१० मंसिर २०८१ सोमबार
image/svg+xml
सम्पादकीय

अन्तर्राष्ट्रिय विमानस्थलबाट आशा

मुलुकमा ठूला पूर्वाधार आयोजना सम्पन्न हुनु भनेको खुसी थपिनु हो। यस्ता ठूला आयोजनाले आमनागरिकमा आशा सञ्चारित गर्छ। संयोग हो-१ जनवरी २०२३ को पहिलो दिन आइतबार मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालबाट सम्पन्न भएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १ वैशाख २०७३ मा निर्माणको शिलान्यास गरेका हुन्। नेपाली नयाँ वर्षका दिन निर्माण शिलान्यास हुनु र अंग्रेजी नयाँ वर्षका दिन सञ्चालनमा आउनु आफैंमा सुखद संयोग हुन्।

पोखरा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा लोकप्रिय गन्तव्यका रूपमा परिचित छ। राजधानी काठमाडौँबाट नजिक र लोकप्रिय पर्यटन गन्तव्यका कारण पोखरा विदेशी पर्यटकको छनोटमा पर्ने गरेको छ। पोखरालाई तालतलैया, हिमाली दृश्य, सुरम्य प्राकृतिक वातावरण, हंसमुख मानिसले धनी बनाएको छ। त्यसैकारण यहाँ अन्तर्राष्ट्रिय विमानस्थल हुँदा त्यसले पर्यटकीय गतिविधिमा उपलब्धि थप्नेमा विश्वस्त हुन सकिन्छ। विमानस्थल भएपछि बढ्ने पर्यटकीय गतिविधिका निम्ति अन्य पूर्वाधारतर्फ पनि उत्तिकै जोड दिनु उचित हुन्छ। पर्यटकलाई बढी भन्दा बढी विविधता दिन सक्नुपर्छ। त्यसले मात्र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नुको अर्थ हुन्छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे सात दशकपछि भैरहवामा गत जेठमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा सुरु भएको हो। त्यसको नौ महिनामा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको इतिहास बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सफल भएको छ। पोखरा विमानस्थलको सपना भने पाँच दशक पुरानो हो। अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता महसुस गरी पहिल्यै जग्गा अधिग्रहण गरे पनि कार्यान्वयनमा समय लागेको छ। २०३१ सालमै ३ हजार १ सय रोपनी जग्गा अधिग्रहण गरेर राखेका कारण यो आयोजना सम्भव भएको हो। अन्तर्राष्ट्रिय विमानस्थलका निम्ति अपुग जग्गा थपेर ३ हजार ८ सय ९९ रोपनी क्षेत्रफलमा अहिले विमानस्थल तयार भएको हो।

पर्यटक आगमन सिधै पोखरामा हुँदा तात्त्विक फरक पर्ने विश्वास त्यहीबेलादेखिको हो। काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा पर्यटक ओर्लिएर फेरि पोखराका निम्ति प्रस्थान गर्न तिनलाई झन्झटिलो हुन सक्ने पनि हो। गन्तव्य नजिक पुग्न पाएपछि पर्यटकले प्राकृतिक वातावरणमै आफूलाई पाउन सक्छन्। त्यसमा पनि काठमाडौँ उपत्यकाको प्रदूषित वातावरण, यातायातको अस्तव्यस्त अवस्था र पोखरा पुग्नुअघिका समस्या पनि उत्तिकै छन्। पर्यटकले जति बढी सुविधा र विविधता पाउँछन्, त्यति रमाउन सक्छन्।

अन्तर्राष्ट्रिय विमानस्थलका निम्ति पोखरेली समुदायले निकै लामो संघर्ष गरेका छन्। विमानस्थलका लागि २ हजार ३ सय जना पोखरेलीले महिनौँ रिले अनशनसमेत गरेका हुन्। सिंहदरबार घेर्ने, काठमाडौँ-पोखराका उडान रोक्ने लगायतका संघर्षका कार्यक्रम पनि तिनले अवलम्बन गरेर आयोजना प्राप्त गरेका हुन्। अहिले यो पूर्वाधार तयार हुनु भनेको गण्डकी प्रदेश र आसपास मात्र होइन, सिंगै मुलुकका निम्ति खुसीको खबर हो। देशमा पूर्वाधार थपिँदै गएको अवस्थाले अरू यस्तै कामका निम्ति प्रोत्साहन गर्छ। विमानस्थल हुनु भनेको सम्भावनाको ढोका खुल्नु हो। अब विमानस्थलबाट पर्यटकको आगमन र गन्तव्य मात्र होइन, यस क्षेत्रका उत्पादन निर्यातको बाटो पनि खुल्नुपर्छ। त्यसका निम्ति आवश्यक पूर्वतयारी हुनु पनि उत्तिकै आवश्यक छ।

