२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठक बुधबार

नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको तेह्रौँ बैठक यही मङ्सिर ८ गते बुधबार काठमाडौँमा हुने भएको छ। बैठकमा भाग लिने तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सङ्घको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनी आज काठमाडौँ आइपुगकी छन्।

बैठकमा आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयका साथै नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धका सबै पक्षमा विचार विमर्श हुने परराष्ट्र मन्त्रालयका एकजना अधिकारीले बताए।

बैठकमा द्विपक्षीय विकास सहायताका समग्र पक्षमा छलफल हुनेछ। युरोपेली सङ्घले नेपाललाई व्यापार तथा लगानी, वाणिज्य, ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, मानव संसाधन विकास, पर्यावरण संरक्षण, भूकम्पपछिको पुनर्निर्माण, ग्रामीण विकास, पोषण, शिक्षा, सुशासनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ। बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नेछन्। 

नेपाली विमान सेवालाई युरोपेली मुलुकको आकाशमा उड्न माथि लगाइएको प्रतिबन्ध चाँडोभन्दा चाँडो हटाउन नेपाली पक्षले बैठकमा उच्च प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ। नेपाल सरकारले नागरिक उड्डयन क्षेत्रको सुरक्षाका निम्ति नयाँ नागरिक उड्डयन विधेयक संसद्मा प्रस्तुत गरेको सन्दर्भमा हवाई सुरक्षाप्रतिको नेपालको प्रतिबद्धतालाई दृष्टिगत गरी युरोपेली सङ्घले उडान प्रतिबन्ध हटाउने अपेक्षा गरिएको छ। रासस

प्रकाशित: ४ मंसिर २०७८ १४:३३ शनिबार

नेपाल–युरोपेली सङ्घ