१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

अपर बेलफी–ए जलविद्युत आयोजनाले थाल्यो उत्पादन

अपर बेलफी–ए जलविद्युत आयोजना।

३६ मेगावाट क्षमताको अपर बेलफी–ए जलविद्युत आयोजनाले उत्पादन थालेको छ। प्राविधिक परीक्षण सफल भएपछि आयोजनाले उत्पादन थालेको हो।

बलेफी हाइड्रोपावर लिमिटेडको अगुवाइमा झण्डै पाँच वर्ष लगाएर हालै मात्र यो आयोजना निर्माण सम्पन्न भएको थियो। ‘उत्पादित विद्युत राष्ट्रिय प्रशारणलाइनमा जोडिसकेका छौँ,’ कम्पनीका कार्यकारी अध्यक्ष उमेश कसजूले नागरिकसँग भने। उनका अनुसार लिमिडेटले आफ्नै लगानीमा एक सय ३२ केभिए क्षमताको २२ किलोमिटर लामो प्रशारण लाइन निर्माण गरेको छ।

लामोसाँघुस्थित विद्युत प्राधिकरण स्वामित्वको सुनकोसी जलविद्युत केन्द्रको सब–स्टेशनमार्फत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो। जुगल गाउँपालिकाको वडा नं. २, ३ र ४ मा आयोजना फैलिएको छ। आयोजनाको पानीको मुख्य स्रोत जुगल हिमशृंखलाबाट पग्लने हिउँ र विभिन्न खहरे, खोल्सा हुन्।

ब्रह्मायणी नदीको गोल्चे र गुम्बामा बाँध रहेको आयोजनाको उत्पादनगृह गोल्चेको बैकुण्ठेमा निर्माण गरिएको छ। बाँध र उत्पादनगृहलाई चार हजार तीन सय मिटर भूमिगत सुरुङले जोडेको आयोजनाले जनाएको छ। कसजूका अनुसार आयोजनाले हाल ३२–३३ मेगावाट विद्युत उत्पादन गरिरहेको छ।

२०७४ बाट आयोजना निर्माण थालिएको थियो। आयोजना निर्माणमा झण्डै ७ अर्ब रुपैयाँ लगानी भएको लिमिटेडका कार्यकारी अध्यक्ष कसजूले बताए। उनका अनुसार ७० प्रतिशत बैँक ऋण र ३० प्रतिशत कम्पनीले व्यहोरेर लगानी जुटाइएको हो। आयोजना निर्माणमा ग्लोबल आइएमइ बैँकको नेतृत्वमा नेपाल वाणिज्य बैँक, एभरेष्ट बैँक र सानीमा बैँकले ऋण लगानी गरेका छन्।

२०७० मा लिमिटेड र प्राधिकरणबीच विद्युत खरिद सम्झौता (पिपिए) भएको थियो। सम्झौता अनुसार प्राधिकरणले प्रतियुनिट हिउँदमा आठ र वर्षामा चार रुपैयाँका दरले विद्युत खरिद गर्नेछ। आयोजनाले स्थानीय प्रत्यक्ष प्रभावितका र सर्वसाधरणका लागि १८/१८  करोड रुपैयाँको सेयर वितरण गरिसकेको छ।

लिमिटेडका कार्यकारी अध्यक्ष कसजू सिन्धुपाल्चोकमा सफल जलविद्युत प्रवर्धक मानिन्छन्। उनकै अगुवाइमा जिल्लामा २२ मेगावाट क्षमताको माथिल्लो चाकु, हाँडीखोला लगायत जलविद्युत आयोजना बनेका छन्। कसजूकै नेतृत्वमा बन्न लागेका ४६ मेगावाटको माथिल्लो बलेफी लगायत आयोजना पाइप लाइनमा छन्। ‘अघिल्ला आयोजना निर्माणको अनुभवले अपर बलेफी–एमा सफलता मिलेको हो,’ कसजूले भने।

प्रकाशित: २३ कार्तिक २०७९ ११:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App