१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

नयाँ वर्षमा पनि सुनसान नाढीमन तर गुल्जार छ भरत ताल

सर्लाहीमा रहेका दुई ताल अहिले चर्चामा छन्। सर्लाहीको पुरानै तालको रुपमा रहेको नाढीमन ताल विशाल भएर पनि खासै पर्यटक नआउँदा उदास छ भने भरत तालमा बिहानैदेखि पर्यटकको चाँप छ।

चन्द्रनगर गाउँपालिका-७ मा रहेको ५२ बिगाहा क्षेत्रफलमा फैलिएको ऐतिहासिक नाढिमन ताल संरक्षण अभावमा दिनदिनै अतिक्रमको चपेटामा पर्दै आएको छ। तालकै जग्गामा गाउँपालिका भवन मात्रै होइन करिव ८० घर परिवार वर्षौदेखि अतिक्रमण गरेर बसिरहेका छन्।

अतिक्रमण गर्नेमा मुसहर, ढागर, पासवान लगायत अति बिपन्न र दलित समुदाय रहेका छन्। तालको जग्गा संरक्षण अभावमा दिनदिनै अतिक्रमण हुँदै गएको छ। अहिले तालको ३४ बिगाहा क्षेत्रमा मात्र पानी रहेको र केही भागमा डिल रहेको बाकी अतिक्रमणको चपेटामा परेको स्थानीय चन्देश्वर महतो बताउँछन्।

चन्द्रनगरमै घर भएर जनकपुरबाट चुनाव जितेका संघीय सांसद राजेन्द्र महतो, उनकै जेठा दाजु चन्द्रनगर गापा अध्यक्ष महेन्द्र महतो छन्। त्यति मात्रै नभएर गापा अध्यक्ष महतोकै छोरा सर्लाही क्षेत्र २(क)का प्रदेश सांसद उपेन्द्र महतो हुन्। एकै घरका तिनै तहमा प्रतिनिधित्व गर्ने जिम्मेवार माननीय, प्रदेश सासद र गापा अध्यक्ष हुँदाहुँदै पनि नाढिमन ताल संरक्षण हुन सकेको छैन।

ताल संरक्षणको कुरो परै जाओस्, झन् अतिक्रमण हुँदै गएको अर्का स्थानीय राम प्रवेश महतो सुढी गुनासो गर्छन्। सयौँ वर्ष पहिले नाढिमन ताल दैदनबाले खनेको विश्वास स्थानीयबासीको छ । पहिले केही पर्यटक आउने गरेको भए पनि तालको संरक्षण हुन नसक्दा पर्यटकीय गतिविधि हुन नसकेको आरोप स्थानीयको रहेको छ।

स्थानीय तहको संरचना अगावै नेपाली सेनाले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत करिव एक करोड पचास लाखको हाराहारीमा खर्च गरेर डिल निर्माण, पिकनिक स्पट, शौचालय, सिमेन्टको बेन्ची, प्लास्टिकको १० ओटा बोट लगायतका सामग्री निर्माण गरेका थिए। अहिले सेनाले निर्माण गरेको अधिकांश संरचना संरक्षणको अभावमा भत्किन सुरु भएको छ।

स्थानीय सरकारले संरक्षण नगर्दा एउटै बोट पनि चल्ने अवस्थामा नरहेकोस्थानीय रामचन्द्र महतो सुढी बताउँछन्। गाउँपालिकाले पंचवर्षीय तालको ठेक्का छ करोड १९ लाख रुपैयाँमा लगाएको छ। स्थानीय दुलार मुखिया बिनलाई वार्षिक सवा करोड रुपैयाँ बुझाउने सर्तमा तालको ठेक्का दिएको स्थानीय बताउँछन्।

अर्का स्थानीय समाजसेवी राजकुमार महतो भन्छन्, नाढिमन ताल संरक्षणको लागि संघीय, प्रदेश र स्थानीय सरकारले बजेट खर्च गरेको सुन्नमा आएको तर एउटा चिल्ड्रेन पार्क निर्माणधिन अवस्थामा रहेको बाकी बजेट दुरुपयोग भएको छ।

