२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पदयात्रा क्षेत्रः साढे चारमहिनादेखि बेपत्ता छन् इजरायली पर्यटक

पदयात्रा क्षेत्रमा सम्पर्कविहीन भएका इजरायली पर्यटक योङ किडरोन। तस्बिर सौजन्यः एक्याप

अन्नपूर्ण र मनास्लु क्षेत्रको पदयात्रामा निस्केका एकजना इजरायली पर्यटक साढे चारमहिनादेखि सम्पर्कविहीन छन्। इजरायलका नागरिक योङ किडरोन (५०) साढे चारमहिनादेखि पदयात्रा क्षेत्रबाट हराएका हुन्। किडरोनका परिवारले खोजि गरिदिन नेपालस्थित पदयात्रा व्यवसायी सहित अन्नपूर्ण र मनास्लुक्षेत्र आयोजनासँग आग्रह गरेका छन्।  

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का संरक्षण अधिकृत अजित तुम्बाहाम्फेका अनुसार किडरोनले गत २४ सेप्टेम्बरमा मनास्लुको फिलिममा इन्ट्रि गरेका थिए। उनले १० दिनका लागि मनास्लु क्षेत्र पदयात्राको अनुमति लिएका थिए। अक्टोबर ४ मा उनले मनास्लु क्षेत्र छाड्नुपर्नेमा १७ दिन ढिलागरि अक्टोवर २१ मा मात्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को मनाङस्थित धारापानीमा अन्तिम पटकइन्ट्रि गरेका थिए। एम्क्यापको लार्केपास हुँदै एक्यापमा जोडिने ठाउँ नै धारापानी हो। त्यहाँ चेकपोष्टमा इन्ट्रि गरेका उनी त्यसपछि सम्पर्कमा नभएको तुम्बाहाम्फेले बताए।  

‘दश दीनका लागि मात्र अनुमति लिएपनि उसले धेरै समय मनास्लु क्षेत्रमा बिताएको देखिएको छ। ती विदेशी होटलमा नबसी गाउँमा पसेको र त्यतै बसेको अनुमान छ। होटलम बस्दा थाहा हुन्छ, तोकिएको भन्दा बढी समय बस्न पाँइदैन,’ उनले भने, ‘धारापानीमा अन्तिम पटक इन्ट्रि गरेपछि उनी कतै देखिएका छैनन। एक्यापको अरु क्षेत्रमा गएको भए कतै न कतै इन्ट्रि हुनुपर्ने हो, तर कतै पुगेका छैनन। एम्क्यापमा फर्किने सम्भावना रहन्न।’

उनका अनुसार अर्ध निषेधित क्षेत्रमा पर्ने गोरखाको मनास्लु क्षेत्रको जगतदेखि माथि जान गाइड चाहिन्छ। तर, ती पर्यटकले गाइडलाई पनि छलेर हिडेको उनले बताए। ‘परिवारसँग पनि उसको सम्पर्क छैन, नेपालबाट हवाई माध्यमबाट पनि फर्केको विवरण भेटिन्न,’ उनले भने, ‘स्थलमार्ग हुँदै भारत पसेको भए भन्न सकिएन। कि भारत पसे, नत्र कतै भवितव्यमा परेको हुनसक्छ। खोजि भईरहेको छ । दुतावास र परिवारबाट अहिले खोजिका लागि आग्रह गरेका छन।’  

ती इजरायली पर्यटक सालोम ट्रेक्सबाट पदयात्रा अनुमतिपत्र बनाएर मनास्लुक्षेत्र निस्केका थिए। सालोम ट्रेक्सका संचालक देव रेग्मीका अनुसार उनी एक्लै आएका थिए। मनास्लु क्षेत्रमा एक्लै जान नपाउने भएपछि उनी इजरायलकै अरु पर्यटकसँग मिसिएर पदयात्रामा जाने भनेर निस्केका थिए। काठमाडौंबाट तनहुँको बन्दीपुर हुँदै उनी गोरखा प्रवेश गरेका थिए। 

‘मनास्लु क्षेत्र घुमेर एक्यापको धारापानी निस्केको थाहा भएको छ, त्यसपछि उनी सम्पर्कमा छैनन,’ रेग्मीले भने। उनका अनुसार मनास्लु क्षेत्रमा १० दिनका लागि मात्र अनुमति लिएपनि ती पर्यटकले थप १७ दिन बिताएको देखिएको छ। ‘सेप्टेम्बर २४ देखि अक्टोबर ४ (१० दिन) का लागि मनास्लु क्षेत्र घुम्नेगरि अनुमति लिएपनि उनी १७ दिन ढिलागरि अक्टोबर २१ मा बल्ल धारापानी झरेका थिए, त्यसपछि भने सम्पर्कमा छैनन,’ रेग्मीले भने।  

