२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

राष्ट्र बैंकले चलाएमान सुरक्षण धागोसहितको एक सय र ५ सयको नोट ल्याउने तयारी गर्दै

नेपाल राष्ट्र बैंकले फरक क्षमता भएका (दृष्टिविहीन) व्यक्तिहरुले छामेर पहिचान गर्न सक्ने गरी नेपालमा पहिलो पटक हजारको नोट चल्तीमा ल्याएपछि नक्कली नोटको विगविगी कम भएको बजार प्रतिक्रिया पाएपछि राष्ट्र बैंकले अब एक सय र पाँच सयको नोटमा पनि चलाएमान सुरक्षण धागोको प्रयोगसहितको नोट ल्याउने तयारबारे छलफल अघि बढाएको छ।

हजारको नोटमा चलाएमान सुरक्षण धागो राखेपछि नक्ली र सकक्लीबीचको पहिचान सहज भएको बजारको रेस्पोन्स निकै राम्रो आएकोले अब सय र पाँच सयको नोटमा पनि थप सुरक्षा अपनाउन बैंकले यी नोटहरुमा पनि चलाएमान सुरक्षण धागो राख्नेबारे छलफल अघि बढाएको राष्ट्र बैंकका मुद्रण व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले बताए।

‘एक हजारको नोट चलाएमान सुरक्षण धागोसहित बजारमा आउँदा नक्कली र सक्कली नोटबीच फरक छुटाउन निकै सहज भएको जनताको रेस्पाेन्स आएको छ। हजारको नोट धेरै राम्रो रहेको प्रतिक्रिया प्राप्त भएको छ,’ कार्यकारी निर्देशक नेपालले नागरिकसँग भने ‘अब राष्ट्र बैंकले एक सय र पाँच सयको नोटमा पनि थप सुरक्षाको व्यवस्थापन गर्न चलाएमान सुरक्षण धागोसहितकै नोट अगामी दिनहरुमा छाप्नु पर्ने तयारीबारे छलफल अघि बढाएको  छ। 

चलाएमान सुरक्षण धागो निकै सुरक्षित देखिएको छ।’ उनले थपे ‘सयको नोट आवश्यक्ता अनुसार सर्वसाधारणको पहुँचमा सहज छ। धेरै जनताले प्रयोग गर्ने नोटनै सयको हो। ग्रामिण भेगसम्म सयकै नोट पुग्छ। धेरै थान छापिनु पर्ने भएकोले थप सुरक्षा अपनाउनु पर्ने देखिएको छ।’ उनका अनुसार यो वर्ष  पुरानै ब्यवस्था अनुसार ४० करोड थान सयको नोट छापिसकेको छ भने पाँच सयको नोट मंसिर सम्म १९ करोड थान छापिन्छ।  

‘हजारको नोटमा विशेष गरी दृष्टिविहिनले समेत छामेर सहजै पत्ता लगाउन सकेको फिड व्याक आएको छ,’ कार्यकारी निर्देशक नेपालले भने ‘चलाएमान सुरक्षणा धागोसहितको नोटले नोटलाई बढी  सुरक्षित बनाएको छ।’ उनले थपे ‘हजारको नोटकोलागि पनि ७ वर्ष भित्र आवश्यक परेमा सोहि दररेटमा नोट छाप्नु पर्ने सहमति भए अनुसार सम्बन्धित कम्पनीले आवश्यक थप  हजारको नोट छापिदिने छ।’

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले नोटको सुरक्षाको सवालमा राष्ट्रबैंकले हरेक सुरक्षित उपाय अपनाउन तयार रहेको जनाए। नोट राष्ट्रियतासँग जोडिएकाले सुरक्षाको सावलमा राष्ट्र बैंकले अझै सुरक्षित उपाय थप्दै जाने उनको ठहर छ। ‘हाम्रा नोटहरुलाई थप सुरक्षित बनाउनेबारे छलफल अघि बढेको छ,’ प्रवक्ता ढकालले भने ‘बजारको काउन्टर फिड हेर्दै नोटहरुलाई थप सुरक्षित बनाउँदै बैंक अघि बढ्छ।’ उनले थपे ‘हजारको नोटमा चलाएमान सुरक्षण धागोको प्रयोगले नोटलाई सुरक्षित बनाएको छ। अगामी दिनहरुमा नोटलाई थप सुरक्षित बनाउने बढी प्रभावकारी सुरक्षाका बिशेषताहरु थप्दै जाने राष्ट्र बैंकको तयारी छ।’

प्रकाशित: १७ कार्तिक २०७८ ०७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App