४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

साताभरमा १५२ अंकले बढ्यो नेप्से

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो सातामा नेप्से परिसूचक डेढ सय अंकले बढेको छ।

मौद्रिक नीतिमा सेयर बजारलाई सकारात्मक प्रभाव पार्ने खालका नीतिगत व्यवस्था खासै नआए पनि कारोबार बढेको छ। मौद्रिक नीति अघिल्लो शुक्रबार आएको थियो।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार र सोमबारमा एक सय १५ अंकले बजार बढेकामा मंगलबार ४४ अंकले घटेको थियो। यस्तै बुधबार र बिहीबार गरी ३८ अंकले बढेको नेप्से शुक्रबार अन्तिम दिन १३ अंकले बढेको हो। समग्रमा साताभरमा परिसूचक १ सय ५२ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २१४०.५२ बिन्दुमा पुगेको छ।

एक्सचेन्जका अनुसार साताको अन्तिम दिन शुक्रबार पनि बजार दोहोरो अंकले बढेको हो। नेप्से २१३३ बिन्दुबाट दिनको कारोबार सुरु भएकामा लगत्तै उच्चदरले गिरावट आएर परिसूचक २११८ बिन्दुसम्म झरेको थियो। त्यसपछि पनि कारोबारमा उतारचढाव जारी नै रहेको थियो। दिनभरिमा सबैभन्दा धेरै २१४७ बिन्दुसम्म परिसूचक पुगे पनि बजार बन्द हुँदा २१४० मा रोकिएको हो।

एक्सचेन्जका अनुसार शुक्रबार नेप्से बाहेकका अन्य तीन प्रमुखमध्ये २ वटाको कारोबार बढेको छ भने एउटा सूचकको कारोबार घटेको छ। सेन्सेटिभ सूचक ३.८६ र सेन्सेटिभ फ्लोट ०.८९ बिन्दुले बढेका छन् भने फ्लोट सूचक ७.८४ अंकले घटेको छ।

यस्तै सेयर बजारका अन्य १३ उपसूचक मध्ये ४ वटाको कारोबारमा गिरावट आएको छ भने ९ वटा उपसूचक बढेका छन्। कारोबारमा सुधार आउने ९ उपसूचकमध्ये २ वटा मात्र एक सय भन्दा धेरै अंकले बढेका छन्। विकास बैंक १८१ र होटल तथा पर्यटन १०९ अंकले बढेका हुन्। यसपछि धेरै अंकले बढनेमा उत्पादन तथा प्रशोधन उपसूचक ३६ छ। यस्तै अन्य २३, लघुवित्त २० र फाइनान्स १९ अंकले बढेका छन्। व्यापार र बैंकिङ समान ३ अंकले बढेका छन्।

कारोबारमा गिरावट आउने ४ उपसूचकमध्ये सबैभन्दा धेरै अंकले घट्नेमा जीवन बिमा २४ छ। यस्तै निर्जीवन बिमा १५, जलविद्युत् २.४७ र सामूहिक लगानी कोष ०.१२ अंकले घटेका छन्। सेयर कारोबारलाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरै प्रतिशतले विकास बैंक उपसूचक बढेको छ। यो उपसूचक ४.६५ प्रतिशतले बढेको हो। यस्तै सबैभन्दा धेरै प्रतिशतले कारोबार घट्नेमा जलविद्युत् उपसूचक ०.१० अंक रहेको छ।

एक्सचेन्जका अनुसार कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिशतले सेयर मूल्य बढ्नेमा राष्ट्र उत्थान लघुवित्त परेको छ। यसको सेयर मूल्य १० प्रतिशतले बढेको हो। यस्तै एउटा कम्पनीको सेयर मूल्य ८ र अन्य ४ कम्पनीको सेयर मूल्य ६ प्रतिशतले बढेको छ।

यस्तै कारोबार भएका कम्पनीमध्ये सबै भन्दा धेरै प्रतिसेयर मूल्य घट्नेमा बुद्धभूमि जलविद्युत् कम्पनी परेको छ। यसको प्रतिसेयर मूल्य ३.४८ प्रतिशतले घटेको हो। यस्तै ५ वटा कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा धेरैले घटेको छ।

एक्सचेन्जका अनुसार रकमका आधारमा सबै भन्दा धेरै रकमको कारोबार शिवम् सिमेन्टको भएको छ। यसको १२ करोड ८६ लाख रूपैयाँको कारोबार भएको हो। यस्तै लुम्बिनी विकास बैंकको ९ करोड ३४ लाख रूपैयाँको कारोबार भएको छ।

यस्तै सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर लुम्बिनी विकास बैंकको भएको छ। यसका २ लाख २३ हजार ४ सय ५२ कित्ता सेयर बिक्री भएका छन्। यस्तै नेशनल हाइड्रोकोे २ लाख ४ हजार २ सय ८९ कित्ता सेयर बिक्री भएका छन्।

एक्सचेन्जका अनुसार शुक्रबार २१५ कम्पनीका ५१ लाख १० हजार ७ सय कित्ता सेयर बिक्री भएका छन्। यसका लागि २ अर्ब १९ करोड १३ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण ३० खर्ब ५६ अर्ब रूपैयाँमा रहेको छ। 

प्रकाशित: १५ श्रावण २०७९ ००:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App