५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

भन्सारकै सेटिङमा हुन्छ ठूलो तस्करी

फाइल तस्बिर

जिल्लाको मुख्य नाकाको रुपमा रहेको गौर भन्सार कार्यालयकै सेटिङका ठूला तस्करी हुने गरेको पर्दाफास भएको छ। भन्सार प्रमुखदेखि सबै कर्मचारीको सेटिङमा नेपालबाट भारततिर भारतबाट नेपालतिर ठूलो मात्रा तस्करी हुने गरेको प्रमाण फेला परेको छ।

हातमा सामान बोकेर आफ्नो घरमा प्रयोग गर्न ल्याउने गरिबहरुलाई भन्सार कर्मचारीले लछापरपछार गर्ने, अपशब्द प्रयोग गर्ने र सामान खोस्ने गर्दै आएको गुनासो बारम्बार हुने गरेको छ तर भन्सार कर्मचारीहरु भने माथिको आदेशमा राजस्व छलीको काम रोक्न आफूहरु सक्रिय हुने गरेको बताउँछन्। घरायसी प्रयोजनको लागि व्यक्तिगत किसिमले हातमा सामान बोकेर ल्याउँदा पनि सय पचास रुपैयाँ हातमा नथमाउँदा सामानलाई अवैध मान्ने गौर भन्सारका कर्मचारीहरु भने भारी परिमाणमा सामान आउँदा सरकारी राजस्वलाई मारेर खल्ती भर्ने गरेका छन्।  

भन्सार भएर ओहोरदोहोर गर्ने यात्रु तथा मालसामान ढुवानी गर्नेलाई जति धेरै सताउन सक्यो उति धेरै रकम अँठ्याउन सकिन्छ भन्ने मानसिकताले काम गरिरहेको आरोप रहेको छ। कुनै निजी प्रयोजनका लागि भन्सार कटाएर ल्याउनु पर्ने सानोतिनो सामानको भन्सार काट्न भन्दा अनेक झमेला देखाएर भन्सारका कर्मचारीहरुले नगदै हात पार्ने दाउ गर्ने गरेको गौरकै एक जना बेपारी बताउँछन्।

ठूलो परिमाणमा सामान मगाउँदा नियमानुसार भन्सार कटाएर ल्याउन खोज्दा भन्सारका कर्मचारीहरुले झन्झटिलो, बोझिलो, धेरै दिन लाग्ने र धेरै रकम पर्ने बताउँदै बिचौलियाको सहारा लिन बाध्य बनाउने गरेका छन्। वैधानिक रुपमा धेरै राजस्व आउने सामानलाई पनि कम परिमाणको देखाएर राजस्व छली गर्ने र बाँकी रकम कर्मचारीहरुले नै हजम पार्ने गरेका छन्।

भारतबाट तीन ओटा भारतीय नम्बरकै ट्रकमा आएको आलु र खाद्यान्न वस्तुको भन्सार चेकजाँच गर्दा भन्सारको कागजभन्दा सामान बढी भएको आशंकामा रौतहट प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएपछि भन्सार कर्मचारीको मिलोमतोको रहस्य खुलेको हो।

भारतीय नम्बरका ट्रकहरुलाई नियन्त्रणमा लिएर आलु र खाद्यान्नको सामानको चेकजाँच गर्दा भन्सार काटेको भन्दा धेरै भएको बुझिएकोले सबै ट्रकलाई आन्तरिक राजस्व कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि विनोद घिमिरेले जानकारी गराएका छन्।

गौर भन्सारका कर्मचारीहरुले कपडा, मेसिनरी सामान र पाटपूर्जा तथा खाद्यान्न सामग्रीलाई वास्तविक तौलभन्दा साठी प्रतिशतसम्म कम तौल देखाएर भन्सार काट्ने गरेको बेपारीहरु नै बताउँछन्। साठी प्रतिशत कमको भन्सार काटेर राजस्व तिर्नुपर्दछ र तिस प्रतिशत बराबरको रकम भन्सार कर्मचारीहरुले लिने एक व्यापारीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन्। यसरी भन्सार छली गर्दा बेपारीलाई करिब दश प्रतिशतको फाइदा हुन्छ तर धेरै झन्झट बेहोर्नु नपर्ने र काम पनि छिटो हुने भएकाले अधिकांश बेपारीहरु भन्सार कर्मचारीले नै देखाउने बिचौलियासित सम्पर्क गरेर सामान ल्याउने गरेको उनको दाबी छ।

कतिपय अवस्थामा पाँच लाखको सामानलाई बिचौलियाहरुको भरमा एक लाख रुपैया मूल्य पर्ने देखाएर चार लाख मूल्य बराबर उठ्नु पर्ने राजस्व भन्सारका कर्मचारी, बिचौलिया र व्यापारीको मेलोमतोमा खत्तम हुने गरेको छ।

विभिन्न सानातिना नाका तथा खेत र आलीको बाटो हुने गरेको तस्करीलाई सशस्त्र प्रहरी बलले नियन्त्रण गर्न कडाइ गरेपछि बिचौलियाहरुको माध्यमबाट भन्सार नाकाबाटै नयाँ तरिकाले कर्मचारीको संलग्नतामा नै तस्करी सुरु भएको छ। प्रहरी कर्मचारीको आँखामा धुलो झोकेर भन्सारका कर्मचारीले राजस्व छलीमा ठूलो योगदान गरिरहेको धेरैले बुझिसकेका छन्।

यस विषयमा गौर भन्सारका कर्मचारीहरुले आफूहरुलाई बदनाम बनाउन झूठो प्रचार गर्ने गरेको बताउँछन्। भन्सारका कर्मचारीले जे गर्दा पनि गाली नै पाउने गरेको गुनासो गर्दै भन्सारका एक कर्मचारी भन्छन्, 'यो ठाउँ नै यस्तो हो कि कतैबाट पनि सुख पाइँदैन।'

प्रकाशित: २ पुस २०७८ ०८:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App