९ मंसिर २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

घातक प्रदूषण खतरनाक मौनता

वातावरण तथा मौसमका जानकारहरू भन्छन्, काठमाडौँमा सास फेर्नु सयौँ चुरोट पिउनु बराबर हो। काठमाडौँमा बस्नेहरूमाथि प्रदूषणले पारेको प्रभाव बुझ्न यो भनाइ आफैंमा पर्याप्त छ। यसकारण धूमपान नगर्नेहरूले गर्व गर्ने अवस्थासमेत रहेन। सहरमा बस्ने सर्वसाधारण आफूले नगरेको गल्तीको सजाय भोगिरहेका छन्। जसरी आज सम्पन्न मुलुकहरूले गरेको प्रदूषणका कारण अल्पविकसित र विकासशील मुलुकहरूले जलवायु संकट भोगिरहेका छन्, प्रदूषणबाट पनि उसैगरी त्यसमा हिस्सा नभएकै मानिसहरू परिरहेका छन्।

मन्दिरै मन्दिरको सहर भनेर चिनिन्थ्यो कुनैबेला काठमाडौँ उपत्यका । सगरमाथाको देश, बुद्ध भूमिको देश । सोझा र इमानदार बासिन्दाको देशका रूपमा पनि चिनिएकै हो। तर पछिल्ला समय यी परिचय बदलिइरहेका छन्। यिनको ठाउँ कहिले भ्रष्टाचारले त कहिले हिंसात्मक युद्धले लिँदै आयो। अनि कहिले राजनीतिक अस्थिरताले लियो त कहिले सुन, शरणार्थी जस्ता काण्डले। हुँदाहुँदा अहिले त विश्वकै प्रदूषित सहरका रूपमा समेत प्रचारित हुन थालेको छ काठमाडौँ। जुन सम्पूर्ण नेपालीका लागि पीडादायी अवस्था हो।

वायु प्रदूषण नापिने एक्युआइअनुसार काठमाडौँको अवस्था खराब देखिएको हो। हामी निकै खराब अवस्थाबाट गुज्रिरहेका छौँ। यसरी वायु प्रदूषणको खराब स्थितिको असर तिनैलाई झन् बढी पर्छ जसलाई यस्ता समस्याबाट बचाउन आवश्यक छ। मुटु, मिर्गौला, मस्तिष्क तथा दीर्घरोगीहरूलाई यस्तो अवस्थाले झन् बढी सताउँछ। यतिबेला काठमाडौँमा बहने हावा प्रदूषित मात्र नभई विषाक्तसमेत हुन थालेपछि यसले ठूलै समस्या निम्त्याउने खतरा सिर्जना हुँदैछ।

अस्पतालका बेडमा प्रदूषणका बिरामी बढी हुनु, विषाक्त हावाले रोगीहरूको जीवन थप कष्टकर बनाउनु, ज्येष्ठ नागरिक, गर्भवती र बालबालिकाको अवस्था दयनीय हुँदै जानु जस्ता कारणले चिन्ता बढाएको छ। तर सरकारीस्तरबाट यो अवस्थामा जति नियन्त्रण र सुधार गर्न सकिन्थ्यो, त्यो पक्षमा अत्यन्तै न्यून ध्यान पुग्नु अर्को चिन्ताको विषय हो। किनकि विषाक्त र प्रदूषित हावाले तत्कालै मान्छे नमारे पनि यो मन्द विषका रूपमा सबै मानिसको फोक्सोसम्म घुस्न भ्याइसकेको छ। मात्रा धेरै र थोरैको तथा प्रतिरोध क्षमताका आधारमा असर कति गरेको छ भन्ने मात्रै हो।

इँटाभट्टा, अहिले तीव्ररूपमा बढिरहेको डढेलो, थोत्रा बसहरूले फ्याँक्ने गन्धवाल धुवाँ यसरी हावालाई प्रदूषित बनाउने मुख्य कारण हुन्। तर यी घटनालाई एउटा सामान्य घटनाका रूपमा मात्र हेरिँदा अर्थात् यसको सहउत्पादनतर्फ ध्यान नदिँदा समस्या विस्तार भइरहेको छ। अव्यवस्थित सडक निर्माण तथा त्यसकै कारण व्यापकरूपमा धुलो उड्ने भइरहँदा पनि वायु प्रदूषण डरलाग्दोरूपमा बढिरहेको छ। वैशाखको समय हावा धेरै चल्ने भएकाले एक ठाउँको समस्या हावाले नै बोकेर अर्को ठाउँमा पुर्‍याइदिने गर्दा पनि यसले सर्वत्र फिँजिने अवसर पाएको छ। अझ काठमाडौँ त तीव्र जनघनत्वका कारण मुलुककै अन्यत्र भागभन्दा बढी प्रदूषण आफैँ उत्पादन गर्न सक्षम छँदैछ।

समस्या भयाबह भए पनि यसलाई न्यून गर्न भने विशाल कदम चाल्नु नपर्ने सुझाव पनि विज्ञहरूको छ। जसअन्तर्गत यतिबेला निर्माणका नाममा लथालिंग बनाइएको सडकबाट धुलो नउड्ने अवस्था सिर्जना गर्दा हावा निकै स्वच्छ हुन सक्छ। त्यसैगरी इँटा भट्टाहरूलाई यहाँबाट हटाउने र विषाक्त धुवाँ फाल्ने पुराना सवारी साधनलाई नियन्त्रण गर्न सक्दा पनि हामीले विषाक्त हावा खानुपर्ने बाध्यता न्यून हुन सक्छ। सडकमा यात्रु र साइकल चढ्नेहरू धेरै देखिने वातावरणले फोहोरी हावालाई थोरै भए पनि स्वच्छ तुल्याउन सघाउँछ भने विद्युतीय सवारीलाई प्रवद्र्धन गर्ने हो भने स्वच्छता बढ्न सक्छ। यस्ता विषयमा ध्यान दिइएन भने विषाक्त हावाका कारण हामी पल–पल मर्न बाध्य हुनुको विकल्प हुने छैन।

प्रकाशित: २० वैशाख २०८१ ०४:५८ बिहीबार

Download Nagarik App
Download Nagarik App