गत बिहीबार अन्तर्राष्ट्रिय समुदायसँगै नेपालमा पनि विश्व एड्स दिवस मनाइएको छ। संक्रमितलाई समान व्यवहार गर्नुपर्ने अवधारणासहित यो वर्षको नारा ‘इक्युलाइज’ अर्थात समान व्यवहार भन्ने रहेको थियो। एचआइभी/एड्स अन्तका लागि यो समस्यालाई हेर्ने दृष्टिकोण, पहिचान तथा उपचारमा विश्वको ध्यान जानुपर्नेमा यो वर्षको नाराले महत्त्व दिएको छ।
नेपालमा पहिलो एचआइभी संक्रमितको पहिचान भएको ३४ वर्ष पुगेको छ। सन् १९८८ मा नेपालमा पहिलो पटक एचआइभी संक्रमितको पहिचान भएको थियो। डेढ दशकअघिसम्म नेपालमा एचआइभी संक्रमितको संख्या ६०-७० हजार पुगेको आकलन गरिएकामा यो संख्या अहिले घटेर ३० हजारमा झरेको आकलन छ। यो रोग नियन्त्रण तथा रोकथाममा गरिएका प्रयासका कारण यो सम्भव भएको हो।
विश्व एड्स दिवसको अवसरमा बिहीबार सार्वजनिक गरिएको एचआइभी संक्रमितहरूमा स्टिग्मा इन्डेक्स (लाञ्छना सूचक) को दोस्रो प्रतिवेदनले यो रोगसँग सम्बन्धित विभिन्न पक्ष उजागर गरेको छ। समान प्रकृतिको सर्भेक्षण सन् २०११ मा पनि गरिएको थियो। बिहीबार सार्वजनिक प्रतिवेदनका अनुसार सन् २०११ मा घरबाहिर हुने लाञ्छना र भेदभाव ४९.७ प्रतिशत रहेकामा सन् २०२२ मा यो घटेर ९.५ प्रतिशत पुगेको छ।
यसरी विगत ११ वर्षमा एचआइभी संक्रमितलाई गरिने लाञ्छना र भेदभावमा उल्लेख्य सुधार भएको देखिनु सुखद हो। तर सोही प्रतिवेदनले विगतमा सबै प्रमुख जनसंख्यामा लाञ्छना र भेदभावसँग सम्बन्धित तीता अनुभवहरूमा कमी आए तापनि ट्रान्सजेन्डर, पुरुषसँग यौन सम्बन्ध राख्ने पुरुषहरू र महिला यौनकर्मीमा यो विभेद अझै विद्यमान छ। सरकारी तथ्यांकअनुसार नेपालमा कुल २२ हजार ७३५ ले एचआइभीको औषधी नियमित सेवन गरिरहेका छन्। यी संक्रमितमध्ये २१ जिल्लाका १८ वर्षमाथिका ९२७ उत्तरदाताहरू मात्र अध्ययनमा समेटिएका थिए।
प्रशिक्षित एचआइभी संक्रमित गणकहरू सहभागी रहेका यो अध्ययनमा कुल ४४६ जना महिला र ४८१ पुरुष संक्रमितलाई समेटिएको थियो।
यो नमुना सर्भेक्षण भएकाले सबै संक्रमितको धारणा प्रतिनिधित्व गर्ला/नगर्ला भन्ने तर्क गरे पनि अध्ययनले महत्त्वपूर्ण संकेत गरेको छ। अझै पनि हरेक १० मध्ये एकजना उत्तरदाताले गत १२ महिनामा आफु एचआइभी संक्रमित भएकै कारण लाञ्छना र भेदभावका कम्तीमा एक घटना अनुभव गरेका बताएका छन्।
अध्ययनमा सहभागी हरेक ५ मध्ये ३ जना अर्थात ५९ प्रतिशतले मानिसलाई आफू एचआइभी संक्रमित भएको बताउन कठिन हुने बताएका थिए। यसैगरी सहभागीमध्ये एक तिहाइभन्दा कम अर्थात ३० प्रतिशतले आफू योग्य नभएको महसुस गर्ने बताएका थिए। सहनशीलता अर्थात आफैँले लाञ्छनाको सामना गर्ने क्षमताका आधारमा झण्डै आधा उत्तरदाता (४५ प्रतिशत) ले आफु एचआइभी संक्रमित भएपश्चात आफ्नो आत्मविश्वास र आत्मसम्मान प्रभावित भएको बताएका छन्। यसैगरी स्वास्थ्य सेवा प्रदायकहरूद्वारा संक्रमितहरूप्रति गरिने लाञ्छना र भेदभावसम्बन्धी व्यवहारहरू सन् २०११ को तुलनामा झण्डै आधाले घटेको छ।