पूर्वाधार निर्माण हाम्रो मुलुकमा सहज प्रक्रिया बन्न सकेको छैन। धेरैजसो आयोजना वर्षौँ लम्बिएका छन्। यसरी समयावधि लम्बिँदा त्यस आयोजनाको लागत पनि बढ्ने गरेको छ। निर्माण कार्यको शिलान्यासपछि २६ असार २०७८ मा यो आयोजना सम्पन्न गर्ने लक्ष्य चिनियाँ कम्पनी चाइना सिएएमसिइले राखेको भए पनि करिब डेढ वर्षपछि यो सम्पन्न भएको छ। कोभिड–१९ को प्रभावका कारण पनि केही ढिला भएको हो। कोभिड–१९ को बीचमा पनि निर्माण कार्यलाई गति दिएका कारण गत चैत दोस्रो साता निर्माण कम्पनीले महत्त्वपूर्ण पूर्वाधार सकिएको आधारमा आयोजना नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। विमानस्थल निर्माणमा करिब २२ अर्ब रुपियाँ खर्च भएको छ। यसका लागि अर्थ मन्त्रालयले चीनको एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकसँग सहुलियत ऋण लिएको छ।

मुलुकमा तीन विमानस्थल तयार भएका कारण यिनको सञ्चालनमा अधिकतम प्रतिस्पर्धात्मक वातावरण बनाउनु उचित हुन्छ। ऋण लिएर बनाएका विमानस्थलको सदुपयोग भएन भने त्यसैले मुलुकलाई ऋणको माँखेसाङ्लोमा पार्ने खतरा हुन्छ। त्यसैले पूर्वाधार बनिसकेपछि त्यसबाट अधिकतम लाभ उठाउनेतिर सरकार, निजी क्षेत्र र नागरिकको ध्यान पुग्नुपर्छ। विमानस्थल बनाएपछि त्यसलाई सञ्चालन गर्न पर्यटकको व्यवस्थापन उत्तिकै आवश्यक हुन्छ। त्यहाँ अध्यागमन, भन्सार र अन्य पूर्वाधारको विकासमा बेलैमा ध्यान पुर्‍याउन सकिएन भने अपेक्षित परिणाम प्राप्त हुँदैन। पूर्वाधार बनाउन हतारिने र त्यसलाई अधिकतम प्रयोग गरी मुलुकलाई आर्थिक उन्नतितिर ध्यान दिइएन भने त्यसले प्रतिफल दिन सक्दैन।

कम्तीमा करिब डेढ वर्ष ढिला गरेर भए पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यान्वयनमा आएको छ। मुलुकमा कैयन् गौरव आयोजनाको हालत कमजोर छ। ती वर्षौँ लगाएर पनि पूरा हुन सकेका छैनन्। पोखरा विमानस्थल निर्माण समयमै पूरा भएको घटनाबाट अन्य आयोजनाले पनि प्रेरणा लिनु आवश्यक छ। गौरव आयोजना समयमा नबन्दा देशले घाटा बेहोरेको छ। ती आयोजनाको लागत बढेको छ। समयमा काम नभएपछि मुलुकमा निराशाको वातावरण हुन्छ। त्यसैले प्रधानमन्त्री दाहालले यो आयोजनाको शुभारम्भ गरेजस्तै अन्य आयोजना शीघ्र पूरा गर्न सरकारका सम्पूर्ण संयन्त्र परिचालन गर्नु उचित हुन्छ। मुलुकमा विकास निर्माणले गति लिन थाल्यो भने आमनागरिकमा आशा बढ्छ। सरकारले केही गरिरहेको अनुभूति हुन्छ। 

प्रकाशित: १८ पुस २०७९ ००:११ सोमबार

Download Nagarik App
Download Nagarik App