४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोखरा हवाई सञ्जालमार्फत ठुला सहरसम्म जोडिँदै

पोखरा–जनकपुर उडान शनिबारदेखि सुरु

पोखराबाट जनकपुर उडानको तयारीमा रहेको बुद्ध एयरको जहाज। तस्बिरः सन्तोष /नागरिक

पोखरा विमानस्थलबाट हुने नियमित हवाई सेवा सातवटा ठुला सहरसम्म बिस्तार भएको छ। निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनि बुद्ध एयरले पोखरालाई सातवटा ठुला सहरमा हवाई सञ्जालमार्फत जोडेको हो। बुद्धले सातौ सहरको रुपमा शनिबार पोखरा–जनकपुर सिधा हवाई उडान सुरु गरेपछि मधेसँगको पहुँच सहज भएको छ।  

बुद्धले साताको तीनदिन पोखरा–जनकपुर रुटमा उडान गर्ने बताएको छ। बुद्धका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले पोखरा–जनकपुर सातामा तीनदिन (शनिबार, सोमबार र बुधबार) उडान गर्ने जानकारी दिए। पहिलो चरणमा सातामा तीनदिन र यात्रु संख्या बढ्दै गएमा दैनिक उडान गर्ने बुद्धको योजना रहेको उनले बताए। १८ सिट क्षमताको जहाजबाट उडान थालिएको उनले बताए।  

बुद्धको पोखरा–जनकपुरको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टिम जनकपुर गएको थियो। पहिलो उडानमा १८ जना यात्रु गएकोमा फर्किदा १६ यात्रु पोखरा फर्केका थिए। पोखरा–जनकपुरको उडानमा प्रतियात्रुु सबैभन्दा बढी ९ हजार ३ सय ६० र सबैभन्दा कम ४१ सय रुपैयाँ भाडा तोकिएको छ। पोखरा–जनकपुर ५० मिनेटको हवाई यात्रा हुने बरालले बताए।

‘पोखरा–जनकपुर हवाई उडानले प्राकृतिक र सांस्कृतिक पर्यटन प्रवद्र्धनमा सहयोग पुुग्नेछ,’ उनले भने, ‘हिमाल र पहाडलाई मधेसमा जोडिन सकेको छ।’ उनका अनुसार जनकपुर धार्मिक क्षेत्र भएकोले पनि त्यहाँ गएका धार्मिक भारतीय पर्यटकलाई पोखरा आउने सिधा हवाई उडानले सघाउनेछ। त्यस्तै पोखरा घुमेर जनकपुर पुग्न पनि उत्तिकै सहज हुनेछ। ‘धार्मिक र भारतीय पर्यटकलाई यो सेवाले सहज हुन्छ। भारतीय नाका नजिक भएकोले पनि पोखरा–जनकपुर उडान आवश्यक हो,’ उनले भने, ‘हवाई सेवाले मधेस क्षेत्रका आन्तरिक यात्रुलाई पोखरा आउन पनि उत्तिकै सहज हुन्छ।’

बुद्धले केहीदिन अघि मात्र पोखराबाट सुदूरपश्चिमको धनगढीसम्म पनि उडान थालेको थियो। यसअघि बुद्धले काठमाडौंसँगै भरतपुर, भैरहवा, नेपालगञ्ज, सिमरासम्म उडान गरिरहेको छ। अबको केही समयभित्रै पोखराबाट बिराटनगर र भद्रपुरसम्म पनि उडान गर्ने तयारी रहेको उनले बताए। जनकपुर भारतीय धार्मिक पर्यटकका लागि प्रख्यात गन्तव्य भएकोले पनि प्राकृतिक गन्तव्य पोखरासँग जोड्दा पर्यटनमा लाभ पुुग्ने उनले बताए। भारतीय सीमाना नजिकका सहरसम्मको हवाई उडानले गति लिईरहेको पनि बरालले बताए।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) गण्डकीका उपाध्यक्ष हरि अधिकारीले पनि पोखरालाई जनकपुर हवाई माध्यमले जोड्दा पर्यटनमा लाभ पुग्ने बताए। ‘पोखरा–जनकपुर निकै नै अघि जोडिनुपर्ने गन्तव्य हुन्। यो सुरुवात ढिला भएपनि यसले पर्यटन प्रवद्र्धनमा लाभ दिनेछ,’ उनले भने, ‘कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई यस्तै सिधा र ठुला सहरसम्मको हवाई उडानले जोडिँदा लाभ मिल्नेछ।’

बुद्धले पोखराबाट काठमाडौं सहित ठुला सहरसम्म सिधा हवाई उडान सञ्जाल बिस्तार गरेसँगै आन्तरिक पर्यटकको पोखरा आउजाउ बढने पनि उनले बताए । स्थलगमार्ग असहज हुँदा अहिले हवाई यात्रु थपिएको उनले बताए। ‘ठुला सहरसम्मको सञ्जाल बिस्तारले ती सहरका आन्तरिक यात्रुको पोखरा आगमन हुनेछ,’ उनले भने, ‘त्यसको लाभ पर्यटनमै पर्नेमा कुनै आशंका रहेन।’

पोखरा–जनकपुर पहिलो उडानमा गएका गण्डकीका मुख्यमन्त्री पोखरेलले अन्तरप्रदेश हवाई सञ्जालले पर्यटन प्रवद्र्धनमा सघाउने बताए। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणमा तीनदिने भ्रमणका लागि मुख्यमन्त्रीसहितको टोली शनिबार जनकपुर गएको छ। गण्डकीका मुख्यमन्त्री पोखरेलको निमन्त्रणमा गत असोज ६ गते  मधेश प्रदेशका मुख्यमन्त्री राउत नेतृत्व टोलीले पोखरा भ्रमण गरेको थियो।  

प्रदेशबीच सम्बन्ध विस्तार गर्ने, अनुभव साट्ने र संघीयता सुदृढीकरणमा सहकार्य गर्नुका साथै पर्यटन प्रबद्र्धनका लागि अन्तर प्रदेश भ्रमण गरिएको गण्डकीका मुख्यमन्त्री पोखरेलले बताए। सांस्कृतिक महत्व बोकेको जनकपुर र पर्यटकीय महत्व बोकेको पोखराबीच हवाई यातायात सेवा भएपछि दुवै क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास लिएको मुख्यमन्त्री पोखरेलको भनाइ छ। टोलीका पोखराका पर्यटन व्यवसायी पनि सहभागि छन्।

प्रकाशित: २१ फाल्गुन २०७८ ११:०२ शनिबार

पोखरा–जनकपुर उडान