४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

औद्योगिकीकरण हुन लागत न्यूनीकरण आवश्यक

उद्योग विकासको औपचारिक थालनीको ७५ वर्ष भए पनि नेपाल अझै औद्योगिकीकरणको पर्खाइमा छ। नेपालमा औद्योगिकीकरणको सुरुआत सन् १९४६ मा भएको थियो। तर अहिले पनि मुलुकमा व्यापक रूपबाट औद्योगिकीकरण हुन सकेको छैन।

नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार आयोजना गरेको सातौं औद्योगिक दिवसमा उद्यमी, व्यवसायीले औद्योगिकीकरणको अवस्था अत्यन्त कमजोर रहेको धारणा राखे।

महासंघका अनुसार कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान १२.८ प्रतिशत मात्र भएबाट नै यो क्षेत्रको विकासको चित्रण देखिन्छ। यो अवस्थालाई परिवर्तन गर्न लागत न्यूनीकरणमार्फत मात्र औद्योगिकीकरणमा जोड दिनुुपर्ने सुझाव व्यवसायीले दिएका छन्।

व्यवसायीले उत्पादन लागत, वित्तीय लागत, उद्योगको आगत प्रशासनिक खर्च र कर लागत कटौती लगायत व्यवस्था गर्न सके मात्र औद्योगिकीकरण हुने सुुझाव दिएका छन्। यस्तै ऊर्जा लागत, जग्गा, श्रम लागत,ब्याजदर, तरलता व्यवस्थापन, परियोजनाको वित्तीय एवं उत्पादन व्यवस्थापनमा कटौती पनि आवश्यक छ।

महासंघका अध्यक्ष शेखर गोल्छाले सरकार, निजी क्षेत्र सबैले औद्योगिक विकासको कुरा गरे पनि विकास भने सोचे अनुसार हुन नसकेको बताए। अहिले पनि उद्योग गर्ने वातावरण मुुलुकभित्र बन्न नसकेको गुुनासो उनको थियो। नेपालको उत्पादन क्षमता पाकिस्तान पछाडि दक्षिण एसियामै अत्यन्त कमजोर रहेको भन्दै अध्यक्ष गोल्छाले व्यवसायको लागत नघटाएसम्म सोचे अनुसारको औद्योगिक विकास नहुने बताए।

उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले औद्योगिक विकासमा सरकारको तर्फबाट पूर्ण सहयोग रहेको भन्दै महासंघले अगाडि सारेको भिजन पेपरलाई सरकारले अपनत्व लिई कार्यान्वयनमा जोड दिएको बताए।  सचिव पोखरेलले समस्यालाई मन्त्रालयमा ल्याउन उद्योगी,व्यवसायीलाई आग्रह गर्दै ती समस्या समाधानका लागि आफू अग्रसर हुने धारणा व्यक्त गरे।

उद्योग विभागका महानिर्देशक जिवलाल भुसालले हरेक कामलाई सहज बनाउन विभागलाई पूर्ण अटोमेसनमा लैजाने तयारी विभागका तर्फबाट भइरहेको जानकारी गराए।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग मन्त्रालयलाई सरकारले कहिल्यै प्राथमिकतामा नराखेको आभास निजी क्षेत्रलाई भएको गुनासो गरे। कतिपय नीति नियम विगतमा निजी क्षेत्रसँग छलफल नगरी बनाएकाले अहिले समस्या आएको उनले बताए।

महासंघ उद्योग समितिका सभापति भरत आचार्यले कार्यपत्र प्रस्तुुत गर्दै लागत खर्च बढी, ऊर्जाको अभाव, महँगो जग्गा, उच्च श्रम लागत, उच्च कर उद्योग विकासका लागि प्रमुख बाधक रहेको बताए। आचार्यले लागत न्यूनीकरणमार्फत औद्योगिकीकरणमा जोड दिनुपर्ने सुझाए।

प्रकाशित: १० मंसिर २०७८ ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App