९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

नेटवर्कको सिग्नल छ, फोनले कामै गर्दैन

नलगाड नगरपालिकाका–८ की विष्णुकुमारी खत्रीले निजी प्रदायक कम्पनी एनसेलबाट फोन गर्दा हैरानी खेप्नुपरेको छ। उनको मोबाइलमा नमस्तेको नेटवर्क सधैँ आउँछ तर फोन गर्नका लागि एनसेल नै प्रयोग गर्नुपर्ने बाध्यता रहेको खत्रीले बताइन्।

नमस्ते प्राविधिको नेटवर्क प्रयोग गरेर फोन गर्दा आवाज नबुझिने, फोन डायल गर्नेबित्तिकै नलाग्ने समस्याले गर्दा सेवाग्रही हैरान भएको खत्रीले पीडा सुनाइन्। 'एनसेल महङ्गो छ, तर राम्रो कुरा आवाज सुनिने भएकाले त्यही प्रयोग गर्नुपर्ने बाध्यता छ', उनले भनिन्।

उनी जस्तै नलगाडका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीलाई समेत फोन नलाग्ने र लागे पनि नबुझिने समस्याले गर्दा दिक्क लागेको छ। फोनमा समस्या आएको कुरा नेपाल टेलिकमलाई जानकारी पनि गराएको छ तर, टेलिकमले त्यो गुनासो सुने पनि नसुनेझै भएको छ।

फोर जी सेवा विस्तारसँगै फोनमा समस्या आएको सेवाग्राहीको गुनासो छ। बिहान र बेलुकी मात्र थोरै भए पनि काम गर्ने गरेको तर दिनमा कामै नगर्दा आफूहरू हैरान भएको नलगाड–८ कै फत्तबहादुर खत्रीले जानकारी दिए। यो समस्या भएको दुई महिना बढी भइसके पनि सुनुवाइ नभएको बारेकोट गाउँपालिका–५ का जनकबहादुर शाहीले जानकारी दिए।

सदरमुकामकै अधिकांश ठाउँमा फोनले काम नगरेको गुनासो धेरै आउने गरेको छ। उता रुकुमपश्चिम आठबीसकोट नगरपालिकाको गोतामकोटमा रहेको टावरमा समस्या आउँदा त्यसको नेटवर्क डोल्पाको मुड्केचुलामा समेत भएकाले दुवै ठाउँमा फोन सेवा अवरुद्ध भएको छ। पहिले फोनले काम गर्ने ठाउँमा अहिले फोनले काम छाडेको सर्वसाधारण बताउँछन्।

जिल्लाका अधिकांश ठाउँमा नेपाल टेलिकमको टावर रहे पनि भरपर्दो काम नगर्दा सेवा लिने आम नागरिक पीडा सुनाउँछन्। वर्षामा आकाशमा बादल देखिनेबित्तिकै टावर बन्द हुने, हिउँदमा फोन नै नबुझिने समस्याले गर्दा आफूहरु हैरान भएको बारेकोट–४ का जयलाल बोहराले बताए।

प्रकाशित: ३० चैत्र २०७८ ११:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App