दिपायल सिलगढी नगरपालिका–३, बाँफीसैनका झलकबहादुर साउँदले नजिकैको बजार कालागाडबाट तरकारी नकिनेको दुई वर्ष भयो। यसअघि उनी हरेक दिन तराई तथा डडेल्धुराबाट आउने तरकारी कालागाड बजारबाट किनेर घर ल्याउँथे।
गाउँमा कृषक समूह गठन गरेर सामूहिक तरकारी खेती गर्न थालेपछि भने दुई वर्षदेखि नजिकैको बजार कालागाडबाट तरकारी किनेका छैनन्। उनी मात्र होइन, बाँफीसैन गाउँका ४५ घरका ५२ जना किसानले तरकारी बारीमै फलाउन थालेपछि कालागाडको तरकारी पसल धाउन छाडेको दुई वर्ष भइसकेको हो।
बाँफीसैनमा समथर जमिन छ। जहाँ तरकारी लगाउन उपयुक्त मलिलो माटो छ। गाउँ तल सेती नदी बगेको छ। तर सेतीको पानी माथि लैजान नसक्दा उनीहरूले गाउँमा तरकारी फलाउन नसकेपछि कालागाड बजारबाट तरकारी वर्षौंदेखि किन्दै आएका थिए। ‘गाउँमा तरकारी लगाउने चलनै थिएन, त्यसैले हामी साँझ–बिहानको छाकका लागि कालागाड बजारबाटै तरकारी किनेर ल्याउँथ्यौं,’ भागेश्वर कृषक समूहका अध्यक्षसमेत रहेका साउँदले भने, ‘अहिले तरकारी लगाउन थालेपछि भने कालागाड बजारको तरकारी छेकिएको छ।’
झलक जस्तै सोही गाउँका हर्क साउँदको परिवार पनि वर्षौंदेखि कालागाड बजारकै तरकारी खान्थे। हर्क भारतमा रोजगारी गर्थे र उतैबाट पठाएको पैसाले उनको जहान–परिवार कालागाडबाट तरकारी किन्दै खान्थ्यो। कोरोनाका कारण अघिल्लो वर्ष उनी भारतबाट घर फर्किए। कृषि विकास निर्देशनालय दिपायल डोटीले बृहत् उत्पादनस्थल निर्माण कार्यक्रम अन्तर्गत बाँफीसैन गाउँका किसानलाई तरकारी खेती गर्न हौस्याउँदै आलु पकेट एरिया र तरकारी खेतीमा प्रोत्साहन गर्यो। ‘कृषि विकास निर्देशनालयले आलु खेती गर्न सहयोग गरेकै वर्ष मैले धेरै राम्रो उत्पादन गरे,’ उनले भने, ‘वर्षभरिका लागि आफूले खानलाई राखेर पनि बेच्न भ्याएँ, बेच्दा भारतमा रोजगारी गरे जति नै उत्पादित आलु बेचेर कमाएँ।’ गाउँमै तरकारी लगाएर आम्दानी हुने थाहा पाएपछि भने आफू दुई वर्षदेखि भारत नगएको उनी बताउँछन्। ‘यसअघि म १२–१३ वर्षदेखि भारतमा रोजगारी गर्दै आएको थिएँ,’ उनले भने, ‘गाउँमै घरपरिवारसँग मिलेर तरकारी लगाएर आम्दानी हुन थालेपछि भने भारत नजाने निधो गरें।’
सधैं कालागाड बजारबाट तरकारी किनेर ल्याउने उनको परिवार अहिले भने आफूले उत्पादन गरेको आलु, मुला, हरियो तरकारी त्यही कालागाड बजारमा बेच्न जान थालेको छ। ‘हामी कुनै बेला कालागाड बजारबाट तरकारी किनेर घर ल्याउँथ्यौं,’ उनले भने, ‘तर अहिले त्यही कालागाड बजारमा तरकारी बेच्न लैजान थालेका छौं। अब समय ठीक उल्टो भएको छ।’
कृषि विकास निर्देशनालय दिपायल डोटीले बृहत् उत्पादनस्थल निर्माण कार्यक्रम अन्तर्गत बाँफीसैन गाउँका ४५ घरधुरीका ५२ जना किसानलाई आलु खेतीका लागि सहयोग गरेपछि उनीहरू तरकारी खेतीमा आकर्षित भएका हुन्। आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रम अन्तर्गत बाँफीसैनका किसानलाई आलु पकेट क्षेत्र बनाउन उत्प्रेरणा गरी आलु खेतीका साथै घरपरिवारका लागि करेसाबारीमा बेमौसमी तरकारी उत्पादन गर्न टनेल सहयोग गरेको हो। यस्तै कृषि विकास निर्देशनालयले सेती नदीबाट पानी लिफ्टिङ गरी गाउँमा सोलार सिँचाइ सुविधा दिएको हो।
त्योसँगै ६० हजार लिटर क्षमताको सिँचाइ पोखरी समेत निर्माण गरेको छ। जसबाट उनीहरूले बाहै्र महिना जुनसुकै बेला पनि तरकारीमा सिँचाइ गर्न सकेका छन्। गाउँमा सुरुमा ५० क्विन्टल आलु बीउ वितरण गरेर उनीहरूलाई प्रोत्साहन गरिएको बताउँदै निर्देशनालयका सूचना अधिकारी केशवराज पाण्डेयले भने, ‘हामीले उनीहरूलाई महिनौंदेखि तरकारी खेतीका लागि आकर्षित गर्न मिहिनेत गर्यौं, अन्ततः हाम्रो प्लान अनुसार उनीहरू पनि राजी भए र अहिले निरन्तर दुई वर्षदेखि तरकारी खेतीमै जुटेका छन्।
निर्देशनालयले उनीहरूलाई व्यावसायीक तरकारी खेतीका लागि भनेर २५ वटा फलामे प्लास्टिक घर निर्माण गरेको छ। यस्तै एउटा औजार उपकरण भण्डारण गृह निर्माणका साथै गाउँमै कम्पोस्ट मल उत्पादन गर्न गड्यौला मल संरचना निर्माण गरेको उनले बताए। ‘मलका लागि रासायनिक मलतर्फ आकर्षित नहोउन् र कम्पोस्ट मल हालुन् भनेरै हामीले गड्यौला मल उत्पादन संरचना बनाई गड्यौला पनि दिएका हौं,’ उनले भने, ‘यसबाट उनीहरूले अहिले लाभ लिइरहेका छन्।’ यस्तै गाउँका सबै किसानलाई खनजोत गर्न सजिलो होस् भनेर निर्देशनालयले २ वटा मिनी टिलर पनि अनुदानमा सहयोग गरेको उनले बताए।
जमिन भएर पनि कहिल्यै तरकारी नलगाउने बाँफीसैनका किसानलाई प्रोत्साहन गरेपछि हिउँदमा सुक्खा रहने जमिन अहिले हरियालीमा परिणत भएको निर्देशनालय निमित्त निर्देशक यज्ञराज जोशीले बताए। उनले भने, ‘हामीले उनीहरूलाई प्रोत्साहन गरेपछि ५२ जना किसानले अहिले आफैंले उत्पादन गरेको तरकारी खानुका साथै बचेखुचेको नजिकैको कालागाड बजारमा बेच्न थालेका छन्।’ यसअघि गाउँका अधिकांश पुरुष रोजगारीका लागि भारत जान थाले पनि गाउँमै व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेपछि भने भारत जानबाट रोकिएको उनी बताउँछन्।
प्रकाशित: २५ माघ २०७८ ०५:४३ मंगलबार