२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

माघ दोस्रो साता लेखनाथ महोत्सव

सुन्तला महोत्सवबाट सुरुवात भएको लेखनाथ महोत्सव १७ औं संस्करणसम्म आईपुगेको छ। गतवर्ष कोभिड–१९ ले रोकिएको भएपनि यो वर्ष भने लेखनाथ उद्योग वाणिज्य संघले महोत्सव गर्ने जमर्को गर्दै किसानको उत्पादनलाई प्रवद्र्धन गर्ने जनाएको छ। महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास छ।  

आगामी माघ १३ गते देखि २४ गते सम्म १७ औं संस्करणको लेखनाथ महोत्सव २०७८ पोखरा– २७ तालचोकस्थित डाँडाकोनाकमा आयोजना गरिने आयोजकले बताएको छ । कोभिड १९ को कारणले सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्य महोत्सवको छ। औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन गर्ने ध्येय छ। स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन गरिने छ।  

जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना गर्ने, आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्याउने महोत्सवको प्रमुख उद्देश्य रहेको प्रचार प्रसार संयोजक गोपीचन्द्र बास्तोलाले बताए। महोत्सवमा साहित्य पारखीको साहित्यीक कार्यक्रम, महिला विशेष कार्यक्रम, विद्यालयस्तरिय कार्यक्रम, साँस्कृतिक कार्यक्रम, आदीबासी जनजाति विशेष कार्यक्रम, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सुचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रस्तुत गरिने छ।  

आदिबासी जनजाति तथा आमा÷महिला समुहहरुको आफ्नो झाँकीर्याली तथा भेषभुषा प्रदर्शनीले महोत्सवमा थप रौनकता थप्ने विश्वास छ। युवा पुस्तालाई लक्षित गर्दै साँगितीक कार्यक्रमलाई समेत समावेश गरिएको छ। महोत्सवमा करिब २ लाख ५० हजार दर्शकले मेला अवलोकन गर्ने आँकलन गरिएको छ। १० करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। दर्शकको उपस्थित र कारोबारले आर्थिक क्षेत्रलाई गतिशिल बनाउने अपेक्षा लेखनाथ उद्योग वाणिज्य संघले गरेको छ।

महोत्सवको बचतवाट प्रदर्शनी स्थल र संघको भवनको स्तर उन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकास तर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, लेखनाथ उद्योग वाणिज्य संघको रजत वर्षको सन्दर्भमा बेगनासताल परिसरमा एक उत्कृष्ट स्तरको डिस्प्ले बोर्ड निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने छ।

प्रकाशित: ५ पुस २०७८ ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App