१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

म्याद थपिएका योजना मंसिरभित्र सक्न निर्देशन

टीकापुर नगरपालिकाले अघिल्ला वर्षदेखी म्याद थप हुँदै आएका योजनाहरुलाई आगामी मंसिर मसान्तभित्र सम्पन्न गर्न अन्तिम पटक निर्देशन दिएको छ।

असोज ७ गते बसेको कार्यपालिका बैठकले मंसिर मसान्तभित्र सम्पन्न नगर्ने योजनालाई जरिवाना गर्ने निर्णय गरेको छ। बैठकले यस्ता योजनालाई ठेक्का कबुल अंकमा प्रतिदिन शुन्य दशमलव शून्य पाँच प्रतिशत रकम जरिवाना गर्ने भएको नगरपालिका प्रवक्ता बलिराम चौधरीले जानकारी दिए।

नगरपालिकामा दर्जन बढी ठूला योजना विगत वर्षहरुदेखी नै म्याद थप हुँदै आएका छन्। ती योजनाको म्याद विभिन्न बहानामा थपिदै आएको थियो। नगरपालिकाले यसरी योजनाको म्याद हरेक वर्ष थप गर्दा कामकाजमा ढिलासुस्ती हुनुका साथै जनगुनासो समेत बढेको जनाएको छ।

नगरपालिकाले योजना निर्माणमा भैरहेको ढिलासुस्तीलाई मध्यनजर गरेर कार्यपालिका बैठकमार्फत यस्तो निर्णय गरेको हो। जरिवाना गर्ने भएपछि वर्षौदेखी निर्माण सम्पन्न हुन नसकेका योजनाको काम अघि बढ्ने नगरपालिकाले विश्वास गरेको छ।

नगरपालिकाले चालु आर्थिक वर्षका योजनाहरु समेत समयमै सक्ने नीति लिएको छ। उसले चालु आर्थिक वर्षका योजना बैशाख मसान्तभित्रै सम्पन्न गर्ने गरी काम अघि बढाएको छ। असारे विकासलाई रोक्न यस्तो नीति अवलम्बन गरेको नगर उपप्रमुख खडकबहादुर शाहले जानकारी दिए।

उनले आर्थिक वर्षको अन्त्यमा विकास योजनाका काम सम्पन्न गर्दा गुणस्तरीय नहुने बताए। ‘हतारमा काम गर्दा गुणस्तरीय भएन भन्ने जनगुनासोलाई सम्बोधन गरेका हौं’ उनले भने, ‘यो वर्ष समयमै काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ।’

जनप्रतिनिधिहरुले योजना निर्माणका काममा ध्यान नदिने गरेको व्यापक जनगुनासो सुनिन्छ। उनीहरुले योजना निर्माणका काम भन्दा पनि अन्यत्र ध्यान दिने गरेको आरोप लाग्ने गरेको छ। नगरपालिका यस्ता आरोपबाट मुक्त हुन प्रयास गरिरहेको उपप्रमुख शाहले बताए।

प्रकाशित: ८ आश्विन २०७९ ०९:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App