पूर्व नेसनल च्याम्पियन बद्रीलाल नेपालीले समृद्धि फाइनान्स पाँचौं नेसनल (भेट्रान) सिनियर चेस च्याम्पियनसिपको उपाधि जितेका छन्।
पाँचौं चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेट मास्टर नवीन तण्डुकारलाई छैटौं चरणमा हराउन सफल भएका बद्रीलालले सातौं चरणका खेलमा जनार्दन श्रेष्ठसँग बराबरीको नतिजा आत्मसात गरेका थिए। तीनपटकका नेसनल च्याम्पियन रहिसकेका बद्रीलालको ५० वर्षमाथि उमेर समूहमा प्राप्त पहिलो उपाधि हो भने उनले ५० हजार नगदसमेत प्राप्त गरेका छन्।
नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाइनान्सको मुख्य प्रायोजनमा सम्पन्न च्याम्पियनसिपमा समान ५।५ अंक बनाएका फिडेमास्टर विलमलाल श्रेष्ठ तथा पुण्यमान कर्माचार्य क्रमशः दोस्रो तथा तेस्रो स्थान हासिल गरेका छन्।
प्रकाशित: २३ कार्तिक २०७९ ०३:२६ बुधबार