४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रेष्टुराँ व्यवसायीले मूल्य बढाए

खाद्यवस्तु, इन्धनलगायतको बजारभाउ बढेको जनाउँदै यहाँका रेष्टुराँ व्यवसायीले खाद्य परिकारमा मूल्य समायोजन गरेका छन्।

हालै सम्पन्न रेष्टुराँ व्यवसायीहरूको बैठकले मःम र चाउमिनमा नयाँ दररेट कायम गर्ने निर्णय गरेको थियो। भेज, बफ मःम एक प्लेटको नयाँ मूल्य रु. एक सय २० र चिकेट मःमको रु.एक सय ४० तोकिएको छ।

यसअघि भेज र बफ मःम प्रतिप्लेटको मूल्य रु. एक सय थियो। चिकेन मःमको रु.एक सय २० थियो। यस्तै भेज चाउमिन एक प्लेटको रु. एक सय २०,बफको रु. एक सय ५० र चिकेनको रु.एक सय ७० दररेट कामय गरिएको छ।

भेज चाउमिन आधा प्लेटको रु.६०, बफको रु.९० र चिकेनको रु. एक सय मूल्य राखिएको छ। व्यवसायीले पाँच वर्षको अन्तरमा मःम र चाउमिनको मूल्य बढाएका हुन्।

‘बजारमा सबैथोकको मूल्य बढेकाले रेष्टराँमा पनि त्यसको प्रभाव परेको हो,यो व्यवसायीको बाध्यता हो’ बागलुङ होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले बताए।

उनका अनुसार रेष्टुराँमा बढी चल्ने मःम र चाउमिनमा मात्रै मूल्य थप गरिएको हो। अन्य परिकारको दररेट भने पुरानै यथावत छ। नयाँ दररेट आजैदेखि लागू भएको सङ्घले जनाएको छ। ‘पाँच/छ वर्ष भइसकेको थियो मूल्य नबढेको, रेष्टुराँ व्यवसायीहरूको माग अनुसार मूल्य समायोजन गरिएको हो’,उनले भने।

बजारमा ग्यास, तरकारीदेखि दैनिक उपभोग्य वस्तुको मूल्य बर्सेनि बढ्दो छ। सङ्घको तथ्याङ्कअनुसार जिल्लाभर दुई सयभन्दा बढी रेष्टुराँ छन्। यसमा करोडौँमा लगानी छ भने सयौँले रोजगारी पाएका छन्। शहरी क्षेत्रमा रेष्टुराँ संस्कृति बढेसँगै स्तरीय रेष्टुराँ खुल्ने क्रम पनि उत्तिकै छ।

प्रकाशित: ५ पुस २०७८ ०२:०० सोमबार

दैनिक उपभोग्य वस्तुको मूल्य रेष्टुराँ व्यवसायी बागलुङ होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