२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिन्छौँ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक उद्योग सरकारको प्राथमिकतामा रहेको बताएका छन्। पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित अन्तरक्रियामा उनले उत्पादनमूलक अर्थतन्त्र निर्माण नै आफ्नो लक्ष्य भएको बताए।

उत्पादनमूलक उद्योगलाई राज्यले आवश्यक पर्ने सबै सुविधा दिने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, 'भन्सार छुट चाहियो कि, विद्युत् वा कर छुट के चाहिन्छ,त्यो तत्काल दिइन्छ।'

उनले उत्पादित बिजुली स्वदेशमै खपत हुने अवस्था सिर्जना गर्नेतर्फ सरकार लागिरहेको दाबी गरे। हालसम्म ४.७ प्रतिशत मात्रै पूँजीगत खर्च हुनु दुःखको विषय भएको स्वीकार्दै उनले सार्वजनिक खरिद ऐन संशोधन गरी खर्च बढाउने तयारी भएको जानकारी दिए। 

मन्त्रीकै संयोजकत्वमा सार्वजनिक खरिद ऐन संशोधन गर्न समिति गठन भएको बताउँदै मन्त्री शर्माले बजारमा देखिएको तरलताको समस्या सल्टाउन शुक्रबार नै २७ वटा वाणिज्य बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल गरिएको र केही दिनमै तरलताको समस्या समाधान हुने जिकिर गरे।

पोखरा–काठमाडौँको सडक यात्रा दुई घण्टामा झार्नको लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल अघि बढाएको बताउँदै उनले बाटो छोटिएमा त्यसले देशको अर्थतन्त्रमा सकारात्मक योगदान प्रदान गर्ने उल्लेख गरे।

कोभिडले पीडित व्यवसायीको लागि घोषित पुनःकर्जा र अनुदान वितरणको प्रभावकारिता अनुगमन थालिएको जानकारी गराउँदै अर्थमन्त्री शर्माले साना व्यवसायीलाई अनुदान दिने प्रक्रिया सुरु भएको बताए। 

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य बाबुराम गिरीले बैंकले नाफामुखी भएर लागू गराएको एकाधिकार तोड्न सरकारले अझ कठोर निर्णय लिनुपर्ने बताए।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइरालाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएका अवरोध हटाउन तथा यहाँबाट हुने उडान सुनिश्चित गर्न आग्रह गरे।

बजारमा देखिएको तरलता हटाउन, पर्यटन क्षेत्रले कोभिड विरुद्धको खोप लगाएको सकारात्मक सन्देश अन्तर्राष्ट्रिय बजारमा प्रवाह गर्न तथा व्यवसाय पुनरुत्थानका कार्यक्रमलाई तीव्रता दिन उनले आग्रह गरे। 

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिडको मारमा परेका व्यवसायी १२ प्रतिशत ब्याज तिर्न बाध्य भएको बताउँदै तरलताको समस्या छिटो समाधान गर्न माग गरे।

प्रकाशित: २६ कार्तिक २०७८ १६:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App