३ मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

उच्च पहाडी क्षेत्रमा टिमुर खेती गर्न जोड

टिमुरको विरुवा रोप्दै मन्त्री दीपक थापा । तस्बिर नागरिक

उच्च पहाडी क्षेत्रमा व्यवसायिक टिमुर खेती विस्तार गर्नुपर्ने जोड दिइएको छ । गण्डकी प्रदेशका बन बातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापाले उच्च पहाडी क्षेत्रमा व्यवसायिक टिमुर खेती लगाउनुपर्ने बताएका छन् । व्यवसायिक टिमुर खेतीले किसानलाई स्वरोजगार बनाउने भन्दै वैदेशिक मुद्रा आर्जनमा पछि सहयोग पुग्ने विश्वास उनको थियो ।  

स्याङ्जाको पञ्चमुुलमा गरिएको व्यवसायिक टिमुर खेतीको अवलोकन पछि डिभिजनल वन कार्यालय र सव डिभिजन वन कार्यालयका अधिकारीहरुसँगको अन्तरक्रियामा उनले व्यवासायिक टिमुर खेती तर्फ किसानलाई प्रेरित गर्नुपर्नेमा जोड दिएका हुन् । ‘हामीमा अझैसम्म पनि सानो सानो कृषि कर्मबाट मनग्ये आम्दानी हुन्छ भन्ने सोचको विकास हुन सकेको छैन,’ मन्त्र्री थापाले भने,  ‘नागरिकहरु टिमुर खेतीलाई सानो कामको रुपमा लिन्छन्, तर यसको व्यवसायिक खेती र निकासीले अर्थतन्त्रको विकासमा योगदान दिईरहेको हुन्छ ।’

पछिल्लो समय गण्डकी प्रदेशका केही किसानमा व्यवसायिक टिममुर खेतीप्रति केही आकर्षण बढेको देखिएको भन्दै उनले ११ सय देखि २५ सय मिटरसम्म उचाई भएको सबै भुगोलमा यसको खेती गर्न सके राम्रो वैदेशिक मुद्रा आर्जन गर्न सकिने स्पष्ट पारे । टिमुरलाई प्रशोधन गरेर तेल वा कच्चा पदार्थको रुपमा विदेश निर्यात गर्न सकिने भएकोले दीगो आम्दानीको लागि उच्च पहाडी भागमा बसोबास गर्नेहरुका लागि यो वरदान सावित हुने दावी गरे ।  

डिभिजनल बन कार्यालय स्याङजाले पञ्चमुलको थाप्ले क्षेत्रमा १० हेक्टर नीजि जग्गामा करिब १५ हजार टिमुरका विरुवा रोपेको छ । कार्यालयका सहायक वन अधिकृत बसन्त केशब अधिकारीका अनुसार उक्त जग्गामा लगाईएको मध्ये ९५ प्रतिशत विरुवा राम्रो देखिएका छन् । उनले तीन वर्षपछि ति विरुवाले उत्पादन दिने सुनाए । विज्ञहरुका अनुसार एक हेक्टर जमीनमा करिब २ देखि ४ हजार किलो टिमुर फल्दछ । नेपालमा यसको बजार मुल्य २ देखि ३ सय रुपैंया प्रतिकिलो रहेको छ ।

अन्तरक्रियाका क्रममा डिभिजनल वन कार्यालयका स्याङजाका प्रमुख तोयनाथ पौडेलले कार्यालयले जिल्लाका अन्य क्षेत्रमा टिमुर खेतीको लागि सम्भाव्यता अध्ययन गरिरहेको र कार्यालयले सम्पादन गरिरहेका कामहरुको बारेमा जानकारी गराएका थिए । म्याग्दीको उच्च पहाडी क्षेत्र घतानमा टिमुर खेती गरिदैं आएको छ । घतानको अधिकांश ठाँउमा स्थानीयले टिमुर खेती गर्दै आएका छन् । त्यहाँ व्यवसायिक उत्पादन हुदैं आएको टिमुर नेपाली बजारसम्म आईपुग्छ ।  

प्रकाशित: ११ आश्विन २०७८ ०८:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App