१० मंसिर २०८१ सोमबार
image/svg+xml
सम्पादकीय

राजनीतिक विकृतिको महँगो मूल्य

नेता कस्तो हुनुपर्छ? यतिबेला युद्ध मैदानमा लडिरहेका युक्रेनी राष्ट्रपति भोलोदिमियर जेलेन्स्कीलाई देखेर विश्व आश्चर्यचकित छ। चार वर्षसम्म चलेको टेलिभिजन शृंखला ‘जनताको नोकर’ अर्थात ‘सर्भेन्ट अफ दि पिपुल’ मा सामान्य स्कुल शिक्षकको भूमिकाले घरघरको चर्चामा रहेका जेलेन्स्की यतिबेला रसियाली अतिक्रमणविरुद्ध लडिरहेका छन्। भ्रष्टाचारको दलदलमा परेको युक्रेनलाई यिनले नयाँ जीवन मात्र दिएनन् आज नियतिले उनलाई योद्धाका रूपमा संसारसामु प्रस्तुत हुनुपर्ने अवस्थामा पुर्‍याएको छ। ‘रिल लाइफ’ अर्थात् टेलिभिजनको पर्दामा मात्र होइन ‘रियल लाइफ’ वास्तविक जीवनमा पनि यस्ता हिरोहरू बिरलाकोटी जन्मिन्छन्। जति बाँच्छन्, तिनले आममानिसको परिकल्पनामा नायकत्वको छाप छाड्छन्। जेलेन्स्कीले फेरि एकपटक नेताको परिचय फेरेका छन्।

हाम्रो मुलुकमा पनि नेताको खडेरी परेन। युगलाई हाँक्न सक्षम नेतृत्व हामीले पाउँदै आएका छौँ। सात सालको क्रान्तिलाई प्रेरणा दिने अमर सहिद दशरथ चन्द, धर्मभक्त, शुक्रराज शास्त्री र गंगालालको वीरगाथा हाम्रा निम्ति प्रेरक छ। सात दशक नाघिसकेको त्यो वीरगाथाले आज पनि हामीलाई नतमस्तक बनाउँछ। राष्ट्र एकीकरण अभियानमा आफ्नो जीवन न्यौछावर गर्ने वीरहरू आज पनि हाम्रा मनमस्तिस्क र भावनामा चमचमाइरहेका छन्।

पछि बिपी कोइराला, पुष्पलाल जस्ता नेताको आगमनले राजनीतिलाई दिशा दिन सकेको हो। तिनले गरेका योगदान सम्झेर आजको दिनमा पनि शीर निहुरिन्छ। हाम्रै जीवनकालमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी जस्ता नेताका कारण राजनीतिमा ठूलो परिवर्तन आएको छ। राजनीति राष्ट्रको मूलनीति हो नै सँगै यसले नागरिक कल्पनालाई बढावा दिन सक्ने गरी काम गर्न सक्नुपर्छ। नेताको अनुहार सम्झिनेबित्तिकै मनमा श्रद्धाको नदी बहनुपर्छ।

आज राजनीति यस्तो विन्दुमा आइपुगेको छ जहाँ नेताको कद घट्दै गएको छ। हिजो श्रद्धा लाग्ने नेताहरूले आज आफूलाई यस्तो ठाउँमा पुर्‍याइसकेका छन्, जहाँ सम्मानका दुई शब्द अर्पित गर्न कठिन छ। जे गर्न नहुने त्यही राजनीतिले गरिरहेको छ। आमनागरिकमा आशा जगाउनेभन्दा निराश तुल्याउने काम भइरहेका छन्। आखिर राजनीतिलाई केले यस्तो बनायो? राजनीति जनमतमा अगाडि बढ्छ। यसर्थ मन नपराउने किसिमको काम गर्न नेता तर्सिनुपर्ने हो। तर भइरहेको त्यस्तो छैन। जसरी हुन्छ ढाँटछलबाटै राजनीति अगाडि बढाउनुपर्छ भन्ने मान्यताले घरजम गरेको छ। नेता आदर्शका प्रतिमूर्ति हुन् भन्ने भावना अहिले हटिसकेको छ। चाटुकारहरूलाई वरिपरि राखेर ‘दलाल अर्थतन्त्र’ मा रमाउने व्यक्ति अहिले नेता भनेर चिनिन्छन्।

