प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवनमा अर्को सफलता प्राप्त भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग सोमबार पद तथा गोपनीयताको सपथ लिएपछि औपचारिक रूपमा उनको नयाँ कार्यकाल सुरु भएको हो। संविधानको धारा ७६ (२) अन्तर्गत बनेको सरकारलाई मुलुकको पहिलो ठुलो दल नेपाली कांग्रेसको साथ रहेको छ। यसकारण झन्डै दुई तिहाइभन्दा बढी सांसदको समर्थन ओलीसँग छ। यसले उनलाई इतिहासमै बिरलै आउने अवसर प्राप्त भएको छ। यसले उनलाई मुलुकमा देखिएका निराशा चिर्ने र आर्थिक समृद्धितर्फ लैजाने मौका मिलेको छ। यो मुलुकमा सकारात्मक ढंगले काम हुन सक्छ भन्ने विश्वास दिलाउनुपर्ने चुनौतीपूर्ण अवस्थामा उनले यतिबेला मुलुकको सरकार प्रमुखको जिम्मेवारी पाएका छन्।
संयोग गजबै परेको छ। मुलुकको आर्थिक वर्षको अन्तिम दिन उनले जिम्मेवारी लिएका छन्। प्रत्येक वर्षजसो पुँजीगत बजेट कम भएको र भएको बजेट पनि कम खर्च हुने गरेको गुनासोबिच उनको कार्यकाल सुरु भएको छ। मुलुकको विकास निर्माणको कामलाई प्रधानमन्त्रीका रूपमा समन्वय गर्ने र अगाडि बढाउने जिम्मेवारी मात्रै पनि उनले गम्भीरतापूर्वक निर्वाह गरिदिए भने स्थिति फेरिन सक्छ। यतिबेला मुलुकलाई आत्मविश्वासको आवश्यकता छ। मुलुकमा केही हुन्छ भन्ने सन्देश दिन सक्ने प्रधानमन्त्री असफल हुने अवस्था छैन। जाँगरिला जनता, स्रोतसाधनयुक्त देश र उदार लोकतान्त्रिक शासनव्यवस्था भएका बेला पनि उन्नति हुन नसके कहिले हुन्छ?
मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त हुनु व्यक्तिगत जीवनको सबैभन्दा ठुलो उपलब्धि हो। यस्तो बिरलाकोटी अवसर निकै कम पौरखीलाई मात्र प्राप्त हुन्छ। त्यसमा पनि चार पटक प्रधानमन्त्री बन्ने अवसर पाउनु भनेको कामको अवसर हो। भलै उनको दोस्रो र तेस्रो कार्यकाल प्राविधिक कारणले एउटै हो भन्ने हो भने पनि अहिले सरकार सञ्चालनका निम्ति आएको अवसर अपूर्व हो। दुर्गम पहाडी जिल्ला तेह्रथुमको इवामा २००८ सालमा जन्मिएर १४ वर्षसम्म अनवरत जेल जीवन भोगेर आफूलाई राजनीतिक रूपमा खरो उतार्न सफल ओलीले चाहे भने परिवर्तन सम्भव छ। समकालीन राजनीतिका प्रभावशाली थोरै व्यक्तिमध्ये उनी पर्छन्। त्यति मात्र होइन, उनले चाहे भने मुलुकले अनुभूति गर्न सक्ने असल काम हुन सक्छन्। त्यसका लागि उनको सत्प्रयास आवश्यक छ।
कुनै पनि मुलुकले राजनेता आयात गर्न सक्दैन। भएकै नेताहरूले आम नागरिकमा भरोसा जन्माउने र इतिहासमा बाँचिरहने हो। त्यसकारण पनि ओलीका निम्ति यो इतिहास बनाउने अनुपम अवसर हो। मुलुकका शक्तिशाली ठुला दलमध्ये नेकपा (एमाले)ले आफूलाई सशक्त लोकतान्त्रिक दलका रूपमा उभ्याउँदै आएको छ। यसले प्रत्येक ठुला परिवर्तनका बेला अर्को ठुलो दल कांग्रेससँग मिलेर राजनीतिक परिवर्तनमा प्रभावकारी भूमिका खेल्दै आएको छ। यस्तो अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर मुलुकको विकास र संवैधानिक प्रक्रियालाई सही बाटोमा ल्याउन उनले भूमिका खेल्न सक्छन्। जनआन्दोलन २०६२/६३ यता १५ पटक सरकार परिवर्तन भएका छन्। यही पटक पटकको सरकार परिवर्तनका कारण ओलीले मात्रै चार पटक सरकारको नेतृत्व गर्ने अवसर पाएका हुन्। यसकारण पनि यो अनवरत परिवर्तनका ठाउँमा स्थिरता र विकास अपरिहार्य भएको हो। यसमा सुधार र आम अपेक्षामा आशा जगाउने काम नै अहिले हुनुपरेको हो। ओलीले आफ्ना विगत कामको समीक्षा गर्ने छन्। कतिपय अवस्थामा आफैंले लिएका निर्णयको यथार्थ मूल्यांकनकर्ता आफैं हुनुपर्ने अवस्था आउँछ। त्यसका निम्ति उनले आफूलाई अग्रसर गराउने छन्।
जस्तोसुकै परिस्थितिमा हाम्रो मुलुकको उदार लोकतान्त्रिक चरित्रलाई जोगाइराख्नुपर्छ। दक्षिण एसियाका अधिकांश मुलुकमध्ये नेपालले आफूलाई सबैखाले विचारको थलोका रूपमा विकास गरिरहेको छ। हामी आर्थिक रूपमा मात्र पछि परेको हो, लोकतान्त्रिक आचरणका हिसाबले हामी पछि परेका छैनौं। मुलुकको यो उदार राजनीतिक व्यवस्थालाई अझ फराकिलो पार्ने जिम्मेवारी राजनीतिक व्यक्तिहरूकै हो। अझ यो व्यवस्था ल्याउन तिनले विगतमा गरेको योगदानकै कारण सम्भव भएको हो। यस्तो अवस्थाबाट ओली भलिभाँती जानकार छन्। उनले विगतमा आफ्ना संघर्षका दिनमा यसलाई महसुस गरेका छन्। अहिले आएर कसैले गरेको आलोचनाप्रति आक्रामक हुनुभन्दा पनि किन यस्तो पक्ष आइरहेको छ भन्नेमा सजग हुनु उचित हुन्छ। ओलीले यसपटक यो अवसरलाई मुलुकको अग्रगमन, विकास र उदारवादी व्यवस्थाकै निम्ति केन्द्रित गर्ने आशा गर्न सकिन्छ। कार्यकाल सफलताका निम्ति शुभकामना !
प्रकाशित: १ श्रावण २०८१ ०६:०० मंगलबार