२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
सम्पादकीय

नेतृत्वको नियत

यो साता निकै थोरै व्यक्तिले तत्कालीन प्रधानमन्त्री एवं सत्तारुढ नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालालाई सम्झिएका छन्। कोइराला यस्ता नेता थिए जसले आफूलाई जिन्दगीभर पृष्ठभूमिमा राखेर काम गरिरहे। उनलाई न दल न सरकार कतै पनि उचो पदको लालसा थिएन।

जतिबेला उनले मुलुकको प्रधानमन्त्री हुने मौका पाए, जो सधैँ सम्झिने गरी काम गरे। उनी यस्तो बेलामा प्रधानमन्त्रीको कुर्सीमा रहे जतिबेला मुलुकले झण्डै आधा शताब्दीदेखि देखेको संविधानको सपना पूरा भयो। कोइराला प्रधानमन्त्री भएका बेला २०७२ सालमा संविधान जारी हुनुमा उनको व्यक्तित्व र प्रतिबद्धतालाई मूलरूपमा श्रेय जान्छ।

अहिले आएर हेर्ने हो भने उनको ठाउँमा अरू कोही व्यक्ति प्रधानमन्त्री हुँदा त्यति सहजै संविधान जारी हुन सक्ने स्थिति थिएन। यसकारण पनि उनलाई एक दृढ निश्चयी नेताका रूपमा सम्झनुपर्छ।

नियतिले उनलाई संविधान जारी भएको चार महिनामै चुँडेर लग्यो। ८० वर्षको उमेरमा २०७२ माघ २६ मा उनको निधन भयो। यसपटक प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई संविधान जारी गर्ने प्रधानमन्त्रीका रूपमा सम्मान गर्दै राजनीतिक चरित्रको परिचय दिएका छन्।

कोइरालासँग देउवाको प्रतिस्पर्धा थियो। उनीसँग दलको सभापतिमा पनि देउवा पराजित भएका थिए। कोइरालाको निधनपछि फेरि देउवाका हातमा दलको नेतृत्व आएको छ। अहिले मुलुकको प्रधानमन्त्री मात्र होइन, लोकतान्त्रिक विधिबाट निर्वाचित दलका सभापति हुन् देउवा। यो बेलामा उनले कोइरालाको स्मृतिमा उदारतापूर्वक अभिव्यक्ति दिएका छन्।

वास्तवमा कोइरालालाई मुलुकले चीरकालपर्यन्त सम्झना गर्नु उचित हुन्छ। त्यसमा पनि अहिलेको जस्तो राजनीतिमा अनैतिकता र द्वैध चरित्रको हैकम चलेका बेला लोकतन्त्रका सरल बुझाइलाई व्यवहारमा उतार्ने नेताको खाँचो झनै खड्किने गरेको छ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई नै सम्झौँ न, जो अमेरिकामा उपचारपछि सरकारले गिरफ्तार गर्छ भन्ने जान्दाजान्दै पनि नेपाल फर्केका थिए। कारण उनले राजालाई उपचारपछि देश फर्किन्छु भनेर वचन दिएका हुँदा त्यसको पालना गरेका थिए। उनलाई यस्तो बेलामा किन फर्किने भनेर सञ्चारमाध्यमले अन्तर्वार्ता लिएका थिए। दिएको वचनको पक्का हुनु नै एउटा नेताको असलपना हो।

सुशील कोइराला प्रधानमन्त्री हुँदा सम्पत्तिका नाममा दुईटा मोबाइलमात्र भएको चर्चा चलेको थियो। संसारकै गरिब राष्ट्रपति भनेर चिनिएका उरुग्वेका राष्ट्रपति होसे मुहिकाको जस्तै गरी कोइरालाको नाम पनि गरिब प्रधानमन्त्रीका रूपमा चलेको थियो। कोइरालाले आफ्नो जीवनमा अपनाएको साद्गीपनको यसले परिचय दिएको थियो।

त्यसैगरी उनी वचनका पक्का प्रधानमन्त्री पनि हुन्। उनले भित्र जे बोले बाहिर पनि त्यही व्यवहार गरे। त्यसैकारण संविधान जारी गर्ने बेलामा जस्तो कठिन परिस्थिति आएको थियो, त्यसको सामना उनी भएकै कारणमात्र सम्भव भएको हो। संविधान जारी गर्नुअघि छिमेकी भारतबाट आएको दबाबलाई पनि उनले सामना गरेका हुन्। संविधान जारी भएपछिको नाकाबन्दीलाई त्यत्तिकै बिर्सन सकिँदैन। यी सबैलाई सामना गर्न तयार हुने दृढ निश्चयी प्रधानमन्त्रीका रूपमा सुशील कोइरालालाई नसम्झनु कृतघ्नता हुन्छ।

