७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

अति बिदालाई बिदाइ गरौं

कर्मचारी, विद्यार्थी, उद्योगी, व्यापारी, सवारी चालकदेखि प्रयोगकर्तासम्म, सवारी साधनलगायत मानिस मात्र नभई यन्त्र/उपकरणलाई पनि निश्चित समयका लागि आराम चाहिन्छ। त्यसैले प्रायः सबै मुलुकदेखि निकायसम्मले सातामा कम्तीमा १ दिन बिदा दिने नियम बसालेका छन्। जहाँ सातामा दुई दिन बिदा दिने नियम छ, त्यहाँ पनि काम गर्ने घण्टा भने एक दिन बिदा दिने मुलुकसँग मिल्ने गरी निर्धारित गरिएको देखिन्छ। यसरी हेर्दा निश्चित अवधिको सक्रियतापछि आराम गर्नुपर्ने विषयमा विश्वव्यापी स्वीकारोक्ति देखिन्छ।

नेपालीमा एउटा भनाइ छ–चिनी पनि धेरै खायो भने गुलियो हुन्छ। तर यही भनाइ चरितार्थ गर्दै यहाँ बेला न कुबेला बिदा थोपर्ने गरिएको छ।कुनै पनि सानोतिनो जात्रा/पर्व होस् या कसैको निधन, तीनै तहको सरकारले गर्ने पहिलो निर्णय नै बिदा घोषणा हुने गरेको छ।बिहीबारका लागि पनि संघीय सरकारले बिदा घोषणा गरेको छ।यो बिदा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि भनिएको छ। हो, उनी राजकीय सम्मानसाथ अन्त्येष्टीका लागि योग्य व्यक्ति हुन् तर यस्तो कार्यका लागि बिदाकै घोषणा जरुरत पर्दैनथ्यो। यो विषयमा कसैले सोचेको देखिएन।

सुवास सहमति र सहकार्यका पर्याय हुन्।प्रतिकूलतालाई अनुकूलतामा ढाल्न सक्ने खुबीयुक्त व्यक्तित्व हुन्। सबैलाई समान व्यवहार गर्ने र मिलाएर लैजान सक्ने प्रतिभा उनीसँग थियो।अप्ठ्यारो परेका बेला समस्याको गाँठो फुकाउन सक्ने कला पनि थियो।उनीप्रति वास्तविक सम्मान गर्ने, सच्चा श्रद्धाञ्जली दिने र पथप्रदर्शक मान्ने हो भने उनका यी महान् विशेषता अनुशरण गर्नुपर्छ।यस्ता विशेषता अनुशरणका लागि बिदा चाहिँदैन।जहिले पनि जसले पनि सहजै अनुशरण गर्न सक्छ।सस्तो लोकप्रियताका लागि बिदा घोषणा गरिदिइहाल्ने तर जसको सम्मानका लागि बिदा दिइएको हो उसका विचार र सिद्धान्तलाई भने एक कानले सुनेर अर्को कानले उडाइदिने कार्यमा अभ्यस्त भयौँ।त्यसैले यस्ता बिदाले पनि हामीलाई गिज्याइरहेका छन् यतिखेर।

एक दिन बिदा हुँदा मुलुकलाई पर्ने भारको समेत हिसाबकिताब गर्नु बुद्धिमानी हुनेछ।र, औचित्य पुष्टि नहुनेखालका बिदालाई सदाका लागि बिदा गर्नुपर्छ।

उसै पनि नेपाल विश्वका अन्य मुलुकका तुलनामा धेरै बिदा दिइने मुलुकमा पर्छ।सरकारले साप्ताहिक बिदाबाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्तीका नाममा २०८० सालका लागि ३५ दिन बिदाको अग्रिम घोषणा गरेको छ। यसबाहेक प्रदेश र स्थानीय सरकारहरूले पनि छिसिक्क केही भयो कि सबै भन्दा पहिलो निर्णय नै ‘बिदा घोषणा’ बाट सुरु गर्ने गरेका छन्।यसरी हेर्दा हामी धेरै बिदा उपभोग गर्ने ‘भाग्यमानी’ मा गनिन पुगेका छौँ।

हाम्रो भौगोलिक जटिलताका कारण जिल्ला सदरमुकाम आइपुग्न र फर्कन निकै समय लाग्ने गर्छ।प्रायः सरकारी कार्यालय जिल्ला सदरमुकाममा हुने भएकाले नागरिकता, राहदानी, जग्गा धनी पुर्जा, मुद्दा÷मामिला आदिका लागि सदरमुकाममा रहने कार्यालयमा आउनैपर्ने बाध्यता हुन्छ।हाम्रो कर्मचारीतन्त्र यति झन्झटिलो छ कि कुनै पनि काम एकै दिनमा फत्ते हुन मुस्किल पर्छ। त्यसैले टाढाटाढादेखि महत्त्वपूर्ण कामका लागि आउने सेवाग्राहीहरू यस्ता आकस्मिक बिदाका कारण थप समस्यामा पर्ने गरेका छन्।जसको बारेमा कसैले सोचेको नपाइनु दुःखद पक्ष हो।

महान् व्यक्तिहरूलाई उनीहरूको योगदानका आधारमा गच्छेअनुसारको सम्मान अवश्य गर्नुपर्छ।तर बिदा सबै सम्मानका लागि अनिवार्य सर्त बनाइनुहुन्न। खासमा भन्ने हो भने सच्चा सम्मान प्रकट गर्न त बिदा झनै बाधक हुने गर्छ।यही कारण आफ्नो समस्या बढेको महसुस गर्नेहरूमा नकारात्मक धारणा पैदा हुन पुग्छ।त्यसैले यस्ता निर्णय गर्नुअघि एक दिन बिदा हुँदा मुलुकलाई पर्ने भारको समेत हिसाबकिताब गर्नु बुद्धिमानी हुनेछ।र, औचित्य पुष्टि नहुनेखालका बिदालाई सदाका लागि बिदा गर्नुपर्छ।

प्रकाशित: २८ भाद्र २०८० ००:१४ बिहीबार

Download Nagarik App
Download Nagarik App