७ आश्विन २०८१ सोमबार
image/svg+xml
सम्पादकीय

जलहरीमा जनआक्रोश

भनिन्छ– कुनै पनि लोभी, पापी, असन्तुष्ट, भ्रष्टाचारी, अपराधी आर्यघाट गएर एकछिन मात्र बस्यो भने पनि ऊ आफ्ना क्रियाकलापप्रति पश्चाताप व्यक्त गर्छ। किनकि त्यहाँ जलिइरहेका शवले मानिसलाई जीवनको अनित्यता अवगत गराउँछ र आफ्नै विगतप्रति सोच्न बाध्य तुल्याउँछ। लाम लागेर जलिरहेका शवले धेरैको मार्गसमेत परिवर्तन गरिदिएका छन्। त्यही पवित्र स्थल नजिकै विराजमान पशुपतिनाथको मन्दिरमा लगाइएको जलहरीमा समेत भ्रष्टाचार भएको समाचारले यतिबेला हिन्दु धर्मावलम्बी मात्र हैन, सम्पूर्ण नेपाली आक्रोशित छन्। यही कारण यतिबेला सबैको मुखबाट अनायासै निस्कने वाक्य बनेको छ– देवताका लागि छुट्याइएको रकममा त आँखा लगाउनेले अरू कसलाई पो बाँकी राख्लान् र?

पशुपतिनाथमा नेकपा (एमाले)ले सरकारको नेतृत्व गरेका बेला जलहरी लगाइएको थियो। यस्तो जलहरी राखिँदा सुनको भनेर पित्तलको राखिएको आरोप सांसदले संसद्मा लगाएपछि सदनको कारवाही अवरोधसमेत भएको थियो। त्यसपछि एमालेले विनाआधार आरोप लगाइएको भन्दै नाराबाजीसमेत गरेको थियो। यतिबेला आएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जलहरीमा प्रयोग भएको सुन जोख्नका लागि उठाएर लगेको छ। अनि केही सांसदले यसबारे छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागसमेत गरेका छन्।

पशुपतिमा राखिएको जलहरी केही सांसदले दाबी गरे जस्तो पित्तलको हो वा तौल नपुगेको हो र यही कारण अनियमितता भएको हो भन्नेबारे अख्तियार, संसदीय समितिलगायत सम्बन्धित वैधानिक निकायहरूले छानबिन गर्लान् नै। त्यसपछि सत्यतथ्य बाहिर आउला पनि। तर प्रत्येक ठाउँ र गतिविधिमा भ्रष्टाचारको संकेत देखिनु र शंका उत्पन्न हुनुले कतै हामी विश्वमै भ्रष्टाचारमा अग्रणी मुलुक अफगानिस्तानको अनुयायी हुँदै त छैनौँ भन्ने प्रश्न उब्जिएको छ। नूनदेखि सुनसम्म फैलिएको भ्रष्टाचारको जालोले कतै नेपाललाई ‘असफल राष्ट्र’ को आहालमा डुबाउँदै त छैन भन्ने चिन्ता पनि उत्तिकै बढाएको छ।

यस विषयमा महालेखा परीक्षकको ५९औँ प्रतिवेदनले समेत सुनको विवरण नमिलेको उल्लेख गर्नुले शंकाको आधार भने मिलेको छ। ‘पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन रु. ८० करोड ११ हजारमा खरिद गरेको छ’ भन्दै महालेखापरीक्षकको प्रतिवेदनले विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको उल्लेख छ भनेको छ। निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको भन्दै प्रतिवेदनले रिङ बनाउन प्रयोग भएको सुनको विवरण भने पेस नभएको उल्लेख गरेको छ। यही कारण पनि शंका गर्नेलाई सुविधा प्राप्त भएको हो।

