५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

संसद पुनर्स्थापना भयो, एमसिसीको भविष्य अन्योलमै

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) मा फेरि चर्चा सुरु भएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरेपछि एमसिसी बहस विस्तारै सेलाएको थियो। 

एमसिसीको भविष्यबारे अहिलेसम्म टुंगो लागेको छैन। एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट संसद पुनर्स्थापना भएसँगै एमसिसी संसदबाट छिट्टै अनुमोदन हुने बताउँछन्। ‘दुईपल्ट विघटन भएर भर्खरै संसद पुनर्स्थापना भएको छ,’ उनले भने, ‘क्याबिनेटले पनि अझै पूर्णता पाएको छैन। क्याबिनेटले पूर्णता पाएसँगै एमसिसीसम्बन्धी विधेयकले प्रथामिकता पाउला भन्ने आस छ।’ विष्टले एमसिसीसम्बन्धी विधेयक संसदमा व्यापक छलफल भएर पारित हुने अपेक्षा गरेको बताए। ‘संसद पुनर्स्थापना भएसँगै एमसिसी संसदबाट अनुमोदन हुन्छ भन्ने लागेको छ,’ उनले भने, ‘जनताले एमसिसीबारे उठाएका जिज्ञासामा पनि संसदमा व्यापक छलफल भएर टुंगोमा पुग्छ जस्तो लाग्छ।’  

जनस्तरबाट उठेका जिज्ञासामा नेपाल सरकारले आधिकारिक रूपमा अहिलेसम्म मिलेनियम च्यालेन्ज कर्पाेरेसनसँग पत्राचार गरेको छैन। ‘सरकारको आधिकारिक निकायले सोधेको खण्डमा पक्कै पनि जवाफ आउँछ,’ कार्यकारी निर्देशक विष्टले भने। एमसिसीको विषयमा उठेका प्रश्नको जवाफ संसदले पनि दिनुपर्ने उनको भनाइ छ। कार्यकारी निर्देशक विष्टले एमसिसी परियोजनामा एमसिसीले हालसम्म साढे तीन अर्ब र नेपाल सरकारले साढे दुई अर्ब रूपैयाँ खर्च गरिसकेको बताए।

प्रस्तावित आयोजना ४०० सय केभीको डबल सर्किट ३१३.९ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको हो। यो प्रसारण लाइन काठमाडौंको लप्सेफेदी र नुवाकोटको रातमाटे सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म पुग्नेछ। यो प्रसारण लाइन उच्च भोल्टेज (४०० केभी) बिजुली लैजान निर्माण गर्न लागिएको हो। प्रसारण लाइनको लागि ४६ मिटर चौडा भोगाधिकार (राइटवे) भित्र आठ सय ५६ वटा टावर निर्माण गरिनेछ। प्रसारण लाइन अन्तर्गतका टावरको उचाइ मात्रै ४३ देखि ९२.५ मिटर हुनेछ।

प्रत्येक टावरमा भूमिगत तार समेत रहनेछ। कम्प्याक्ट आयोजना कार्यान्वयन गर्न अमेरिकाको एमसिसीले ५० करोड र नेपाल सरकारले १३ करोड अमेरिकी डलर गरी ६३ करोड डलर खर्च गर्ने सम्झौतामा उल्लेख छ। एमसिसीले आयोजना कार्यान्वयनका लागि ६ वटा पूर्वसर्त राखेको छ। हालसम्म चारवटा सर्त पूरा भएको मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले जनाएको छ। एमसिए नेपालका अनुसार अब दुई सर्त बाँकी छन्।

प्रकाशित: १२ श्रावण २०७८ ०३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App