राजनीति आफ्नैप्रति निर्मम हुन्छ। आफू विजयी हुन सबैले प्रयास गर्छन्। दलभित्रको राजनीति होस् वा मुलुकको,त्यसमा वर्चस्व प्राप्त गर्न जस्तोसुकै तिकडम गरिन्छ। नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा यसका वरिष्ठ नेता रामचन्द्र पौडेलको राजनीतिक सन्न्यासले धेरैको मन खिन्न भएको छ।
दलको १३औं महाधिवेशनमा शेरबहादुर देउवा उनलाई पराजित गरी सभापति बन्न सफल भएका थिए। आफू पराजित भएपछि पनि पौडेलले संस्थापनइतर राजनीतिको धिपधिपे दियो जोगाइरहे। स्वाभाविक रूपमा उनले यसपटक आफूलाई फेरि सभापतिको उम्मेदवार बनाउने चाहना राखेका हुन्।
आफूसँगै राजनीतिमा आएका साथीहरूले दल र सरकारको नेतृत्व गरेको देखेका पौडेललाई स्वाभाविक रूपमा त्यो अवसर आउँछ भन्ने विश्वास नभएको होइन।
पौडेलका निम्ति यसपटक परिस्थिति झनै प्रतिकूल भएपछि निर्वाचनमा सहभागी नहुने गरी उनी अलग्गिएका छन्। संस्थापनइतर खेमाबाट सर्वसम्मत सभापतिको उम्मेदवार बन्ने उनको चाहना पूरा हुन सकेन।
विशेषगरी दलका युवा नेताहरूले देउवाविरोधी खेमालाई सर्वसम्मत गराउन कोसिस गरेको पनि हो। सुरुमा सभापतिका निम्ति घोषणा गरेका पौडेल र डा.सशांक कोइराला मैदानबाहिर रहे पनि डा. शेखर कोइराला र प्रकाशमान सिंह निर्वाचन अभियानमा होमिएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा र अहिलेसम्म उनकै शिविरका महत्वपूर्ण सदस्य रहेका विमलेन्द्र निधि समेत सभापतिका उम्मेदवार बनेका छन्। देउवालाई चुनौती दिन सक्ने अनुहारका रूपमा अहिलेसम्म हेरिएकामा पौडेल अनायासै दृश्यबाट बाहिरिएका छन्।
निःसन्देह दलमा माथिल्लो पद एउटा मात्र हुन्छ। तर,यस्तो स्थानमा सकेसम्म योगदान भएका नेतालाई पालैपालो पुर्याउने परिपाटी बस्न नसक्दा पौडेलको जस्तो दुःखद बहिर्गमन हुन पुग्छ। कांग्रेसमा यस्तो स्थिति पटक–पटक देखिएको छ। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालापछि यो दल नेतात्रय अर्थात् कृष्णप्रसाद भट्टराई,गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको हातमा गएको हो।
कालान्तरमा भट्टराई र सिंहको पार्टीबाट अपमानपूर्वक बहिर्गमन हुन पुगेको हो। उनीहरूले पनि चित्त दुःखाउँदै आफूलाई दलबाट अलग्याउनुपर्ने अवस्था देखिएको हो। उनीहरूसँगै सहयात्रा गर्न कोइरालाले सकेनन्। र,कांग्रेसमा फेरि त्यही इतिहास दोहोरिएको छ। अश्रुपुरित नयन लिएर पौडेलले दलको राजनीतिबाट अलग्गिनुपरेको घटना आफैंमा नेपाली राजनीतिको एउटा वियोगान्त हो।
आज पौडेलले जे व्यहोरेका छन्, यही परिस्थिति यहाँका सबैजसो दलमा देखिन थालिसकेको छ। एकथरी नेताले दलमा आफ्नो पकड जसरी पनि कायम राख्न साम,दाम, दण्ड,भेदको नीति अपनाउने गरेका छन्। यसका निम्ति पाखुरा (मसल) र पैसा (मनी) जसले जुटाउन सक्छ,त्यही राजनीतिमा सान्दर्भिक हुन्छ भन्नेजस्तो स्थिति मुलुकको राजनीतिमा देखिन थालेको छ।
