२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सबै काम सकियो

उडान र अवतरणका लागि तयार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल। तस्बिरः नागरिक

निकै नै चाँसोका साथ हेरिएको राष्ट्रिय गौरवको आयोजनामा पर्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पूर्वाधारतर्फको सम्पूर्ण काम सकिएको छ। विमानस्थल हवाई उडान र अवतरणका लागि पूर्ण रुपमा तयार भएको आयोजनाले बताएको छ। आपतकालीन अवस्थामा अब यो विमानस्थलबाट उडान र अवतरण गर्न सकिने भएको छ।

विमानस्थलका लागि अब आन्तरिक रुपमा गर्नुपर्ने काम बाँकी छैन। पूर्वतर्फ आधाकिलोमिटर क्षेत्रमा तारबार र आन्तरिक भवनमा सरसफाई गर्ने बाहेक सबै काम पूरा भएको आयोजनाका उपप्रबन्धक इन्जिनियर कृष्णप्रसाद पौडेलले जानकारी दिए। ‘केही क्षेत्रमा तारबार र आन्तरिक सरसफाई बाहेक गर्नुपर्ने आन्तरिक काम केही बाँकी छैन। एउटा ‘ए’ ग्रेडको विमानस्थल तयार भएको छ,’ पौडेलले भने, ‘गर्व गर्नलायक पूर्वाधार तयार भएको छ।’

उनका अनुसार अब विमानस्थलका लागि आवश्यक पूर्वाधार बनाउन बाँकी छैन। थप संरचना बनाउनु पर्ने आवश्यकता महसुस भएमा बाहेक योजनामा रहेका सबै काम पूरा भएको उनले बताए। पौडेलका अनुसार भौतिक पूर्वाधारसँगै उपकरण जडान, परीक्षण, कर्मचारीको प्रशिक्षण लगायतका काम पनि अहिले भईरहेका छन्। प्रशिक्षणमा रहेका कर्मचारीलाई अभ्यस्त बनाउने काम भईरहेको छ। विमानस्थलका लागि तीनवटा अग्नी नियन्त्रक साधन (बारुणयन्त्र) पनि भित्रिएका छन्।  

‘पोखराको विमानस्थल पूर्ण रुपमा तयार भएको छ। बाह्य क्षेत्रमा हुनुपर्ने बाहेक भित्रिखण्डका काम सकिएका छन्,’ उनले भने, ‘गर्नुपर्ने ठुलो आकारको काम केही बाँही नहुनु नै पूर्वाधार तयार हुनु हो। बाहिरी काम सम्बन्धित निकायले गर्नुपर्छ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। गत जुलाई १० मा काम सक्नेगरि विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनि चाइना सिएएमसीईले शिलान्यासको डेढवर्षपछि काम थालेको थियो। यो बीचमा कोरोना भाइरस संक्रमण फैलियो । तरपनि चिनियाँ कम्पनिले निर्माणलाई गति दिई नै रह्यो।  

कोरोनाको अप्ठेरोका बाबजुत पनि निरन्तर खटिँदा ९३ प्रतिशत काम पूरा भएपछि गत चैत तेश्रो साता निर्माण कम्पनिले महत्वपूर्ण पूर्वाधार सकिएको भन्दै विमानस्थलका पूर्वाधार नेपाललाई हस्तान्तरण गरेको थियो। कोरोनाको अप्ठेरोले तोकिएको समयमा सबै काम नसकिएपछि एकवर्षका लागि थपिएको म्याद आगामि जुलाई १० का सकिन्छ। तर, विमानस्थल अहिले पूर्ण रुपमा तयार भइसकेको छ।  

विमानस्थलबाट न्यारोबडी एयरबस ३२० र बोइङ ७५७–२०० जहाज उडान र अवतरण गर्न सक्छन्। यी जहाज २ सय सिट भन्दा कम यात्र क्षमताका हुन्। यो विमानस्थलले ३ वटा ठुला र ८ वटा साना गरि ११ वटा जहाज पार्किङ गर्न सक्छ। विमानस्थलको धावनमार्ग २५ सय मिटर र चौडाई ४५ मिटर तथा धावनमार्गको मोटाई ३४ सेन्टिमिटर छ। विमानस्थलसँग व्यस्त समयमा प्रतिघण्टा ६ सय १० जना यात्रु व्यवस्थापनको क्षमता छ। १४ हजार वर्ग मिटरको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेको पौडेलले बताए।

विमानस्थल निर्माण भएपनि जहाजका लागि आवश्यक इन्धन डिपो भने विमानस्थल परिसर भित्र बनेको छैन। पोखराकै हाल चालु विमानस्थलबाटै आयल निगमले अन्तर्राष्ट्रिय विमानस्थलसम्म इन्धन ढुवानी गरिदिने आश्वासन दिएको पौडेलले बताए। दुइवटा विमानस्थलको दूरी करिब तीनकिलोमिटर छ। ‘आयल निगमले चालु विमानस्थलबाटै इन्धन आपूर्ति गरिदिने बताएको छ। त्यसका लागि निगमले इन्धन क्षमता वृद्धि पनि गरेको छ,’ उनले भने, ‘इन्धन आपूर्तिमा कुनै अप्ठेरो नहुने विश्वस्त पारेको छ।’

