पछिल्ला दिनमा देशभर वायु प्रदूषणको कहर असाधारण रूपमा बढेको छ। शनिबार सांझ र आइतबार बिहान काडमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा पुग्नु आफैँमा चिन्ताजनक पक्ष हो। वायु गुणस्तर सूचकांक (एक्युआइ) मा २०९ अंकसहित शनिबार सांझ काठमाडौँ विश्वकै विषाक्त हावा भएको सहर बनेको छ। शनिबार साँझको प्रदूषणले काठमाडौँलाई विश्वकै सबै भन्दा प्रदूषित मानिने भारतीय राजधानी नयाँ दिल्लीलाई समेत उछिन्ने स्थितिमा पुर्याएको छ। आइतबार बिहान पनि प्रदूषित सहरको सूचीमा काठमाडौँ पहिलो नम्बरमा थियो। विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने आइक्युएयर नामक संस्थाको तथ्यांकले यस्तो देखाएको हो।
एकाध दिन मात्र होइन, वर्षभर हुने सरदर प्रदूषणका हिसाबले पनि राजधानी काठमाडौँ विश्वका प्रदूषित सहरको सूचीमा अग्रपंक्तिमा छ। राजधानी मात्र होइन, समग्र नेपाल वायु प्रदूषणका हिसाबले विश्वमा अग्रसूचीमा रहेको छ। आइक्युएयरका अनुसार सन् २०२२ मा विश्वका १३१ देशमध्ये प्रदूषणका हिसाबले नेपाल १६औँ स्थानमा रहेको थियो।
पछिल्ला केही दिनमा पर्यटकीय सहर पोखरा पनि वायु प्रदूषणका कारण लागेको बाक्लो तुवालोका कारण ठप्प भएको छ। बिहीबारदेखि शनिबारसम्म हवाई यातायात पूर्णरूपमा बन्द हुनुको कारण यही हो। प्रदूषणका कारण नयाँ वर्ष मनाउन पोखरामा गरिएका होटल बुकिङ रद्द भएका छन्। यसले तंग्रन लागेको पर्यटन उद्योगलाई नराम्ररी प्रभावित गरेको छ। त्यसो त, राजधानी र पोखरामा मात्र होइन, मध्य तथा पूर्वी नेपालका तराई क्षेत्रमा पनि पछिल्ला दिनमा प्रदूषण ह्वात्तै बढेको छ।
प्रष्ट छ, प्रदूषणले जनस्वास्थ्य र अर्थतन्त्रलाई प्रत्यक्ष रूपमा प्रभावित गरेको छ। स्टेट अफ ग्लोबल एयर २०२० नामक प्रतिवेदनका अनुसार घरभित्र र बाहिर हुने वायु प्रदूषणका कारणमा सन् २०१९ मा नेपालमा ४२ हजारको मृत्यु भएको थियो। वायु प्रदूषणजन्य कुल मृत्युमध्ये १९ प्रतिशत ५ वर्षमुनिका बालबालिका हुने गरेको र २७ प्रतिशत ७० वर्ष उमेरमाथिका उमेर समूहका रहेको देखिएको छ।
सरकारी तर्कअनुसार तराईका बारा, पर्सा, चितवन लगायतका जिल्लामा दर्जनौँ स्थानमा लागेको डँढेलो र कृषि अवशेष बाल्ने जस्ता प्रदूषणका स्थानीय स्रोतका कारणले देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढेको छ। यसैगरी घरबाहिर फोहोर जलाउने तथा यातायात साधनले गर्ने उत्सर्जन वायु प्रदूषणका लागि प्रमुख कारण मानिन्छ।
अव्यवस्थित सहरीकरण, सवारीसाधन र इँटा भट्टाले उत्सर्जन लगायतका कारण लाखौँ मानिसको बसोबास रहेको राजधानी काठमाडौँ त झन प्रदूषणको केन्द्र बनेको छ। काठमाडौँमा वायु प्रदूषणका कारण पछिल्ला वर्षहरूमा श्वासप्रश्वाससम्बन्धी रोग, फोक्सोको क्यान्सरका साथै मुटु रोग, उच्च रक्तचाप, मस्तिष्कघातका बिरामीको संख्या बढेको छ।
