बैंकले ऋणको ब्याज दरमा वृद्धिविरुद्ध गरेपछि प्रदेश १ का उद्योग व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका छन्।
विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले आयोजना गरेको ‘बैंक तथा वित्तीय क्षेत्रका कारण उद्योग व्यवसायमा देखिएका विभिन्न समस्या’ सम्बन्धी अन्तरक्रियामा बैंकविरुद्ध आन्दोलन गर्न दबाव आएको थियो। प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा उद्योगी व्यवसायीहरुले बैंक ब्याज दर वृद्धिविरूद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न उद्योग वाणिज्य महासंघलाई दबाव दिएका हुन्।
ब्याजदर घटाउन माग गर्दै पहिलो चरणमा विराटनगरस्थित नेपाल राष्ट्र बैंकमा ज्ञापनपत्र बुझाउने, प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र पठाउने र जिल्लास्थित बैंकहरुमा धर्ना दिने तथा बैंकर्स संघमा पनि ज्ञापनपत्र पठाउने कार्यक्रम तय गरिएको महासंघले जनाएको छ।
बैंकर्स संघ र राष्ट्र बैंकको मिलेमतोमा मुलुकको अर्थतन्त्र ध्वस्त पार्न लागेको कार्यक्रमका सहभागीहरुले बताएका हुन्। राष्ट्र बैंक वाणिज्य बैंकहरुको नाफामा मात्रै केन्द्रित रहेको छ। राष्ट्र बैंकको नीतिका कारण उद्योगधन्दा बन्द हुने अवस्था भएकोले आन्दोलनमा जानुपर्ने अवस्था सिर्जना भएको उनीहरुले बताए।
बैंक तथा वित्तीय संस्थाले १ अंकको ब्याजदर कायम सहमति विपरीत हाल १८ प्रतिशतसम्म ब्याज कायम गर्न खोजेकोमा उद्योगी व्यवसायीहरु रुष्ट भएका हुन्। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले उद्योग व्यवसायको ब्याजदर बढेकै कारण बन्द गर्नुपर्ने स्थितिमा पुगेकाले देशव्यापी रुपमा उद्योगी व्यवसायीहरु एक हुनुपर्ने समय आएको बताए।
अन्तक्रियाका सहभागीहरुले साना तथा मझौला व्यवसायीहरुलाई बैंकले शोषण गरेको आरोप लगाए। उनीहरुले बैंकले सानालाई एउटा नियम र ठूला उद्योगीलाई अर्को नियम लगाएर ब्याज असुली गरेको बताए। साना तथा मझौला व्यवसायीलाई वाणिज्य बैंकहरुले ज्यादती गरिरहेको बताउँदै, उदयपुर उद्योग वाणिज्य संघकी उपाध्यक्ष मुना कटुवालले भनिन्, ‘दुई वर्षअघि ६ प्रतिशतमा लिएको ऋणको ब्याजलाई बैंकले क्रमशः वृद्धि गर्दै असोज मसान्तमा १६ प्रतिशत पर्याएको छ। यस्तो अवस्थामा व्यवसाय गर्न सक्ने अवस्था नरहेकोले बैंकविरुद्ध आन्दोलनको विकल्प छैन।’
बैंकले देशका केही ठूला औद्योगिक घरानालाई बेस रेटमा शूल्य दशमलव २५ देखि शून्य दशमलब पाँच प्रतिशत मात्र ब्याज लिने गरेको दमक उद्योग वाणिज्य संघका सदस्य मोहन ढकालले बताए। उनले साना र मझौला व्यवसायीलाई बेस रेटमा सात प्रतिशत थपेर लिइरहेको छ। ठूला उद्योग व्यवसाय, बैंक, बिमा, हाइड्रो, घरजग्गा सबै एकै घरानाले चलाएको भन्दै मारमा साना र मझौला व्यवसायीलाई परेको बताउँदै, ढकालले भने, ‘बैंकहरुको यस्तै रवैया हुने र सरकार मौन बस्ने हो भने सबै जनाले आफ्नो व्यवसाय बन्द गरेर खाडी मुलुक जानुको विकल्प छैन।’
नेपाल राष्ट्र बैंकको नीति तथा बैंक तथा वित्तीय संस्थाहरुले ब्याज दर र अन्य सेवा शुल्कका सम्बन्धमा गरेको निर्णय अविलम्ब सच्याउनु पर्नेलगायतका विभिन्न माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
प्रकाशित: ३ कार्तिक २०७९ १३:२१ बिहीबार