४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

शिक्षामा नयाँ सोच

नयाँ वर्ष २०८० सँगै नयाँ शैक्षिक सत्र सुरु हुन्छ। अहिलेदेखि नै नयाँ वर्षको शैक्षिक स्थितिका बारेमा चर्चा सुरु भइसकेको छ। फेरि पनि स्कुलमा किताबको अभाव हुनेछ। कुनै काम पनि समयमा नहुने कस्तो रोग लागेको हो यो देशमा? किसानले खेती गर्ने बेलामा मल पाउँदैनन्। विद्यार्थीले पढ्ने बेलामा किताब पाउँदैनन्। वर्षौको उही रोइलो छ। पढाइको कुरा हुनेबित्तिकै यस क्षेत्रका विकृतिबारे पनि छलफल सुरु भइहाल्छ।

स्कुल शिक्षा यतिबेला स्थानीय सरकार मातहत आइसकेको छ। त्यसैले यसको गुणस्तर र सुव्यवस्थाका निम्ति पालिका सरकारले भूमिका खेल्न सक्छन्। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले किताब र पोशाक बेच्न नपाउने भन्दै चैत १७ गते परिपत्र जारी गरिसकेका छन्। उनको यो परिपत्रले कति काम गर्ने हो हेर्न बाँकी नै छ। यसैगरी देशैभरि पालिका सरकारले आफ्नो क्षेत्रका स्कुललाई व्यवस्थित बनाउनुपर्ने अवस्था छ।

किताबमा देखिएको एउटा दुःखलाई सजिलै निराकरण गर्न सकिन्छ। प्रत्येक वर्ष किताब परिवर्तन गर्ने परिपाटी देखिन्छ। स्कुल कलेजका किताब केही वर्षका निम्ति तिनै काम लाग्ने हुन सक्छन्। बर्सेनि तिनलाई परिवर्तन गरिरहनुपर्ने आवश्यकता किन परेको हो? केही वर्ष यी किताब काम लाग्ने भए त्यसैलाई जोगाएर नयाँ विद्यार्थीले पढ्न पाउँछन्। प्रत्येक वर्ष किताब छापेर ठाउँमा पुर्‍याउन सकिएन भन्ने गुनासो पनि कम हुन्छ।

आजको दिनमा किताब मात्र ज्ञानको स्रोत हुन सक्दैन। कुनै पनि विषयमा आज इन्टरनेट सूचना र ज्ञानले पूर्ण छ। यस्ता विद्यार्थीलाई विषयअनुसार खोज गर्ने र कक्षाकोठामा छलफल गर्ने बानी लगाउन सकिन्छ। यसले किताबमा सीमित ज्ञानभन्दा भिन्न थप जानकारी पाउनबाट विद्यार्थी अग्रसर हुन्छन्। स्कुललाई सिकाइको केन्द्र बनाउन सकिन्छ। विद्यार्थीलाई स्कुल जाऔँ-जाऔँ जस्तो बनाउन अनेकन क्रियाकलाप गराउन सकिन्छ। कैयन् स्कुलले यो विधि अपनाएका पनि छन्।

अहिले आएर सार्वजनिक स्कुलले पनि गुणस्तरमा सुधार गरेको देखिन थालेको छ। ती सुध्रिएका स्कुलमा छात्रछात्राको लाम लाग्न थालिसकेको छ। विराटनगर–३ स्थित पोखरिया माध्यमिक विद्यालयमा भर्ना पाउन विद्यार्थीले प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। सार्वजनिक स्कुलमा विद्याथीको आकर्षण कम हुँदै गएका बेला केहीले आफ्नो पढाइमा सुधार गरी उम्दा बन्ने अभियान पनि सुरु भएको छ। यस्तो अभ्यास देशभर भइरहेको छ। सँगै बिग्रिएका स्कुलको विवरणपनि ठूलो छ।

