१० मंसिर २०८१ सोमबार
image/svg+xml
सम्पादकीय

पाठ्यपुस्तकबाट हराएका डा. सन्दुक

डा. सन्दुक रुइत भन्ने बित्तिकै मनमा नेत्र ज्योति ल्याइदिने एक अथक राष्ट्रिय धरोहरको चित्र पैदा हुन्छ। आँखाको गुमेको ज्योति फिर्ता गरिदिने यी महामानवलाई पहिलो पटक देख्दा उपचार पाउनेले भगवानकै दर्शन गरेको अनुभूति गर्छन्। मानव सेवाबाट डा. रुइतले आफूलाई आममानिस भन्दा माथि उचालेका छन्। त्यसै कारण उनको नाम श्रद्धापूर्वक लिइन्छ। अनि उनी जस्ता व्यक्तित्वबारे स्कुलको पाठ्यक्रममा पढाइ हुनु आफैँमा सन्तोष हुने विषय हो।

डा. सन्दुक जस्ता उदात्त मानवीय भावनाका चिकित्सकका बारेमा पढ्ने विद्यार्थी मात्र होइन, तिनका अभिभावकका आँखामा पनि एउटा सपनाले घरजम गर्छ। आफ्ना नानीले पढिरहेका ती मानिस जस्तै सबै सन्तान दुनियाँका आँखाका नानी बन्न सकून् भन्ने भावनाले तिनलाई छपक्क छोप्छ। स्कुल शिक्षाको कक्षा १० को पाठ्यक्रममा हठात् डा. रुइतको जीवनी हटाइएको खबर आफैँमा कसिँगर परेजस्तो लाग्ने जस्तो अनुभव भएको छ। उनको बारेमा राखिएको पाठ अचानक हटाउनुको कुनै अर्थवोध गरिएको छैन। र, उनलाई विज्ञानमा मात्र सीमित गरी पढाइनु पनि हुन्न। उनी मानवताका उचाइ हुन्। थोरै मानिसले मात्र जीवनमा यो उचाइ हासिल गर्छन्। र, जसले उनको जीवनी पाठ्यपुस्तकबाट हटाएका छन्, ती हुन् लिलिपुट मानव। पाठ्यपुस्तकबाट उनको जीवनी हटाएपछि आफ्नो उचाइ बढ्छ भन्ने तिनलाई लागेको छ भने त्यो दुःस्वप्न मात्र हो।

बाल्यकालमा पढेका विषय जीवनभर सम्झनामा रहन्छन्। यस्ता विषयले प्रेरणा दिइरहन्छ। हामीले विगतमा पेन्सिलिनका आविष्कारक अलेक्जान्डर फ्लेमिङदेखि नर्सिङ सेवालाई आधुनिकीकरण गर्ने उदात्त सेवा भावकी फ्लोरेन्स नाइटिंगेलसम्मलाई पढेका छौँ। आज हाम्रा अगाडि जिउँदाजाग्दा डा. रुइत छन् जसले संसारभरि आफ्नो सेवाबाट नेपाललाई चिनाइरहेका छन्। तिलगंगा आँखा अस्पताल जस्तो लोकप्रिय संस्था निर्माण गरेका छन्। आज यो संस्था आफैँमा विश्वविद्यालय बन्ने तरखरमा छ। यसमार्फत् नेपालले शिक्षा र सिप दिने तयारी भइरहेको छ। उत्तर कोरियादेखि अफ्रिकी मुलुक घानासम्म पुगेर उनले आफ्नो अनुपम सेवा दिइरहेका छन्। आजका विद्यार्थीलाई डा. सन्दुक रुइत पढाउनुको अर्थ कोही न कोही उनी जस्तै व्यक्ति निर्माण गर्नु पनि हो।

सरल र कम लागतमा मोतिविन्दुको शल्यक्रिया गर्ने नेपाली पद्धति रुइतेक्टोमीका सुरुवातकर्ता डा. रुइतलाई पाठ्यक्रमबाट हटाउने जुन बुद्धि हो, त्यसलाई जति धिक्कारे पनि पुग्दैन। एकातिर, हिंसात्मक सशस्त्र गतिविधि ‘जनयुद्ध’पाठ्यक्रममा राख्न खोज्ने र अर्कोतिर शान्तिको सन्देश बोकेका डा. रुइत जस्ता सर्जक पाठ्यपुस्तकबाट हटाइने शैक्षिक पद्धति आफैँमा खोटपूर्ण छ। हाम्रो मुलुकमा यस्ता सेवाभावले युक्त व्यक्तिलाई समावेश गर्न हिच्किचाउने प्रवृत्ति आफैँमा घातक छ। सबैका राजनीतिक सिद्धान्त होलान् तर डा. रुइतलाई पाठ्यपुस्तकबाट हटाउने त्यो सिद्धान्त पत्रु हो।

