निजी क्षेत्रले गरेको एक अध्ययनले गत आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासमा उद्योग व्यवसायको उत्पादन क्षमता खस्केको देखाएको छ।
नेपाल उद्योग परिसंघले गरेको अध्ययनले यो अवधिमा उद्योगहरूले आफ्नो कुल उत्पादन क्षमताको ६६.८१ प्रतिशत मात्र उपयोग गरेको देखिएको छ। दोस्रो त्रैमासमा यस्तो क्षमताको उपयोग ७१ प्रतिशत थियो।
परिसंघले नेपालका उद्योगहरूको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदन चौथो अंक सार्वजनिक गरेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सोमबार प्रतिवेदन सार्वजनिक गरे।
प्रतिवेदनमा गत आवको तेस्रो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक समेटिएको छ।
प्रतिवेदन अनुसार यो अध्ययन (माघ, फागुन र चैत) अवधिमा उत्पादनमूलक उद्योगले औषतमा १०.९६ प्रतिशत (गत वर्षको सोही अवधिमा ९.४ प्रतिशत थियो) र सेवा क्षेत्रका उद्योगले औषतमा १०.९२ प्रतिशत ब्याज तिरेको पाइएको छ। उत्पादनमूलक उद्योगहरूले आफ्नो चालु पूँजीको ३१ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ। अघिल्लो त्रैमासमा चालु पूँजी ३४.४ प्रतिशत ऋण लिएका थिए। अध्ययनमा सहभागी मध्ये ८४.५ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि तयार रहेको बताएका छन्।
प्रतिवेदनले गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा उद्योगको आय वृद्धिदर १२.८२ प्रतिशत रहेको देखाएको छ। दोस्रो त्रैमासमा उद्योगको आय वृद्धिदर २७.१ प्रतिशत थियो।
नेपाल उद्योग परिसंघले गरेको अध्ययनले यो अवधिमा उद्योगहरूले आफ्नो कुल उत्पादन क्षमताको ६६.८१ प्रतिशत मात्र उपयोग गरेको देखिएको छ।
परिसंघका अनुसार प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री बडूले यस प्रकारको नियमित औद्योगिक प्रतिवेदनले नेपालको औद्योगिक वातावरणको चित्रण गर्न सहयोग पुग्ने उल्लेख गरे। उनले उद्योगमा प्रयोग हुने जेनेरेटरले खपत गर्ने तेलको परिणाम प्रष्टाउने र हाल उद्योगमा रहेका कोइलाबाट चल्ने बोइलरलाई बिजुलीबाट प्रतिस्थापन गर्न लाग्ने लागतको सन्दर्भमा समेत अनुसन्धान हुन जरुरी रहेको बताए।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजारमा माग उल्लेख्य गिरावट आएको र यसले उद्योगको आयमा ह्रास ल्याएको बताए। उनले यसप्रति संवेदनशील हुन सरकारलाई आग्रह गरे। निजी क्षेत्रको तर्फबाट नेपालमै पहिलो पटक परिसघंले सर्वेक्षण गरेर औद्योगिक प्रतिवेदन सार्वजनिक गर्ने गरेको अग्रवालले बताए।
परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रतिवेदनले उद्योगको अवस्थाबारे जानकारी दिने र यसलाई हरेक त्रैमासमा प्रकाशन गर्दै लगिएको बताए। यस्ता प्रतिवेदनले निजी क्षेत्रमाथिको विश्वसनीयता अभिवृद्धि गर्न सहयोग गर्ने उनको भनाइ छ।
परिसंघ अन्तर्गतको रिसर्च सेलले उद्योगहरूसँगको सर्वेक्षणको आधारमा प्रतिवेदन तयार पारेको हो। यो प्रतिवेदनले नेपालमा तथ्यमा आधारित नीति निर्माणका लागि सहयोग गर्ने परिसंघको विश्वास छ। उद्योगसँग चासो राख्ने सम्पूर्ण सरोकारवालाका लागि प्रतिवेदन महत्वपूर्ण अध्ययन सामग्रीको रूपमा उपयोगी हुने विश्वास परिसंघको छ।
प्रकाशित: ३ श्रावण २०७९ ०२:४७ मंगलबार