उनी भन्छन्, 'नाढिमन ताल नजिकै एउटा सार्वजनीक कार्यक्रममा यहाँका समाजका अगुवाहरुले गापा अध्यक्ष महतोले साढे चार करोड रुपैयाँ खर्च गरेको दाबी गरेका थिए तर त्यो रकम खर्च कहाँ भयो कतै देखिदैन। प्रदेश सरकारबाट प्राप्त एक करोड ८० लाख रुपैयाँको लागतमा चिल्ड्रेन पार्क निर्माणाधीन अवस्थामा रहेको काम बाहेक कतै केही काम नभएको ऐतिहासिक ताल संरक्षण अभावमा बाहिरी पर्यटकको कुरो त पर जाओस् स्थानीयहरु पनि यहाँ आउन छाडेका छन्।'

तालमा केही वर्ष पहिलेसम्म देखिन जलचरहरु हराएको गुनासो स्थानीयको रहेको छ। संरक्षणको अभावमा विशाल ताल चर्चाबाट पनि हराउँदै गएको अवस्थामा सर्लाहीकै वागमतीमा भर्खर मानव निर्मित भरत तालले निकै चर्चा कमाएको छ। सर्लाहीको वागमती नगरपालिकामा रहेको भरत ताल निर्माणाधीन अवस्थामै मासिक लाखौ पर्यटक तान्न सफल भएको छ।

ऐतिहासिक नाढीमन तालमा कोही नआउनु तर भरत तालमा भने दैनिक हजारौँ पर्यटक पुग्नुमा स्थानीय सरकारको कमजोरी रहेको आरोप रहेको छ। हामी कति खुसी थियौ देशकै राष्ट्रिय राजनीति, प्रादेशिक राजनीति तथा स्थानीय सरकारमा पनि स्थानीय सबै कुरा बुझेका प्रतिनिधिलाई पठाउँदा। एक स्थानीय भन्छन्, तर स्थानीय पर्यटन प्रवर्द्धन तथा पालिकाको पहिचानमा सबै पक्ष पूर्णतया चुकेको छ।

गापा प्रमुख महेन्द्र महतोले नाढिमन ताल संरक्षणमा गापाले धेरै प्रयास गरेको र सोचे अनुसार काम गर्न नसकेको बताउँछन्। स्थानीयको अवरोधको कारण काम गर्न कठिनाइ भएको गापा अध्यक्ष महतोको भनाइ छ। नाढिमन तालमा गापाले जलकुम्भी, मन्दिर रङ्गरोगन, चिल्ड्रेन पार्क, नाला, शौचालय र सडक बिस्तार गरेको दाबी गर्दै गापा प्रमुख महतोले सोचे अनुसार संतोषजनक काम गर्न नसकेको बताए।

वागमती नपा १२ र ४ मा गरी दुई वडाको करिव १२१ बिगाहा क्षेत्रफलमा फैलिएको भरत तालमा दैनिक हजारौँ पर्यटक पुगिरहेका छन्। गत जनवरी १ तारिखका दिन अंग्रेजी नयाँ वर्ष मनाउन एक लाख पर्यटक भरतताल घुम्न आएका थिए। यसैगरी माघे संक्रान्तिका दिन पनि करिव ३५ हजार पर्यटक घुम्न आएका थिए।

भरत तालमा अहिले २० जना बस्न मिल्ने तिन वटा, साना साना २७ र एक सय २० जना अटाउने एउटा बोट सञ्चालनमा रहेका छन्। भरततालमा घुम्न आउने पर्यटकका लागि अनलाइनबाट समेत टिकट बुक गर्ने व्यवस्था मिलाइएको बागमती नगरपालिका कम्प्युटर अपरेटर सन्तोष गदालले जानकारी गराएका छन्।

आफ्नै सफ्टवेयर बनाएर अनलाइनमार्फत् टिकट बुक गरेर भरतताल घुम्न आउने व्यवस्था मिलाएपछि धेरै सजिलो भएको गदाल बताउँछन्। नगर प्रमुख भरतबहादुर थापाको नेतृत्वमा भरतताल र आसपासको क्षेत्रले सयौँलाई रोजगारी दिइसकेको छ भने नगरपालिकालाई पनि ठूलो आम्दानीको स्रोत बनिसकेको छ।

प्रकाशित: १ वैशाख २०७९ १२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App