६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सेती-३ र बुढीगण्डकी प्रोक जलविद्युत् बनाउन चिलिमे कम्पनी इच्छुक

नेपाल विद्युत् प्राधिकरणको बहुसंख्यक सेयर स्वामित्व रहेको चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेडले सेतीनदी-३ (एसआर-३) र बुढीगण्डकी प्रोक जलविद्युत् परियोजनामा लगानी गर्न लगानी बोर्डसमक्ष प्रस्ताव गरेको छ।

अर्ध-जलाशययुक्त (सेमी स्टोरेज) प्रकृतिमा निर्माण प्रस्ताव गरिएको एसआर-३ जलविद्युत् परियोजनाको क्षमता ८७ मेगावाट र नदीप्रवाही (रन अफ द रिभर) प्रकृतिको बुढीगण्डकी प्रोक जलविद्युत् परियोजनाको क्षमता ८१ मेगावाट रहेको छ।

बोर्डमा लगानी स्वीकृतिका लागि पेस भएको प्रस्तावअनुसार, एसआर-३ को लागत १९ अर्ब ६६ करोड ६१ लाख रूपैयाँ र बुढीगण्डकी प्रोकको लागत १६ अर्ब ४५ करोड ५४ लाख रूपैयाँ रहने अनुमान छ। पश्चिम सेती जलविद्युत् परियोजनाको अपस्ट्रिम (माथिल्लो भाग) मा अवस्थित एसआर-३ परियोजना सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा पर्छ।

लगानीबोर्डको कार्यालयले गत भदौ २ गते भारत सरकार स्वामित्वको एनएचपीसी लिमिटेडसँग पश्चिम सेती (७५० मेगावाट) र एसआर–६ (४५० मेगावाट) विकास गर्ने गरी समझदारी गरेको थियो। त्यस्तै, बुढीगण्डकी प्रोकजलविद्युत् परियोजनाको परियोजनास्थल गण्डकी प्रदेशको गोरखा जिल्लामा पर्छ। चिलिमेले एसआर–३ मा लगानी गर्ने प्रस्तावसँगै सेती करिडोरका अन्य सम्भाव्य जलविद्युत् परियोजनाहरूमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको लगानी आकर्षित हुने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताए।

उनले सेती करिडोरको पनि अरूण करिडोरको जस्तै भविष्य रहेको चर्चा गर्दै चिलिमेले विकासका लागि प्रस्ताव गरेको परियोजनाले सेतीनदी र एसआर-६ का लागि निर्माणका क्रममा आवश्यक ऊर्जा आपूर्ति हुने विश्वास व्यक्त गरे।

चिलिमे हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुभाषकुमार मिश्रले सेती बेसिनमा पश्चिम सेती र एसआर-६ दुई ठूला जलविद्युत् परियोजना निर्माण हुन लागेको पृष्ठभूमिमा एसआर-३ जलविद्युत् परियोजनाले उक्त बेसिनमा थप टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

चिलिमेको २२.१ मेगावाटको चिलिमे जलविद्युत् परियोजना सञ्चालनमा रहेको छ। सो कम्पनीको अगुवाईमा विभिन्न कम्पनीहरूमार्फत अतिरिक्त १०२ मेगावाटको मध्यभोटेकोसी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावटको (माथिल्लो) सान्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत् परियोजनाहरू निर्माणाधीन रहेका छन्।

सेती करिडोरका जलविद्युत् परियोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रीडमा जोड्नका लागि भारत सरकारको लाइनअफ क्रेडिट सुविधामा चैनपुर-वनलेक-न्यूअत्तरिया ४०० केभी क्षमताको १५० किमी प्रसारण लाइन राष्ट्रिय प्रसारण ग्रीड कम्पनी मार्फत् कार्यान्वयन हुँदैछ।

परियोजनाको विद्युत्गृहदेखि चैनपुरसम्म जोड्ने १६ किमी प्रसारण लाइन परियोजना आफैंले निर्माण गर्नेछ। त्यस्तै, बुढीगण्डकी प्रोकविद्युत् गृहदेखि नजिकको सबस्टेशनसम्म प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्नेछ। 

प्रकाशित: ३० आश्विन २०७९ ०३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App