यो सन्दर्भमा मेलम्ची खानेपानी आयोजनाले यो समस्यालाई केही मात्रामा भए पनि सम्बोधन गर्ने अपेक्षा गरिएको छ। दीर्घकालीन रूपमा यसले काठमाडौंको स्थितिमा सुधार गर्न सक्छ। पानीको अभावमा काकाकुल बनेका यहाँका नागरिकलाई यसले राहत दिने छ।

मेलम्ची खानेपानी आयोजनालाई काठमाडौँ उपत्यकामा सहरी क्षेत्रको खानेपानीको माग पूरा गर्नका लागि क्रमिकरूपमा क्षमता बढाउँदै लैजान सकिने एक बृहत् तथा अन्तरजलाधार परियोजना मानिएको छ। यस परियोजनाले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाविसअन्तर्गत मेलम्ची नदीको रिबर्मा भन्ने ठाउँनिर मुहान (हेडवक्र्स) निर्माण गरी रिबर्मादेखि सुन्दरीजलसम्म करिब २६ किलोमिटर लामो सुरुङका माध्यमबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ उपत्यकाभित्र ल्याउने उद्देश्य लिएको छ भने दोस्रो चरणमा याङ्ग्री र लार्के नदीबाट दैनिक १७/१७ करोड लिटर गरी जम्मा ५१ करोड लिटर पानी काठमाडौँ ल्याउने दीर्घकालीन योजना छ।  

उद्देश्य अत्यन्त राम्रो भए तापनि यो राष्ट्रिय गौरवको परियोजना कार्यान्वयन अत्यन्त ढिलो हुनुलाई सुखद मान्न सकिन्न। तत्कालीन प्रधानमन्त्री भट्टराईले अगाडि सारेका प्रतिबद्धता ३ दशकसम्म पनि पूरा नहुनु आफैँमा अनौठो विषय हो। महँगा तथा महत्वपूर्ण भौतिक परियोजनाहरू समयमै पूरा नहुँदा समय र संसाधन दुवै खर्च हुन्छ। अझ राष्ट्रिय गौरवका परियोजनाको हालत यस्तो हुँदा यसले राष्ट्रिय बेइज्जती हुने गरेको छ। यस्ता परियोजना जति ढिला गर्‍यो त्यति महँगो हुँदै जान्छन्। यो स्थिति अन्य आयोजनाका हकमा पनि लागु हुन्छ।

यसैगरी केही समयमा मेलम्चीको पानी आपूर्ति हुँदा पनि उपत्यकाको खानेपानीको माग मेलम्चीले थेग्न सक्ने स्थिति छैन। सरकारले मेलम्ची खानेपानीको विकल्पका रूपमा सिस्नेरी, ठोस्ने र महादेव खोला जलाशययुक्त आयोजना अध्ययन गरिरहेको बताएको छ। यसैगरी यो प्रसंगमा खानेपानीको वितरण प्रणाली, चुहावट नियन्त्रण, गुणस्तर, स्रोत परिचालन, मुहान संरक्षण, सरसफाइ व्यवस्थापन एवम् सुधारलगायतका कार्य महत्वपूर्ण हुन्छन्। 

प्रकाशित: ७ वैशाख २०७९ ००:५१ बुधबार

Download Nagarik App
Download Nagarik App