हो, पशुपतिको जलहरी प्रकरणमा भ्रष्टाचार नभएको पनि हुन सक्छ तर नेपाली जनमानस यो पत्याउन तयार छैन। अब जुनसुकै निकायले यसमा भ्रष्टाचार नभएको ‘सफाइ’ दिए पनि नेपाली पत्याउने अवस्थामा छैनन्। यो भनेको नेपाली समाज कति गिरिसक्यो र राज्य सञ्चालन गर्ने निकायहरू जननजरमा कतिसम्म असफल सिद्ध भइसकेका छन् भन्ने ज्वलन्त प्रमाण हो। त्यसैले भ्रष्टाचार हुनु र नहुनुभन्दा पनि उच्चपदस्थ कर्मचारी र दलीय नेताहरूले निर्माण गरेका दूषित अवस्था र कुनै पनि कुरामा विश्वास गर्न नसक्ने आमधारणा नेपालका लागि आगामी मार्गमा दर्बिला अवरोधका रूपमा तेर्सिने छन्।

विशेषगरी जग्गासँग जोडिएका कार्यालय, भन्सार, अध्यागमन, वैदेशिक रोजगारीका लागि सहजीकरण गर्न खुलेका अड्डा आदि भ्रष्टाचारका कारण बदनाम छन्। पैसा (घूस) नदिइकन कुनै पनि काम बन्ने सम्भावना रहँदैन। तर कर्मचारीतन्त्र यस्तो बलियो छ कि उनीहरूलाई कारबाही गर्ने हिम्मत कसैको छैन। विशिष्ट श्रेणीका कर्मचारीबीच नै नाता र पैसाका आफन्तलाई ‘राम्रो अड्डा’ मा पठाउने होडबाजी चल्छ। यसको अर्थ नेपालको कर्मचारीतन्त्रको उपरी संरचना मुलुकका राष्ट्रसेवक भनिने कर्मचारीले गर्ने अनियमितताबारे बेखबर छैनन्। तर कतिपय उक्त अनियमितताको ‘भागशान्ति जयनेपाल’ मा आफैँ सामेल छन् भने एकाधचाहिँ चाहेर पनि यसलाई छिमोल्न सक्ने हैसियतमा छैनन्।

यस्तो अवस्थालाई मलजल गर्न राजनीतिक नेतृत्व झन उद्यत छ। राजनीतिक नेतृत्वको ढाडसकै कारण कर्मचारीलाई भ्रष्ट क्रियाकलापमा लाग्न प्रोत्साहन मिलेको नक्कली भुटानी शरणार्थी काण्डले नै उजागर गरेको छ। पशुपतिको जलहरी काण्डमा पनि अनियमितता भएको पुष्टि भएमा राजनीतिक दलका नेताको संलग्नता अवश्य प्रष्टिनेमा शंका छैन। त्यसैले स्थायी र अस्थायी सरकार मिलेर मुलुकमा मच्चाइएको यो लुटको जति भत्र्सना गरे पनि कम हुन्छ। अझ राज्य ढुकुटी खर्चेर पशुपतिनाथलाई अर्पण गरेको जलहरिमा नाम राख्ने दर्जनभन्दा बढी पदाधिकारीको इच्छाले पनि देशबासीलाई आश्चर्यमा पारेको छ।

नेपालमा भ्रष्टाचार/अनियमितता गरेमा कारबाही गर्ने कानुनी आधार प्रशस्तै छन्। त्यसैले यो काण्डमा पनि भ्रष्टाचार प्रमाणित भएमा कानुनी सजाय हुने त छँदैछ। तर यो भन्दा महत्वपूर्ण विषयचाहिँ आमजनमानसको दिल–दिलसम्म गडेको नेपालको सबै ठाउँमा भ्रष्टाचार हुन्छ भन्ने धारणा अन्त्य गर्नु आजको मुख्य आवश्यकता हो। यसका लागि सबै भन्दा पहिले राजनीतिक दलका उच्चपदस्थ नेतृत्वमा बलियो इच्छाशक्ति हुनुपर्छ। त्यसो भयो भने उनीहरूलाई समेत गुमराहमा राखेर चलखेल गर्ने कर्मचारीतन्त्रको मनोबल स्वतः गिर्नेछ। यस्तो अवस्थामा मात्र विशुद्ध धार्मिक कार्यमा मात्र प्रयोग हुने सहस्रधारा, मत्स्यग्रहजालम, जलारी जस्ता पर्याययुक्त जलहरीमा समेत गिद्धेदृष्टि लगाउने अवस्था अन्त्य हुनेछ। 

प्रकाशित: १३ असार २०८० ००:२९ बुधबार

जलहरीमा जनआक्रोश महालेखा परीक्षकको ५९औँ प्रतिवेदन