९ मंसिर २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

अर्को अभ्युदय

नेपाली कांग्रेस नेतृत्वको गठबन्धनको आइतबार अपराह्न दुःखद अवसान भएको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री दिन तयार नभएपछि नेकपा (एमाले) सँग नयाँ गठबन्धन बनेको छ। २०७८ जेठमा बनेको कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) लगायतको गठबन्धन निर्वाचनपछि सरकार बनाउने बेलासम्म ‘म्याराथन’ बैठकमा व्यस्त रहेको हो। प्रधानमन्त्री देउवा कि दाहाल बन्ने भन्ने प्रश्नको छिनोफानो हुन नसकेका बेला एमाले अध्यक्ष ओलीले प्रत्याक्रमण गरी आफूलाई ‘किङमेकर’ बनाउन सफल भएका छन्।

सरकारबाट हटेर आफ्नो निवास बालकोटको बार्दलीबाट संबोधन गरेका ओली अन्ततः फेरि त्यहीँबाट नयाँ प्रधानमन्त्री लिएर राष्ट्रपति निवास पुगेका छन्। दाहालकै कारण ओली बार्दलीमा पुगेका थिए भने अहिले त्यहीँबाट दाहाललाई समेत राखेर अभिवादन गर्दै नयाँ सरकार निर्माण प्रक्रियामा लागेर उनले देउवासँग मीठो बदला लिएका छन्। यससँगै राजनीतिमा असम्भव केही छैन भन्ने सन्देश दिन पनि ओली सफल भएका छन्। आफूलाई राजनीतिको खेलाडी ठानेर छैटौँ पटक प्रधानमन्त्रीको कुर्सीमा बस्ने देउवाको तयारीमा भने यसले रोक लगाएको छ। देउवा यथार्थमै राजनीतिका खेलाडी हुन् भन्ने मान्यतालाई भने यसपटकको ओलीको खेलले छक्याइदिएको छ। कांग्रेसमा बढ्तै आफूप्रति विश्वास बढेको हो। त्यसैले गठबन्धन अगाडि बढाउने तरिका पुगेन।

ओलीको चतुर्‍याइँ प्रयोग गर्दै दाहाल आइतबार साँझ प्रधानमन्त्री नियुक्त भएका छन्। दाहाल तेस्रो पटक ओली नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री बनेसँगै देउवा नेतृत्वको गठबन्धन छिन्नभिन्न भएको छ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभाका १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले सोमबार अपराह्न पद तथा गोपनीयताको सपथ लिएपछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ। दाहाललाई यसपटक एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राप्रपा १४, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४, जनता समाजवादी पार्टी, नेपाल १२ र तीन स्वतन्त्र सांसद प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंह गरी १ सय ६९ जनाको साथ छ।

केन्द्रमा राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख, उपसभामुख लगायतका पदको बाँडफाँट पनि अब नयाँ गठबन्धनकै हातमा पुगेको छ। यस हिसाबले निर्वाचनमा सबै भन्दा धेरै स्थान भएको कांग्रेसको स्थान प्रमुख प्रतिपक्षमा पुगेको छ। देउवालाई सम्भवतः माधवकुमार नेपालको एकीकृत समाजवादी र महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीले मात्र साथ दिनेछन्। दाहालप्रति पनि यी दुई दलको विरोध हुने छैन। यस हिसाबले संसद्माप्रतिपक्षको प्रभावकारी भूमिका खेल्ने जिम्मा कांग्रेसलाई बढ्ता छ। कांग्रेसमा निर्वाचित युवा सांसद यस पटक यथेष्ठरूपमा रहेका छन्। तिनले चाहे भने आफूलाई सशक्त तुल्याउन सक्छन्।

नयाँ गठबन्धनसँग केन्द्रदेखि प्रदेशसम्मका सरकारको खाका यसअघि परिकल्पना गरेभन्दा भिन्न हुने देखिएको छ। निर्वाचनमा अपेक्षित स्थान हासिल गर्न नसकेको एमालेले अब सबै ठाउँमा आफूलाई बलियो बनाउने मौका पाएको छ। विशेषगरी राष्ट्रपति र सभामुख जस्ता पद एमालेको हातमा गएपछि उसले चाहेअनुसार आगामी दिनमा राजनीतिलाई अगाडि बढाउन सक्नेछ। त्यसमा पनि दाहालको साढे दुई वर्षको पदावधिपछि ओलीले प्रधानमन्त्री लिने सहमति भएको छ। त्यो बेला राज्यका तीनै अंगमा एमाले स्थापित हुने अवस्था आएको छ। कांग्रेस नेतृत्वको गठबन्धनका कारण एमालेले धेरै ठाउँमा आफूलाई कमजोर पाएका कारण पनि दाहाललाई अहिले प्रधानमन्त्री दिएर भए पनि सुदृढ हुनुपर्ने आवश्यकता महसुस गरेको देखिन्छ।

