५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपाली परम्परागत गहनालाई अन्तर्राष्ट्रिय बजारमा लग्न जरुरीः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नेपाली परम्परागत गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने बताएका छन्।

बुधबार गृह मन्त्रालयमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ तथा सुनचाँदी व्यापारी प्रतिनिधिहरुसँग छलफल गर्दै गृहमन्त्री खाँणले नेपालको परम्परागत तथा मौलिक गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने बताएका हुन्।  

नेपालले कच्चा सुन उत्पादन गर्न नसक्दा सुन आयात गर्नु परेको भएपनि आयात गरिएको सुनबाट नेपालको मौलिक गहना निर्माण गरी अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्ने उनको भनाइ थियो।

नेपाली पुर्खाहरुले लगाएको गहनाहरुको उपयोगिता तथा ऐतिहासिकताको अध्ययन गर्दै सो अनुरुपको गहना बनाइ विदेशी मुलुकमा पठाउनतर्फ ध्यान दिन उनले व्यवसायीहरुलाई आग्रह गरे। गहना निर्यातले नेपालको अन्तर्राष्ट्रिय महत्व बढ्न सक्ने उनले उल्लेख गरे।

गृहमन्त्री खाँणले नेपालमै गहना निर्माण गर्नाले रोजगारी बढ्ने पनि चर्चा गरे। ‘नेपाली कालिगढहरुलाई सिकायो भने नेपालभित्र रोजगारी पनि बढ्यो। नेपाली गहनाले अन्तर्राष्ट्रिय बजार पायो भनेपनि त्यसले मद्दत पुर्याउँछ’, उनले भने, ‘विदेशमा गहना निर्यात गर्न सक्यौँ भने विदेशी पैसा नेपालमा फर्केर पनि आउँछ। त्यतापट्टी ध्यान दिनुस्। विधि अनुकुल तपाईहरु अगाडी बढ्नुस्।’

उनले उद्योगी, व्यवसायीहरुको सुरक्षा गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै गृह मन्त्रालय मातहतका निकायहरुले उद्योगी, व्यवसायीहरुको सुरक्षामा काम गर्ने पनि बताए।

प्रकाशित: २८ पुस २०७८ १२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App