एचआइभी संक्रमित भएकै कारण स्वास्थ्य संस्थाहरूले सेवा प्रदान नगर्ने प्रतिशत सन् २०११ मा ७.३ प्रतिशत रहेकामा सन् २०२२ मा यो ४ प्रतिशतमा ओर्लेको छ। यसो हुँदाहुँदै पनि अध्ययन प्रतिवेदनका अनुसार २५ वर्षभन्दा मुनिका उमेर समूहमा यो विभेद अत्यधिक (२७ प्रतिशत) रहेको र संक्रमितहरूले आफ्नै कार्यस्थल, सहकर्मी तथा शिक्षकहरूसँग आफू एचआइभी संक्रमित भएको जानकारी नगराएको तथ्य सार्वजनिक भएको छ।
यसैगरी रोग परीक्षण गर्न पनि हिच्किचाहट रहेको देखिएको छ। अध्ययनमा समेटिएका उत्तरदातामध्ये दुई तिहाइले मात्र (६५ प्रतिशत) स्वेच्छाले एचआइभी परीक्षण गरेको र हरेक ५ जना उत्तरदातामध्ये ३ जनाले एचआइभी परीक्षण गर्ने निर्णय लिन ६ महिना वा कम समय लगाएको बताएका छन्। यसैगरी एक चौथाइभन्दा बढी (२७ प्रतिशत) ले आफू एचआइभी संक्रमित भएको पत्ता लागेपछि अन्य व्यक्तिले गर्ने प्रतिक्रियाका डरले परीक्षण गर्न हिच्किचाएको बताएका छन्।
यसैगरी अध्ययनमा देखिएको अर्काे महत्त्वपुर्ण पक्ष भनेको स्वास्थ्यकर्मीले संक्रमितलाई हेर्ने दृष्टिकोण अझै समस्याग्रस्त रहेको देखिनु हो। लगभग ५ मध्ये १ उत्तरदाता (१९ प्रतिशत) ले उनीहरूसँग सम्पर्क हुँदा स्वास्थ्यकर्मीहरूले शारीरिक सम्पर्क हुनबाट जोगिन खोजेको वा दुई वटा पन्जा एकैसाथ लगाएर थप सावधानी अपनाएको बताएका छन्। यो चिन्ताको विषय हो। यो रोगको रोकथाममा महत्त्वपूर्ण भूमिका रहने स्वास्थ्यकर्मीले यस्तो व्यवहार देखाउनुलाई किमार्थ स्वीकार गर्न सकिँदैन।
रोग निदानका लागि संक्रमितहरू खुला रूपमा अगाडि आउन आवश्यक छ। यस्ता व्यवहारले उनीहरूलाई खुला रूपमा संक्रमित रहेको बताउन दुरुत्साहित गर्छ। सन् २०२१ देखि २०२६ बीच बनाइएको नेपालको राष्ट्रिय एचआइभी रणनीतिले सन् २०३० सम्म एचआइभी रोग अन्त गर्ने उद्देश्य लिएको छ। यसका लागि आमाबाट बच्चामा रोग सर्न नदिने, संक्रमितहरूको पहिचान तथा उपचार व्यवस्थालगायतका कार्यलाई महत्त्व दिइएको छ।
यो सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको रोगलाई हेर्ने आमधारणामा परिवर्तन हुन जरुरी छ। उपचारमा स्वास्थ्य संस्था, सामाजिक सञ्जाल, सञ्चार माध्यमलगायत औपचारिक शिक्षा प्रणालीमा यो विषयमा थप पैरवी र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सकेमा यो अवधारणामा परिवर्तन आउन सक्छ। अधिकांश संक्रमितहरू नेपालको प्रमुख जनसंख्या समूहमा पर्छन्। यो वर्षको नाराले महत्त्व दिएझैँ यो वर्गलाई समान व्यवहार गर्न सकेमा मात्र यो रोगको नियन्त्रणमा सहयोग पुग्न सक्छ। यो रोगको नियन्त्रण सरोकारवालाहरूको सहकार्य र हातेमालोबाट मात्र सम्भव छ।
प्रकाशित: १८ मंसिर २०७९ ००:२३ आइतबार