प्रदूषणका लागि विभिन्न कारक रहे पनि हामीले नियन्त्रण गर्न र सम्बोधन गर्न सक्ने पक्षलाई वास्ता गरेका छैनौँ। यसले अर्थतन्त्र र जनस्वास्थ्यमा ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउँछ। देशका सीमा बाहिरबाट आउने विषाक्त हावालाई रोक्न कठिन होला तर स्थानीय कारण रोक्न भएका लापरबाही र हेलचेक्र्याइँका कारण वायु प्रदूषण नेपालको सर्वकालीन समस्या बनेको हो।
पछिल्ला दिनमा प्रदूषण आकासिएपछि वायु प्रदूषण नियन्त्रणमा फोकल निकायका रूपमा रहेको वातावरण विभागले विज्ञप्ति जारी गर्दै सर्वसाधारणलाई विशेष सावधानी अपनाउन भनेको छ। वायु प्रदूषणका कारण विशेषगरी बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वास र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले सकेसम्म उनीहरूलाई घरबाहिर ननिस्कन र अन्यलाई घरबाहिर निस्कँदा विशेष सावधानी अपनाउन विभागले अपिल गरेको छ। विभागले जंगलमा लागेको डँढेलो नियन्त्रणका लागि सरोकारवाला निकायसँग हातेमालो गर्न आमसमुदायलाई औपचारिक अपिलसमेत गरेको छ। विभाग मात्र होइन, डँढेलो नियन्त्रणमा वन विभाग र प्रदेश मन्त्रालय मातहतका डिभिजन वन कार्यालयको भूमिका र सक्रियता उत्तिकै महत्वपूर्ण छ।
कृषि अवशेषहरू जथाभावी जलाउन रोक्ने स्थानीय तथा प्रदेश सरकारको भूमिका अहं रहन्छ। अध्ययनहरूले नेपालमा बर्सेनि २९ लाख मेट्रिक टन कृषि उपज जलाइने देखाएका छन्। यसैगरी सन् २०२१ को जनवरीदेखि अप्रिलसम्म जंगलमा आगलागीका ४२ हजार घटना भएको एक अध्ययनले देखाएको थियो। यस वर्षको हिँउदमा पर्याप्त पानी नपर्दा सुक्खा भएकाले वनमा डँढेलो बढेको मानिएको छ। जंगलमा आगलागी के कारणले बढ्दै गएको छ र यसका लागि को जिम्मेवार छ भन्ने पक्षलाई गंभीरतापूर्वक समीक्षा आवश्यक छ। समुदायसँगको सहकार्य यसका लागि पूर्वसर्त हो।
नागरिक समाजसँगको हातेमालो गर्दै आमजनसाधारणमा जनचेतना अभिवृद्धि गर्न एकातिर आवश्यक छ भने अर्कातिर अटेरीलाई कारबाहीको दायरामा ल्याउन उत्तिकै जरुरी छ। डँढेलो लागिसकेपछि काठदाउरा चोरी निकासी गर्न सजिलो हुने र कतिपय स्थानमा वन क्षेत्र अतिक्रमण गर्ने मनसायले पनि आगो लगाउने गरेको पाइन्छ। नियन्त्रित हिसाबले जंगलमा लगाएको आगो अनियन्त्रित हुँदा त्यसले डँढेलोको रूप लिने गरेको छ। सामान्य हेलचेक्र्याइँले पनि जंगलमा ठूला आगलागीका घटना भएका छन्।
यस सन्दर्भमा सबै भन्दा महत्वपूर्ण पक्ष भनेको वायु प्रदूषण बहुनिकाय र विषयसँग जोडिएको छ । यसका लागि संघका विभिन्न मन्त्रालय, विभाग, प्रदेश सरकार, स्थानीय सरकार तथा अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक छ।
त्यसैले वायु प्रदूषण नियन्त्रणमा कानुन तथा नियम बनाएर मात्र पर्याप्त हुँदैन, जतिबेलासम्म तिनको प्रभावकारी कार्यान्वयन हुन सक्दैन। यो बृहत् चुनौती सामना गर्न सानो संरचना र कार्यादेश भएको निकायले मात्र सम्भव नहुने देखिएको छ। स्वयं सरकारी अधिकारीहरूले समेत यो विषयलाई सम्बोधन गर्न बृहत् सांगठनिक स्वरूपसहितको शक्तिशाली निकाय स्थापना आवश्यक रहेको बताएका छन्। स्वच्छ हावा नागरिकको नैसर्गिक अधिकार भएकाले यो चुनौतीलाई सम्बोधन गर्न गंभीर बन्नै पर्छ।
प्रकाशित: ३ वैशाख २०८० २३:४८ आइतबार