सार्वजनिक स्कुल सुधार गरी तिनलाई भरपर्दो बनाउने हो भने विद्यार्थीको शिक्षाको स्तर मात्र राम्रो हुँदैन, त्यसले राज्यको लगानीको समेत सदुपयोग हुन्छ। शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरकारको समन्वयात्मक भूमिका हुने हो भने परिवर्तन सम्भव छ। कुनै बेला देशका सार्वजनिक स्कुल अग्रणी रहेका हुन्। कालान्तरमा सार्वजनिक शिक्षा कमजोर पारेर निजी क्षेत्र पोस्ने नीति बनाएको पनि देखिएकै हो। सार्वजनिक शिक्षा निःशुल्क भए पनि अभिभावकले गुणस्तरका निम्ति निजीमा आफ्ना सन्तानलाई पठाउनैपर्ने बाध्यता आइलागेको हो।

देशको भविष्य सुधार गर्ने हो भने शिक्षा सुधार गर्नै पर्छ। विश्वका जुन–जुन मुलुकले सार्वजनिक शिक्षामा ध्यान दिएका छन्, तिनको प्रगति भएको छ। हामीकहाँ भने शिक्षा पनि दाताका अनेकन अजेन्डाको शिकार भएको छ। देशको आवश्यकता र यहाँको परम्पराअनुसार शिक्षादीक्षा दिने भन्दा पनि दाताको चाहनाअनुसार यहाँको नीति चलेको देखिएको छ। आमनागरिकको शिक्षा प्राप्तिको चाहना कतैबाट पनि कुण्ठित नहुने परिपाटी हुनुपर्छ।

देशभित्र मात्र होइन, देशबाहिर गएर पनि राम्रो शिक्षा लिएर आउन सक्ने वातावरण बनाउनुपर्छ। शिक्षाका निम्ति जाँदा यति र उति डलर खर्च भयो भनेर चिन्ता गर्नु भन्दा पनि त्यसबाट सिकेका विद्यार्थी देशमा कति आए भन्ने चिन्ता आवश्यक छ। विदेश अध्ययनमा जान चाहनेलाई ‘नो अब्जेक्सन लेटर’ वा यस्तै अन्य बहानामा रोक्नु आवश्यक छैन। छिमेकी चीनले बर्सेनि पश्चिमा विश्वविद्यालयमा आफ्ना विद्यार्थी पठाएर शिक्षाको प्रबन्ध गर्छ। त्यसैले गर्दा उसलाई अहिलेको आवश्यकताअनुसारको जनशक्ति प्राप्त भइरहन्छ।

हाम्रो मुलुकमा नीतिगत अस्थिरता सबैभन्दा ठूलो समस्याका रूपमा रहेको छ। कुनै एउटा मन्त्री आउँदा एउटा नीति र अर्को आउनासाथ त्यसलाई फेर्ने आवश्यकता हुँदैन। देशले सकेसम्म दीर्घकालीन नीति बनाएर कार्यान्वयनमा जानु उचित हुन्छ। शिक्षा क्षेत्रमा आज विश्वले अग्रणी भूमिका खेलिरहेको छ। कैयन् मुलुकले आफ्ना बालबालिकालाई प्रतिस्पर्धी बनाउन ठूलो लगानी गरेका छन्। हाम्रो शिक्षालाई कसरी बढीभन्दा बढी नागरिकलाई लाभदायी बनाउने भन्ने सोचको सर्वथा अभाव छ।

अहिलेसम्म शिक्षा क्षेत्रमा सुधार हुन नसकेका पक्षमा ध्यान दिँदै नयाँ वर्षदेखि यसमा बढ्ता ध्यान दिनुपर्छ। कुनै पनि मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्र सुधार भयो भने आमनागरिकमा सरकारप्रति बढ्ता आशा जाग्छ। आज आमनागरिकमा रहेको वितृष्णा घटाउन पनि शिक्षा क्षेत्रमा सुधार आवश्यक भएको हो। पढाइ सक्न पाएको छैन, त्यसबाट प्राप्त ज्ञान र सिपको सदुपयोग गर्न नसकी खाडीमा जान तयार हुने जाशक्ति उत्पादन गरेर मात्र पुग्दैन। देशका समस्या समाधान गर्ने जनशक्ति उत्पादन गर्न सक्दा मात्र यसले अपेक्षित परिणाम दिन सक्छ। नयाँ वर्षले यस दिशामा सोच्न प्रेरित गरोस्।

प्रकाशित: २६ चैत्र २०७९ २३:३३ आइतबार

Download Nagarik App
Download Nagarik App