विदेशी निर्माण कम्पनिले विमानस्थल पूर्णता दिएपनि नेपाल सरकार र स्थानीयतहले गर्नुपर्ने महत्वपूर्ण कामको भने अहिलेसम्म टुंगो लागेको छैन। ती कामको सुरुवात नै भएको छैन। काम कहिले सकिन्छ भन्ने कसैलाई थाहा छैन। स्वदेशी निकायले काम फत्ते गरेपछि मात्र विमानस्थल संचालनमा आउने, अन्यथा ढिलो हुने भएपनि ती निकायले तदारुकता देखाएका छैनन्। हवाईजहाजको पहुँचमार्गमा पर्ने लेखनाथको रिट्टेपानी डाँडा कटान, विमानस्थल नजिकैको ल्याण्डफिल साइट व्यवस्थापन, विमानस्थलमा भित्रिने भेलबाढी व्यवस्थापन, आउजाउँमा पहुँच पुग्नेगरि सडक बिस्तार लगायतका मुख्य काम बाँकी नै छन्।  

पहुँचमार्गमा पर्ने रिट्टेपानीको डाँडाको चुचुरोबाट ४० मिटर तलसम्म काट्नुपर्छ। डाँडा कटान गर्नुपूर्व गरिने वातावरणीय प्रभाव मूल्यांकन (इआइए)को प्रक्रिया चलिरहेको छ। इआइए स्वीकृत नभई कटान सुरु हुँदैन। स्वीकृत भएपछि पनि टेण्डर आव्हान गरेर सुरु गर्दा अझै केही महिना लाग्ने आयोजनाका पदाधिकारीको अनुमान छ। डाँडाको १४ मिटर उचाई घटाएपछि बल्ल क्यालिब्रेसन फ्लाइट सम्भव हुन्छ। तर, नियमित उडान–अवतरणका लागि १२ देखि ४० मिटर उचाइ घटाउनुपर्छ। डाँडा कटान गर्दा ६ सय रुख पनि काटिनेछन्।  

यस्तै विमानस्थलको अर्काे समस्या हो भेलबाढी नियन्त्रण हो। वर्षायाममा बजारतिरबाट सोहोरिएर गएको भेलबाढीले विमानस्थलको पूर्वि भेगमा क्षति पुर्‍याउने गरेको छ। आयोजनाले नै भित्रिखण्डको भेल व्यवस्थापनको लागि नालाको आकार बढाएको छ भने बाहिरी काम भने थाती रहेको छ, जुन सिंचाई विभागको जिम्मा हो।  

विमानस्थलको अर्काे टड्कारो समस्या हो नजिकैको ल्याण्डफिल साइट स्थानान्तरण। ल्याण्डफिल साइट व्यवस्थापन विमानस्थल संचालनको सबैभन्दा ठुलो बाधक मानिएको छ। तर, वर्षाैदेखिको यो समस्या ज्यूँ का त्यूँ छ। पोखरा महानगरले वर्षाैदेखि सहरको फोहर व्यवस्थापन गरिरहेको बाच्छेबुडुवास्थित ल्याण्डफिल साइट विमानस्थलबाट करिब दुईकिलोमिटर दूरीमा पर्छ।  

पोखरा महानगरपालिका –१४ बाच्छेबुडुवा ल्याण्डफिल साइट नजिक पर्ने भएकोले त्यहाँका चराचुरुङगी आहारा खोज्दै, घाम ताप्न र उड्ने क्रममा विमानस्थल नजिक बाक्लै आउजाउ गर्छन्। बेलाबेला गिद्धको बथानै निर्माणाधिन विमानस्थलको धावनमार्ग क्षेत्रमा आइपुग्छन्। ल्याण्डफिल साइट व्यवस्थापन नगरेसम्म उडान सुरु नहुने पदाधिकारीले बताउँदै आएका छन।  

पोखरा महानगरका नवनियुक्त मेयर धनराज आचार्यले पोखराको फोहर व्यवस्थापनका लागि तत्काल कदम चाल्ने बताएका छन्। ल्याण्डफिल साइट व्यवस्थापनमा महानगरको प्राथमिकतामा रहेको उनले बताए। ‘ल्याण्डफिल साइट व्यवस्थापनमा हामीले तत्कालै ध्यान दिनेछौ,’ उनले भने। आचार्यको चुनावी घोषणापत्रमा पनि ल्याण्डफिल साइट व्यवस्थापन गर्ने भने थियो। अबका ६ महिनाभित्र विमानस्थल संचालन गर्नेगरि काम गर्ने पनि उनले बताएका छन्।  

विमानस्थल बनाउन झन्डै २२ अर्ब रुपैयाँ लागत अनुमान छ। यो रकम अर्थ मन्त्रालयले चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकसँग सहुलियत ऋणका रुपमा लिने सहमति छ। वान–वे एप्रोचको यो विमानस्थलमा पुर्वबाट मात्र जहाज अवतरण गर्न सक्छन्। पूर्वतिरै फर्केर टेकअफ गर्नेगरि विमानस्थल बनेको छ। नेपाल नागरिक उड्ययन प्राधिकरण र सिएएमसीइ बीचको सम्झौतामा इपिसि (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन) को मापदण्ड अनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने सहमति भएको थियो।  

चारदशकअघि पोखरा–१४, १५ र १८ वडा को ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो। त्यसले नपुगेपछि थप ५ सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। त्यसले पनि नपुगेपछि विमानस्थल वरिपरि १० किलोमिटर सडक बनाउन थप ६० रोपनी जग्गा अधिग्रहण गरेर विमानस्थल बनाउन थालिएको थियो।

प्रकाशित: १३ जेष्ठ २०७९ ०९:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App