२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ठेकदार भागेपछि गाउँपालिकाको प्रशासनिक भवन निर्माण अलपत्र

बाँकेस्थित जानकी गाउँपालिकाको अलपत्र प्रशासनिक भवन। तस्बिर: अर्जुन/नागरिक

बीचमै काम छाडेर ठेकदार भागेपछि बाँकेस्थित जानकी गाउँपालिकाको प्रशासनिक भवन अलपत्र परेको छ। प्रशासनिक भवन निर्माणको काम समयमै सम्पन्न नहुँदा कार्यालयको कामकाज गर्न समस्या भइरहेको छ। गाउँपालिकाको विभिन्न शाखाले दिने सेवा एउटै कोठा (हल)बाट दिने गरिएको छ।

तीन तले सुविधा सम्पन्न प्रशासनिक भवन बनाउन गाउँपालिकाले ५ करोड ९७ लाख रूपैयाँको लागत अनुमानमा ४ करोड २२ लाख ८४ हजार ८ सय १७ रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। ठेकदार कम्पनी ‘ठेगिम/श्रीकृष्ण/निशान जेभी’ कोहलपुर-११ बाँकेसँग २०७७ माघ २६ गते ठेक्का सम्झौता भएको थियो।

सम्झौताको म्याद २०७९ माघ ३० गतेसम्म रहे पनि अहिलेसम्म ५० प्रतिशत मात्र काम सम्पन्न गरेको कार्यालयका इन्जिनियर प्रजेशकुमार आलेले जानकारी दिए। ‘ठेकेदारले बनाउनुपर्ने तीन तलाको भवन हो तर अहिलेसम्म दोस्रो तल्ला मात्र ढलान भएको छ’-उनले भने।

ठेकेदार कम्पनीले २०७८ माघ ४ गते दोस्रो तला ढलान गरेको थियो। त्यसपछि काम पूरै ठप्प पारेर सम्पर्कविहीन भएको इन्जिनियर आले बताउँछन्। ठेकेदार सम्पर्कविहीन भएपछि गाउँपालिका कार्यालयले बारम्बार लिखित र मौखिक रूपमा ताकेता गर्दै आएको छ। यस्तै दुई पटक स्पष्टीकरण पनि सोधिएको छ।

कार्यालयका अनुसार काम अलपत्र पार्ने ठेकेदार कम्पनीले अहिलेसम्म २ करोड १ लाख भुक्तानी लिइसकेको देखिन्छ। पछिल्लो समयमा ठेकेदारलाई धेरै ताकेता गरेपछि ठेकदारले अलपत्र काम अगाडि बढाउने मौखिक सहमति गरेको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए।

‘ठेकदार कम्पनी सम्पर्कमा आएर काम गर्नेमा सहमत भएको छ’-उनले भने। सम्झौता अवधिभित्रै प्रशासनिक भवन निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको प्रमुख डाँगीले बताए। निर्माण सम्झौताका क्रममा पर्याप्त समय दिएकाले गाउँपालिका कार्यालय अब म्याद थप गर्ने  पक्षमा देखिँदैन।

गाउँपालिका अध्यक्ष छब्बन खाँ प्रशासनिक भवन नहुँदा जनतालाई सेवा दिन निकै समस्या भइरहेको बताउँछन्। ‘भवन नहुँदा अहिले कार्यालय र अन्य शाखाको कामकाज जसोतसो चलाइरहेका छौं,’ उनले भने-‘भवन चाँडो सम्पन्न भएपछि जनतालाई राम्ररी सेवा दिन सकिन्थ्यो।’ 

प्रकाशित: १९ भाद्र २०७९ ०२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App