यतिबेला देशमा जे/जस्ता बेथिति देखिँदैछन्, त्यसले सर्वसाधारणलाई निराश तुल्याइरहेका छन्। संविधान जारी भएपछि देशको कायापलट हुन्छ भनी राखिएको अपेक्षा यतिबेला छरपस्ट भएका छन्। मुलुकलाई नेतृत्व गर्ने नेताहरूको चरित्रले सर्वसाधारणलाई आशा सञ्चार गर्ने हो।

यसकारण पनि नेतृत्वबाट आशा सञ्चार हुने गरी काम गर्नुपर्ने अवस्था छ। बोली र व्यवहारमा पक्का राजनीतिक नेतृत्व भएन भने त्यसले भ्रम उत्पादनमात्र गर्छ। अहिले देशमा भइरहेको यही हो। आफ्नो बोली र व्यवहारमा तादाम्य भएन भने त्यसले समग्र परिस्थितिलाई अन्योलग्रस्त तुल्याउँछ।

अचेल प्रायः सर्वसाधारणको गुनासो हुने गर्छ– हामीकहाँ नेता भएनन्। नेताहरूको पनि गुनासो हुन्छ– सबै कहाँ त्यस्ता छन्। हामी नै हौँ नेता। हाम्रो धर्ती राम्रा नेता उत्पादन गर्न नसक्ने छैन। यहीँ गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, मदन भण्डारी, गिरिजाप्रसाद कोइरालाजस्ता नेता जन्मिएकै हुन्। समकालीन नेताहरूले पनि आफ्नो समयमा गरेको योगदानकै कारण आजको स्थानमा आएका छन्।

मुलुकको राजनीतिक परिवर्तनका निम्ति तिनले योगदान गरेका हुन्। तर राजनीतिक परिवर्तनपछि देशलाई जसरी बाटो देखाउनुपर्ने थियो, त्यो हुन सकेन। त्यसैकारण अहिले गुनासो हुने गरेको हो। देशमा उत्पन्न मुद्दामा सही विचार र दृष्टिकोण दिन सक्ने नेताहरूको अभाव भएको हो। भीडले जता डोहो¥यायो त्यतै डोहोरिनेलाई नेता भनिँदैन। नेताले भीडलाई आफूसँग डोहोर्‍याउने हो। अहिलेको समस्या भनेको भीडको पछि नेता लागेरै हो।

अतः संविधान जारी गर्दाका बखतको उत्साहलाई फेरि स्मरण गर्दै मुुलुकका संस्थाहरूको सुसञ्चालन गर्ने गरी नेतृत्वले आफूलाई अग्रसर तुल्याउनु आवश्यक छ। मुलुकमा संविधानसभाको दुई पटक निर्वाचन गर्नुपरेको विगत हाम्रै हो। राजनीतिक प्रतिबद्धता र नेतामा आफ्नो वचनप्रति पक्का हुने गुण भएको भए एउटै संविधानसभाले संविधान दिन सक्ने थियो। दोस्रो संविधान जारी हुन पनि मुलुकमा भूकम्पकै प्रतीक्षा गर्नुपरेको हो। भूकम्पपछि मात्र नेताहरू एक ठाउँमा आएका थिए।

त्यतिमात्र होइन, संविधान जारी भएपछि प्रधानमन्त्री पदको हस्तान्तरण हुने स्थिति सिर्जना भएपछि बल्ल यसले गति लिएको हो। त्यसपछि पनि स्थिति सहज थिएन। स्थिति सहज बनाउन सुशील कोइरालाको योगदान थियो भन्न अहिले सानो चित्त बनाउनै पर्दैन। कम्तीमा यो यथार्थलाई स्वीकार गर्ने र मुलुकको भलाइका निम्ति प्रेरणा लिन अहिलेको नेतृत्व तत्पर हुनुपर्छ।

प्रकाशित: २८ माघ २०७८ ०२:३९ शुक्रबार

Download Nagarik App
Download Nagarik App