निजी क्षेत्रको वायुसेवा कम्पनि यति एयरलाइन्सले आन्तरिक उडानका यात्रुलाई ‘इन्फ्लाइट इन्टरटेन्मेन्ट’ सेवा दिलाउने भएको छ। आन्तरिक उडानमा पहिलोपटक यति एयरलाइन्सले यो सेवा दिन थालेको हो।
एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाका अनुसार यात्रुलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्न यो सेवा प्रदान गर्न थालिएको हो। ‘अब हरेक यात्रुले आफ्नै मोबाइलमा भिडियो हेर्दै यात्रा गर्न पाउनु हुनेछ,’ बर्ताैलाले भने। उनका अनुसार इन्फ्लाइट मनोरञ्जनका लागि जहाज भित्र हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो, गीत–संगीत, भिडियो गेम, विज्ञापन तथा पुस्तक सामग्रीहरु राखिनेछ। ‘यति एअरलाइन्ससँग अबको यात्रा झनै रमाइलो हुनेछ,’ उनले भने।
बर्ताैलाका अनुसार जहाजभित्र भिन्दै डिभाईस राखिन्छ, त्यो डिभाइससँग मोबाइल वा ल्यापटपको कनेक्सन गर्न सकिनेछ। त्यसपछि सेवा लिन सहज हुने उनले बताए। ‘परीक्षण गरेका छौं। हामीले छिटै नै यो सेवा दिनेछौं,’ उनले भने। बर्ताैलाका अनुसार यस सेवा अन्तर्गत मनोरञ्जनात्मक सामग्री मात्र नभई फ्लाइटबाट होटल पनि बुक गर्न मिल्ने, अनलाइन सपिङ गर्न पनि सकिनेछ।
इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुचारु गर्ने उद्देश्यले आवश्यक तयारी र परीक्षण भइरहेको र परीक्षणपछि यती एअरलाईन्सको सम्पूर्ण जहाजमा यो सुबिधा उपलब्ध हुने कम्पनीले जनाएको छ।
प्रकाशित: २१ असार २०७९ ०७:५४ मंगलबार