रेग्मीमा अनुसार मनास्लु क्षेत्रमा एक्लै पदयात्रामा जान नपाइने भएपछि अर्काे समुहसँग मिलेर जाने भनेर अनुमति लिएपनि बीचमा एक्लै भागिदिएका थिए। ‘अनुमति लिएपछि समुहमा नरहि एक्लै हिडिदिएछन। इजरायलकै अर्काे समुहसँग हिड्ने भनेर अनुमति लिएपनि बीचमा समुहलाई छाडिदिएकोले यो अवस्था आएको हो,’ उनले भने, ‘मनाङको धारापानीबाट बाहिरिएको त्यहाँको रेकर्डले देखाएको छ। त्यसपछि सम्पर्कमा छैनन।’  

उनका अनुसार ती पर्यटक मनास्लु क्षेत्रको फिलिमपछि सम्पर्कमा थिएनन। ‘अर्काे समुहसँग छुट्टिएर एक्लै हिड्ेको देखिएको छ,’ उनले भने, ‘हामीले त समुहमा पठाएका हौ, तर, बीचमा समुह छाडेर भागिदिँदा यो अवस्था आएको हो।’ धारापानी निस्केपछि अन्नपूर्ण क्षेत्रमा प्रवेश हुने भएपनि त्यसपछि सम्पर्कमा नभएको उनले बताए। अन्नपुर्ण क्षेत्रको मनाङ खण्डमा एक्लै पनि हिडडुल गर्न पाइन्छ। ‘बीचमै १७ दिन लुकेर बसेको आशंका छ। किनकी तोकिएको भन्दा बढी समय मनास्लु क्षेत्रमा बिताएको देखिन्छ। अन्नपूर्णमा धारापानी बाहेक अन्त कतै इन्ट्रि छैन,’ उनले भने। रेग्मीले एक्लो विदेशीलाई उसैको अनुरोधमा समुहमा मिसाएर पदयात्रामा पठाएको भएपनि बीचबाटै भाग्दा समस्या परेको बताए।  

एक्यापमा जोमसोमस्थित संरक्षण अधिकृत ऋषि बरालले पनि एक्याप क्षेत्रमा ती पर्यटकको विवरण धारापानी बाहेक अन्यत्र नभएको बताए। ‘मनास्लु क्षेत्र घुमेर अन्नपूर्णमा प्रवेश गर्नेगरि धारापानी निस्केको विवरण छ। मनाङ हुँँदै अन्नपूर्ण फेरो घुमेर मुस्ताङ निस्कन सक्थे, तर, ती पर्यटकको सम्पर्क धारापानीपछि कतै छैन,’ बरालले भने, ‘धारापानीबाट चेकआउट भएको विवरण छ। तर, अन्नपूर्ण फेरो घुमेको विवरण छैन।’ परिवारले ट्रयाक गर्दा मनाङको धारापानीमा अन्तिम सम्पर्क भएको भन्ने मात्र रहेको उनले बताए।

‘साढे चारमहिनादेखि एकजना विदेशी पर्यटक सम्पर्कविहीन छन। उनको खोजीका लागि अहिले सबैतिर जानकारी पठाएका छौ,’ बरालले भने, ‘पदयात्रा क्षेत्रमा एक्लै हिड्दा यस्तो समस्या आउन सक्छ। उ समुहमा नहिड्दा जोखिम निम्तिएको हुनसक्छ।’ उनका अनुसार एक्लै पदयात्रामा जाँदा उच्च हिमाली भेगमा बिरामी पर्ने, वनजंगलमा हराउने, जंगली जनावरको आक्रमणमा पर्ने, लुटिने, खोलानालामा बग्ने लगायतका जोखिम हुन्छ। ‘गाइडबिना एक्लै हिड्नै नपाउने ठाउँमा पनि पर्यटकले जर्बजस्ती गरेको देखिएको छ,’ उनले भने।  

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष सुशील पौडेलले पनि मनास्लु क्षेत्रमा पदयात्रामा जाँदा गाइड अनिवार्य रहेको बताए। ‘मनास्लुमा समुहमा हिड्नुपर्छ। एक्लै परमिट लिन पनि पाइदैन। कुनैपनि पदयात्रा कम्पनि बिना अनुमति पाइदैन’ उनले भने। अर्काे समुहमा मिसाएर पदयात्रा गराउँदा विशेष ध्यान दिनुपर्ने उनले बताए। ‘एक्लो पदयात्रा जोखिमपूर्ण हुन्छ।

 यहाँ कागजी प्रक्रिया समुहमा भयो, तर, पदयात्री एक्लै हिड्दा झनै जोखिम थपियो,’ पौडेलले भने, ‘यस्ता घटनाले पर्यटन क्षेत्रमा नेपालको पदयात्रा रुट असुरक्षित रहेको भन्ने सन्देश पुग्छ।’ साढे चारमहिनादेखि एकजना पर्यटक बेपत्ता भएको देखिँदा यसबारे संवेदनशील हुनुपर्ने उनले बताए। पर्यटक हराएको मुद्धा यो नै पहिलो नभएको उनले बताए। ‘पर्यटक हराउनु पर्यटन क्षेत्रका लागि राम्रो सन्देश होइन, यसबारे सचेत हुनुैपर्छ,’ उनले भने। 

प्रकाशित: २५ फाल्गुन २०७८ १०:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App