कुनै खास व्यक्ति वा समूहलाई लाभ पुग्ने गरी काम गरेमा अन्यत्र मुलुकमा ‘स्वार्थ बाझ्छ’ भन्ने ठानिन्छ। यसैलाई ‘कन्फ्लिक्ट अफ  इन्ट्रेस्ट भन्ने गरिन्छ। हामीकहाँ यस पक्षमा खासै ध्यान दिइन्न। जसो गर्दा आफू र आफन्तलाई लाभ हुन्छ त्यही गरिन्छ। कतिपय अवस्थामा हवाईजहाजमा नजिकको सिटमा कुनै व्यापारीले बस्ने मौका पाएमा समेत त्यसबारे व्यापक आलोचना हुन्छ। कतिपय अवस्थामा सम्बन्धित नेताले स्पष्टीकरण दिनुपर्ने हुन्छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोभिडको बन्दाबन्दीका समयमा बगैँचामा पार्टी गरेकामा व्यापक आलोचना मात्र भएन तिनलाई संसद्भित्र समेत जवाफदेही बनाएको देखिन्छ।

हामीकहाँ भने खास व्यापारिक घरानालाई लाभ पुग्ने गरी एकपछि अर्को निर्णय गर्दा पनि कसैले जवाफ दिनुपर्ने अवस्था हुँदैन। केही नेताका निकट ठेकेदारले एकपछि अर्को ठेक्का पाएका छन्। तिनले सडक निर्माण पूरा नगरी बीचैमा काम छाडेरसमेत अप्ठ्यारो पर्ने गरेको छ। तर हामीकहाँ नेता तिनै ठेकेदारका घरमा बस्छन्। तिनको जीवन ठेकेदारले चलाएका छन्। यस्तो विषय सार्वजनिक हुँदासमेत नेतृत्वले खासै चिन्ता गर्नुपर्दैन।

सामान्यतः फौजदारी अभियोग लागेको नेताले सार्वजनिक जिम्मेवारी पाउन अयोग्य हुन्छन्। हामीकहाँ फौजदारी अभियोग लागे पनि तिनलाई दलको राजनीतिबाट हटाउन सकिँदैन। थुनामा रहेका व्यक्तिले निर्वाचन जित्ने देश हो हाम्रो। राजनीतिक कारणले थुनामा परेका भए पनि बेग्लै, फौजदारी अभियोग लागेका व्यक्तिले सहजै निर्वाचन जितेका मात्र होइन, पछि दल दर्ता गर्नसमेत कोसिस गरेको देखिन्छ।

धन्य, निर्वाचन आयोगका कारण मात्र तिनका नाममा दल दर्ता भएन। त्यसपछि तिनकी पत्नीका नाममा दर्ता भएको छ। अहिले पनि प्रमुख दलमा भ्रष्टाचार, हत्यालगायतका फौजदारी अभियोग लागेका र जेल सजाय भएका नेताहरू सक्रिय भएका छन्। दलहरूले पनि यस्ता नेतालाई निस्कासन गर्ने वा भविष्यमा अभियोग मुक्त भएपछि मात्र जिम्मेवारीमा ल्याउने गर्नुपर्ने हो। भोटको राजनीतिका कारण यस्ता नेतालाई हटाउन सकेको देखिँदैन।

यी यावत् घटनाक्रम हेर्दा र हाम्रो मुलुकको बढ्दो विकृति नियन्त्रण गर्न राजनीतिक शुद्धीकरण आवश्यक भइसकेको छ। नेतामा सही चरित्र हुनुपर्छ भन्ने भावनालाई बढावा दिनुपर्ने अवस्था छ। आवश्यक पर्दा जनता नेतासँगै सडकमा आउन सक्ने अवस्थाका निम्ति पनि राजनीति शुद्ध बनाउनु उचित हुन्छ। अन्यथा, लोकतन्त्रप्रति वितृणा फैलिन्छ। अहिले एकथरी लोकतन्त्र विरोधी शक्तिहरू क्रियाशील भएका छन्। तिनको उद्देश्य सकेसम्म लोकतन्त्र समाप्त पार्ने हो। तिनको उद्देश्य पूरा गर्ने गरी राजनीतिमा विकृति फैलिनु राम्रो होइन। राजनीतिक विकृति अन्त्य गर्न नसक्दा मुलुकमा स्थायित्व धेरै टाढाको विषय बन्नेछ। 

प्रकाशित: २० फाल्गुन २०७८ ०१:२० शुक्रबार

Download Nagarik App
Download Nagarik App