८ मंसिर २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

जनस्वास्थ्य मापदण्डमा कडाइ

जनस्वास्थ्य मापदण्ड पालनामा पछिल्लो समय सरकारदेखि सर्वसाधारणसम्मले जेजस्तो लापरबाही गरिराखेका छन्, त्यसैको परिणाम कोरोना संक्रमणको ग्राफ पनि बढ्दै गएको छ, जुन आफैँमा चिन्ताको विषय हो। अझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिटै दैनिक करिब ११ हजार जनाका दरले कोरोना संक्रमण बढ्न सक्ने भनी गरेको प्रक्षेपणले आगामी दिनको सम्भावित भयावह अवस्था अनुमान गर्न सकिन्छ। 

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पत्रकार सम्मेलन गरेर आगामी असारसम्म ६ लाखभन्दा बढीमा कोरोना संक्रमण हुने आकलन गर्दै बढ्दो संक्रमण नियन्त्रण गर्न कडाइपूर्वक जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेका हुन्। त्यसैले पनि यो अवस्थामा सरकारले कोरोना संक्रमण रोकथामका लागि प्रभावकारी उपायहरू अवलम्बन गर्दै त्यसको कडाइका साथ कार्यान्वयन गर्न जरुरी छ, सर्वसाधारणले पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नैपर्छ। अन्यथा मुलुकको अवस्था स्वास्थ्य मन्त्रालयले प्रक्षेपण गरेभन्दा पनि भयावह हुन सक्छ।  

गत कात्तिकदेखि कोरोना संक्रमणको दर घट्दै गएसँगै बन्द रहेका विभिन्न क्षेत्र बिस्तारै खुल्दै गएका हुन्। एक हिसाबले भन्ने हो भने सर्वसाधारणको दैनिकी बिस्तारै लयमा फर्किंदै थियो। त्यसमाथि विभिन्न राजनीतिक एवं सामाजिक समूहका विरोध कार्यक्रमदेखि राजनीतिक दलहरूको ठुल्ठूला कार्यक्रमले त कोरोना संक्रमणलाई नै बिर्साइदिएको हो। त्यति ठूला कार्यक्रमहरूको बाबजुद पनि कोरोना संक्रमणको दरचाहिँ बिस्तारै ओर्लिंदै गएको हो। एकातिर दैनिक क्रियाकलाप र गतिविधि बढ्दै जाने, अर्काेतिर संक्रमणको दर पनि घट्दै गएका बेला थोरै परिणाममा नै किन नहोस्, कोरोनाविरुद्धको खोप अभियान पनि सुरु भयो।

 यसले सर्वसाधारणको आत्मविश्वास यति बढाइदियो कि जनस्वास्थ्यका मापदण्डलाई बेवास्ता गर्दै पुरानै लयमा फर्किन थाले। फागुनको अन्तमा आइपुग्दा दैनिक ५० को हाराहारीमा मात्रै संक्रमण देखिन थाल्यो भने मृत्युदर शून्यमा झर्‍यो। विश्वविद्यालयको पठनपाठन त यसै पनि सुचारु भएकै थिए, विद्यालयहरू पनि लगभग सबै खुल्न थाले। त्यसैबीच जनस्वास्थ्य मापदण्डको पालना नगर्ने तर दैनिक जीवन पुरानै लयमा फर्किंदा बिस्तारै संक्रमण पनि फैलिन थाल्यो। विद्यालयहरू कोरोना संक्रमणको हटस्पटको रूपमा देखापर्न थाले। अझ छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दोस्रो लहर आएसँगै त्यसको टड्कारो प्रभाव नेपालमा पनि पर्न थाल्यो। र, अहिले दिनहुँ कोरोना संक्रमणको दर पाँच सयभन्दा बढी हुनु र एकै दिन १३ जनासम्मको मृत्यु भएको घटनाले खतराको घन्टी दिएको छ।  

विज्ञले नेपालमा पनि कोरोना संक्रमणको दोस्रो लहर आएको रूपमा व्याख्या गरेका छन् भने यसमा जनस्वास्थ्य मापदण्ड कार्यान्वनमा गरिएको लापरबाहीलाई नै मुख्य कारण मानिएको छ। अझ पछिल्लो समय नेपालमा पनि बेलायतमा देखिएको प्रजातिको भाइरस फैलिएको आकलन गरिएको छ, जुन भाइरसको फैलिँदो दर र मृत्यु दर यसअघि देखिएको प्रजातिको भन्दा बढी छ। त्यति मात्रै होइन, यो प्रजातिले साना बालबालिकालाई समेत उत्तिकै संक्रमित गर्ने बताइएको छ। त्यसो त नेपालमा पछिल्लो समय बालबालिकामा संक्रमण फैलिएबाट पनि यसलाई सहजै अनुमान गर्न सकिन्छ।