एमाले नेतृत्वको गठबन्धनमार्फत दाहाल प्रधानमन्त्री भएपछि कांग्रेसभित्रको गगन थापा पक्ष सर्वाधिक खुसी भएको देखिन्छ। कांग्रेसभित्र शक्ति सन्तुलन बलियो बनाउँदै गएका देउवाले सरकार पनि चलाउन पाएका भए थापा समूह थप कमजोर हुने अवस्था रहन्थ्यो। अबका दिनमा थापा पक्षले आफूलाई संसद्मा प्रभावकारी बनाउन पाउनेछ। त्यति मात्र होइन, परिस्थिति बदलियो भने आगामी दिनमा हुने सरकार परिवर्तनमा पनि यो समूहको भूमिका हुन सक्छ। मुलुकको राजनीतिमा जोसँग पनि मिल्न र सरकार चलाउन सकिने परिस्थिति रहेका कारण नयाँ गठबन्धन बनाउन पनि कुनै गाह्रो हुने देखिँदैन। यसपटक दाहाललाई प्रधानमन्त्री बनाउने बेलामा सजिलै नयाँ दलहरू समर्थनमा लाम लागेको देखिनुले यही संकेत गर्छ। कांग्रेससँगको गठबन्धन नटुटी त्यहीँबाट प्रधानमन्त्री बन्ने मौका दाहालले पाएका भए निःसन्देह अहिलेका यी दलले उनलाई पनि समर्थन गर्ने थिए। सरकारमा जाने कुरामा कुनै दललाई त्यति धेरै हिच्किचाहट देखिएको छैन।

सात दल र तीन स्वतन्त्र सांसदको अहिलेको गठबन्धनलाई जोगाउँदै सरकारको नेतृत्व गर्न दाहाललाई सजिलो छैन। त्यसमा पनि अहिलेको सरकारका निर्माता ओली हुन्। त्यसैले ओलीको साथ र समर्थनबेगर दाहाललाई सरकार चलाउन सहज हुने छैन। त्यसैगरी राजनीतिक महत्त्वाकांक्षा बोकेर आएका नयाँ दलको सहभागिताको उत्साह पनि कम चुनौतीपूर्ण हुने छैन। उनीहरू जति सजिलै सरकारमा सहभागी हुन तत्पर भएका छन्, त्यत्तिकै चाँडै हट्न पनि सक्छन्। यो निश्चित छ-आगामी दिनमा किसिम किसिमका गठबन्धनको अभ्यास हुनेछ। सरकार बन्ने र भत्काउने खेल पनि नियमित हुनेछन्।

मुलुकमा गठबन्धन बन्न जति सजिलो छ, टुट्न पनि गाह्रो छैन। ओलीले पटक-पटक प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगमनविरुद्ध भनेर देउवाको नेतृत्वमा गठबन्धन बनेको हो। दाहालले निर्वाचनपछि प्रतिगमनको प्रश्न गौण र आफू प्रधानमन्त्री बन्नुलाई प्रधान ठानेको स्थिति हो। निर्वाचनमा एउटा दल र सरकारमा अर्कोसँग गठबन्धन गर्न सक्ने दाहालको लचिलो अभ्यासले तेस्रो दल भएर पनि सरकारको नेतृत्वमा पुर्‍याएको हो। एक्लै निर्वाचन लड्दा दाहालको दल अरू खुम्चिने अवस्था रहेकै हो। गठबन्धनको राजनीतिबाटै उनी आफू र दलको राजनीति टिकाउन सफल भएका छन्। त्यति मात्र होइन विगतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेका बेला दाहाललाई प्रधानमन्त्री नदिएकै कारण एमाले खुम्चिएको हो। ओलीले वास्तवमा त्यतिबेलाको कमजोरी सच्याएका पनि हुन्। कांग्रेस नेतृत्वको गठबन्धनको अवसानसँगै ओली नेतृत्वको अर्को गठबन्धनको अभ्युदय भएको छ। मुलुकको राजनीतिमा आगामी दिन रोचक हुने संकेत मिलेको छ। 

प्रकाशित: १० पुस २०७९ २३:२६ आइतबार

Download Nagarik App
Download Nagarik App