यातायात व्यवसायीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित सार्वजनिक यातायात क्षेत्रलाई पुनर्कर्जाको व्यवस्था गर्न माग गरेका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघले कोभिड–१९ बाट सार्वजनिक यातायात क्षेत्र जर्जर भएकाले बन्दाबन्दीको अवधिलाई शून्य समय मान्दै राष्ट्र बैंकद्वारा जारी हुने मौद्रिक नीतिमा यातायात व्यवसायीलाई थप कर्जा, पुनर्कर्जा, कर्जा पुनर्तालिकीकरण सहित ब्याजमा कम्तीमा बेस रेट कायम गर्नुपर्ने माग राखेको छ।
महासंघका केन्द्रीय महासचिव भरत नेपालले कोभिड–१९ ले सार्वजनिक यातायात चरम संकटमा परेकाले व्यवसायीको समस्या मौद्रिक नीतिमार्फ सम्बोधन गर्नुपर्ने बताए। यातायात क्षेत्रका मजदुर र कर्मचारीलाई तत्कालै कोभिड १९ विरुद्धको खोप व्यवस्थापन गर्न पनि उनीहरूले भाग गरे। महासंघले सार्वजनिक यातायातको भाडा ९ वर्षदेखि समायोजन नभएको भन्दै स्थानीय तथा प्रदेशस्तरीय भाडा समायोजन गर्नुपर्ने माग गरेका छन्।
महासंघले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत गरिएको सवारी नवीकरण सम्बन्धी कर, राजस्व छुट दिने व्यवस्था कार्यान्वयनको लागि सम्बन्धित निकायमा तत्कालै परिपत्र गर्न आग्रह गरेका छन्। व्यवसायीले बन्दाबन्दी र निषेधाज्ञाका कारण यातायात सञ्चालन नभएको अवधिको बिमा पूर्ण समायोजन हुनुपर्नेमा बिमा कम्पनीहरूले आफूखूसी समय अवधि कायम गरेकाले बिमा समितिको मोटर बिमा निर्देशिका बमोजिम समयसापेक्ष नीति ल्याउनुपर्ने माग गरेका छन्।
प्रकाशित: ११ श्रावण २०७८ ०२:२३ सोमबार