त्यसैले बालबालिकामा फैलिँदो संक्रमण नियन्त्रण गर्न एक महिनाका लागि विद्यालय बन्द गरी भर्चुअल माध्यमबाट पठनपाठन गर्ने बताइए पनि निजी विद्यालय सञ्चालकहरूको दबाबका कारण सरकारले निर्णय गर्न सकेको छैन। अर्काेतिर संक्रमण भयावह रूपमा फैलिँदै गए विगतमा झैँ बन्दाबन्दी (लकडाउन) नै गर्नुपर्ने अवस्था पनि आउन सक्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै सरकार लकडाउन गर्ने पक्षमा नरहेको तर अवस्था भयावह भए त्यो अवस्था पनि आउन सक्ने चेतावनी दिएका छन्। 

त्यसैले त्यो अवस्था आउन नदिन सर्वसाधारणलाई जनस्वास्थ्य मापदण्ड अपनाउन प्रधानमन्त्री ओलीले आग्रह गरेका हुन्। त्यसो त अहिले कोरोना संक्रमणको दर फैलिएसँगै लकडाउनको विषय प्रचारको रूपमा आएको छ। यसको पक्ष÷विपक्षमा उत्तिकै कुरा हुने गर्छ। तर, कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन समाधान होइन, बरु जनस्वास्थ्य मापदण्डको पालना चाहिँ अनिवार्य सर्त हो। फेरि अहिले जो–जसले लकडाउन गर्न हुँदैन भनी प्रचार गरिरहेका छन्, उनीहरू नै जनस्वास्थ्य मापदण्डको पालनाको विषयमा पनि बेपरवाह छन्। जस्तो कि सानादेखि ठूला व्यापारी/व्यवसायी हुन् वा विद्यालय सञ्चालक वा सार्वजनिक यातायात व्यवसायीदेखि ट्याक्सी ड्राइभर नै किन नहोऊन्, सबै लकडाउनको विपक्षमा छन्, जसलाई अन्यथा लिन हुँदैन। तर, उनीहरू जे जसरी लकडाउनको विपक्षमा छन्, त्यसैगरी जनस्वास्थ्य मापदण्ड पालनामा पनि उनीहरूले नै बढ्ता ध्यान दिनुपर्ने हो, तर व्यवहारमा त्यस्तो देखिँदैन।

 त्यसैले चाहे ट्याक्सी चालक हुन् वा व्यापारी, उनीहरूले कम्तीमा मास्कको अनिवार्य प्रयोग, सेनिटाइजरको व्यवस्थाजस्ता सामान्य स्वास्थ्य मापदण्ड पालनामा पनि उत्तिकै ख्याल गर्न जरुरी छ। त्यस्तै विद्यालय सञ्चालकहरूले पनि आफ्नो विद्यालयमा मास्क, सेनिटाइजर, साबुनपानीको व्यवस्थादेखि सकेसम्म भौतिक दूरीको पालना र त्यसैअनुसारको संरचनाहरूको व्यवस्था गर्न आवश्यक छ। यी त केवल उदाहरण मात्रै हुन्, सर्वसाधारण सबैले जनस्वास्थ्यको मापदण्ड पालना गर्न आवश्यक छ। त्यसो भयो भने आगामी दिनमा लकडाउनको अवस्थामा जानैपर्दैन।

यता सरकारले पनि सीमा नाकाबाट प्रवेश गर्नेलाई कडाइ गर्नेभन्दा पनि नाकामै परीक्षण गर्ने र १० दिन अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न आवश्यक छ। अस्पताललाई तयारी अवस्थामा राख्नेदेखि आवश्यक स्वास्थ्य सामग्रीको जोहो गर्न पनि उत्तिकै आवश्यक छ। कोरोना संक्रमण बढेका वेला स्वास्थ्य क्षेत्रमा केही पूर्वाधार बढाए पनि त्यो पर्याप्त छैन। त्यसैले अहिले संक्रमण नबढ्दै स्वास्थ्य पूर्वाधार वृद्धि गर्न पनि जरुरी छ। 

अस्पतालमा अक्सिजनसहितको शड्ढया बढाउनेदेखि स्वास्थ्य जनशक्तिको व्यवस्थापन महत्वपूर्ण विषय हो, जसप्रति सरकारको ध्यान बेलैमा जानुपर्छ। विगतमा भए/गरिएका गल्तीबाट पाठ सिक्दै कोरोना महामारी नियन्त्रणका लागि तत्काल विज्ञहरू सम्मिलित कार्यदल गठन गरी तत्कालीन र दीर्घकालीन रणनीति बनाउँदै अघि बढ्नुको विकल्प छैन। मुख्य कुरा यसको नियन्त्रणका लागि सुरु गरिएको खोप अभियानलाई निरन्तरता दिन सरकारले तत्कालै थप डोज खोप ल्याउने वातावरण तयार पार्न पनि उत्तिकै जरुरी छ। त्यसका लागि उच्च राजनीतिक नेतृत्वले नै पहलकदमी लिनुपर्छ। 

प्रकाशित: २ वैशाख २०७८ ०४:०९ बिहीबार

Download Nagarik App
Download Nagarik App