शिक्षा भनेको प्रेरक व्यक्तिको जीवनीबाट लिन सकिन्छ। त्यसका निम्ति हाम्रै मुलुकमा पर्याप्त व्यक्ति छन्। त्यस मामिलामा पछिल्ला वर्षमा हाम्रो शिक्षाको गुणस्तर घट्दै गएको छ। विभिन्न स्वार्थ समूहमा रहेका व्यक्तिले आफू अनुकूलका विषय पाठ्यपुस्तकमा राख्दा यसको गुणस्तर घटेको हो। अन्यथा, देशको भविष्य सम्झेर वाद वा सिद्धान्त भन्दा माथि उठ्दै पाठ्यक्रम तयार पार्न नसकिने होइन। पाठ्यक्रम विकास केन्द्रले १० कक्षाको नेपाली पाठ्यक्रमबाट डा. रुइतको जीवनी किन हटाउनुपरेको हो? यसमा कसको स्वार्थ छ? यस्तो प्रवृत्तिले भविष्य बनाउन चाहने विद्यार्थी, स्कुलका शिक्षक र अभिभावक सबैलाई निराश पारेको छ।

एकातिर, हिंसात्मक सशस्त्र गतिविधि ‘जनयुद्ध’पाठ्यक्रममा राख्न खोज्ने र अर्कोतिर शान्तिको सन्देश बोकेका डा. रुइत जस्ता सर्जक पाठ्यपुस्तकबाट हटाइने शैक्षिक पद्धति आफैँमा खोटपूर्ण छ। 

डा. रुइतले हालै बहराइनबाट १० लाख अमेरिकी डलर (करिब १३ करोड रूपैयाँ) को इशा अवार्ड पाएका हुन्। यो तहको पुरस्कार कमै नेपालीले पाएका छन्। यो पुरस्कार पाउन कोभिड–१९ का बेला काम गरेको विश्व स्वास्थ्य संगठनसमेत प्रतिस्पर्धामा नभएको होइन। तर डा. रुइतले यसलाई पाउने अवस्था आउनु उनको निरन्तरको सक्रियता हो। उनी यस्तो व्यक्ति हुन्, जसको एक झलक पाउन विश्वका राष्ट्राध्यक्ष र सरकार प्रमुखसमेत लालायित हुन्छन्। उनको कामको चर्चा यी सबैमा पुगेको छ। सगरमाथाको देशमा आज डा. सन्दुक रुइत जस्ता चिकित्सक पनि बस्छन् भन्दा आफैँमा गर्वले शीर ठाडो हुन्छ। यस्ता व्यक्तिलाई पाठ्यपुस्तकबाट निकालेको सुन्दा जोसुकैका मनमा आक्रोश हुनु स्वाभाविक हो। कम्तीमा पाठ्यक्रम तयार पार्दा धेरै राजनीति नगर्नुपर्ने हो।

आज नेपाली देश छाडेर भाग्न तयार छन्। भ्रष्टाचारको जालो व्याप्त छ। प्रत्येक युवा स्कुलको पढाइ सकेपछि खाडी जाने सोच्छ। अलिअलि आर्थिक स्रोत भएका व्यक्ति सबै बुझाएर अमेरिका, अस्ट्रेलिया वा क्यानडा भासिन चाहन्छ। यस्तो बेलामा डा. रुइत जस्ताको जीवनीमा आधारित पाठले यही देशमा बसेर केही गर्ने आशा दिन्छ। यसले बाटो पनि दिन्छ। देशको दुर्गम जिल्ला ताप्लेजुङको सामान्य परिवारमा जन्मेर अहिलेको उचाइ हासिल गरेका डा. रुइत नेपालीका सपनाका तारा हुन्। उनलाई हेरेर धेरैले प्रेरणा लिएका छन्। उनको कामले धेरैको बाटो मानवताका निम्ति मोडिएको छ। कुनाकन्दरामा बस्ने प्रत्येक नेपाली बालकले आफूमा डा. रुइत सपना सजाउन सक्छन्। आफ्नै हातले एक लाख भन्दा बढी मानिसको आँखाको ज्योति फर्काउने यस्ता व्यक्तिको जीवनी पाठ्यपुस्तकबाट हटाउने काम कसले गरेको हो? छानबिन हुनुपर्छ। त्यति मात्र होइन, यस्ता व्यक्तिमाथि कारबाही पनि हुनुपर्छ। सरकारले यो निर्णयमा आँखा खोलोस्। विद्यार्थीले डा. सन्दुकको पाठ फेरि पढ्न पाउनुपर्छ।  

प्रकाशित: ९ जेष्ठ २०८० ००:३२ मंगलबार

Download Nagarik App
Download Nagarik App