२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

आयात रोकिँदा अटोमोबाइल क्षेत्र संकटग्रस्त

सरकारले चार पांग्रे निजी सवारी साधन आयात करिब ६ महिना रोकिँदा अटोमोबाइल क्षेत्र संकटग्रस्त भएको व्यवसायीले गुनासो गरेका छन्। सवारी साधनको आयात रोक्दा अटोमोबाइल क्षेत्रले अर्बौं रूपैयाँ गुमाएको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले जनाएको छ।

विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सरकारले गत वैशाखदेखि निजी सवारी साधन (जिप, कार, भ्यान) आयातमा प्रतिबन्ध लगाएको थियो। कारोबार ठप्प भएपछि अटोमोबाइल क्षेत्र संकटग्रस्त बनेको नाडाका अध्यक्ष धु्रव थापाले बताए। ‘६ महिनादेखि आयात प्रतिबन्ध लगाउँदा अर्बौं रूपैयाँको नोक्सानी भएको छ,’ थापाले भने– ‘अटो व्यवसायमा सयौं विस्थापित भएका छन् भने हजारौंको रोजगारी गुमेको छ।’

आयातमा लगाएको प्रतिबन्ध र राष्ट्र बैंकको कडाइले यो क्षेत्रमा लगानी गरेका व्यवसायी टाट पल्टेको थापाले बताए। ‘धेरै डिलरहरू बन्द भए’, थापाले भने– ‘बैंकको ऋण तिर्न नसक्दा जग्गा लिलामीको अवस्था आयो।’

सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै गत वैशाख १४ गतेदेखि जीप, कार र भ्यान लगायतका निजी सवारीमा लगाएको प्रतिबन्ध असोज २८ गतेसम्म कायम छ। सरकारलाई ठूलो राजस्व तिर्ने क्षेत्रमध्ये अटोमोबाइल क्षेत्र पनि पर्छ। सरकारले लगाएको प्रतिबन्ध खोल्नुपर्ने व्यवसायीको माग छ।

६ महिना आयात रोकिँदा करिब नौ हजार निजी सवारी साधनको कारोबार रोकिएको छ। सरकारले आर्थिक वर्ष २०७८/७९मा निजी सवारी साधनबाट करिब ३९ अर्ब राजस्व संकलन गरेको थियो। करिब ६ महिना सवारीको आयात रोकिँदा त्यसको आधा करिब साढे नौ अर्ब रूपैयाँ राजस्व गुमाएको छ। अटोमोबाइल क्षेत्रले कुल राजस्वमा करिब नौ प्रतिशत योगदान पुर्‍याउँदै आएको छ।

लामो समयदेखि आयात रोकिँदा दुई/चार कम्पनीका बाहेक अधिकांश सोरुम बन्द रहेको अध्यक्ष थापाले बताए। ‘कोभिडको समयमा भन्दा खराब अवस्था झेल्नु परेको छ’– थापाले भने। व्यवसायीले आयात प्रतिबन्ध तुरुन्त खुलाउन माग गरेका छन्। ‘अर्थतन्त्र पनि राम्रो हुँदै गएको छ,’ उनले भने, ‘डलर सञ्चिति बढ्दै गएकाले अब निजी सवारीमा लगाएको प्रतिबन्ध खुलाउनुपर्छ।’

अटोमोबाइल क्षेत्रले कुल आयातको करिब १ प्रतिशत हिस्सा मात्र ओगेटेकाले रोकिरहन नहुने थापाले बताए। दसैं, तिहारमा सवारी साधन बिक्री गर्न नपाउँदा व्यवसायी चिन्तित छन्। दसैं, तिहार, छठको अवसरमा वार्षिक कारोबारको करिब ४० प्रतिशत कारोबार हुने गरेको व्यवसायीको दाबी छ। ‘प्रमुख सिजनमा कारोबार ठप्प भयो,’ अध्यक्ष थापाले भने, ‘व्यवसायीलाई ठूलो मर्का परेको छ।’  

राष्ट्र बैंक तथा सरकारको एक पछि अर्को नीति तथा निर्देशनका कारण अत्यन्त कठीन परिस्थितिमा गुज्रिएको गुनासो गरेका छन्। असोज २८ गतेसम्मको लागि निजी प्रयोजनका कार, जीप, भ्यान र १५० सीसी माथिका दुई पांगे्र सवारी साधनहरूको लागि लगाइएको प्रतिबन्ध हटाउन नाडाले अनुरोध गरेको छ।

अटो क्षेत्रले भन्सार विन्दुमा उठ्ने परल मूल्य भन्दा दोब्बर राजस्व बुझाउने गरेको छ। नेपालमा पैठारी हुने हजारौं वस्तुहरू मध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरू आयातको तुलनामा झण्डै दोब्बर भन्दा बढी राजश्व योगदान पुर्‍याउने गरेको छ। नेपालको बढ्दो व्यापार घाटा र शोधनान्तर घाटामा अटो क्षेत्रको अंश सानो भए पनि योगदान भने धेरै उच्च रहेको नाडाको दाबी छ।

प्रकाशित: २५ आश्विन २०७९ ०२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App