अनावश्यक ठूलो रकम खर्च गर्न नसक्ने नेताले अब राज्यका निर्वाचनमा मात्र होइन,दलका निर्वाचनबाट पनि बाहिरिनुपर्ने अवस्था आउँछ। पौडेलले जस्तै राजनीतिबाट आफूलाई बाहिर निकाल्न आँखाबाट आँसु झार्नुपर्ने अवस्था कुनै पनि पुराना नेताका निम्ति आउनु आफैंमा दुःखद पक्ष हो।
नेतात्रयपछि मुलुकको राजनीतिमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र शैलजा आचार्यलाई अर्को पुुस्ताका रूपमा चित्रण गर्ने गरिएको थियो। यी तीन नामलाई जोडेर ‘आरएसएस’ भन्ने गरिएको थियो कुनै बेला। शैलजा दल र सरकारको नेतृत्व गर्न नपाई स्वर्गीय भएपछि शेरबहादुर र रामचन्द्र मात्र त्यो समूहबाट रहेका हुन्। देउवाले पनि आफ्ना सहयात्रीलाई मिलाएर जान सकेनन्।
खासमा पछिल्लो समय पौडेलले देउवासँग अपेक्षा गर्नै छाडिसकका हुन्। उनको चित्त त्यतिबेला मात्र दुखेको हो,जतिबेला आफ्नै समूहले पनि उनको कुरा सुनेन। आफ्नै समूहबाट दुईजना उम्मेदवार प्रकाशमान सिंह र शेखर कोइराला सभापतिको उम्मेदवार भएपछि पौडेल प्रतिस्पर्धाको मैदानबाट बाहिरिएका छन्।
धन्य, राजनीतिमा पौडेलको आवश्यकता रहेको बताउन देउवा उनको निवास बोहोराटारमा शनिबार बेलुका मात्र पुगेका छन्। देउवालाई पनि उनको आवश्यकता त्यति बेला मात्र महसुस भयो, जतिबेला उनले राजनीतिबाटै सन्न्यास घोषणा गरेका छन्।
देउवाले पहिल्यै उनलाई आश्वस्त पार्न सकेका भए केही उपाय निस्किन नसक्ने थिएन। पौडेलले पनि यो महाधिवेशनमा आफू सहभागी नहुने घोषणा केहीअघि नै गर्न सकेका भए परिणाम केही भिन्न आउन सक्थ्यो कि! तैपनि उनले यसपटक आफूलाई नेतृत्व प्रतिस्पर्धाबाट अलग्याएर राजनीतिक विजय प्राप्त गरेका छन्। पौडेलको यो कदमको चर्चा महाधिवेशनकै जतिको हुन पुगेको छ। यो उनले अहिलेसम्म कमाएको राजनीतिक साखको परिणाम हो।
पौडेल कांग्रेसभित्र अहिलेसम्म सिद्धान्तको व्याख्या गर्न सक्ने समाजवादी चिन्तकका रूपमा चिनिएका नेता हुन्। तत्कालीन राजा ज्ञानेन्द्रले प्रजातन्त्र अपहरण गर्दै मुलुकमा हुकुमी शैलीमा शासन सुरु गरेपछि ‘अभिशप्त इतिहासलाई मिल्काइदिऔं’ भन्दै क्रान्तिकारी ढंगले लेख लेखेर आम नागरिकलाई जगाउने काम गरेका हुन्।
पौडेलले आफ्नो राजनीतिक यात्रामा यहाँ आइपुगेर विराम लगाउँदा उनले विगतमा मुलुकप्रति लगाएको गुन र योगदानको कदर हुन नसकेको महसुस हुन्छ। उनलाई अबको नेतृत्वले कसरी न्याय गर्छ,त्यो प्रतीक्षाको विषय बनेको छ।
पौडेलको यो निराश बहिर्गमनले भने राजनीतिमा आकर्षित हुन खोज्ने युवा पुस्तालाई निरुत्साहित गर्छ। राजनीतिमा यति धेरै तिकडम र अन्याय हुन्छ भन्ने महसुस भयो भने को यसमा सहभागी हुन तत्पर होला र?
प्रकाशित: २७ मंसिर २०७८ ०२:०२ सोमबार