२ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष निलम्बित

त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्रकुमार भगत निलम्बनको कारबाहीमा परेका छन्। उनलाई आफ्नै संस्थाका बहुमत कार्यसमिति सदस्यहरुको बैठकले ३ वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको हो।  

संघका प्रथम उपाध्यक्ष रमेश विश्वकर्माको अध्यक्षतामा सोमबार बसेको बहुमत कार्यसमिति सदस्य उपस्थित बैठकले अध्यक्ष भगतलाई आर्थिक अपचलन गरेको आरोपमा निलम्बनको कारबाही  गरेको हो। बैठकले भगतमाथि संस्थाको विभिन्न वर्षको आम्दानी ३ लाख २० हजार २ सय ५ रुपैयाँ हिनामिना गरेको आरोप लगाएको छ।  

संस्थाको नाममा विभिन्न स्रोतबाट प्राप्त ३ आर्थिक वर्षको आम्दानी दाखिला नगरेर बेरुजु देखिएपछि पटकपटक दाखिला गर्न आग्रह गर्दा अटेर गरेकाले विधान बमोजिम कारवाही गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। अध्यक्षमाथि काबराहीपछि कार्यवाहक अध्यक्ष भएका उपाध्यक्ष विश्वकर्माले पत्रकार सम्मेलनमा भगतलाई त्रियुगा उद्योग वाणिज्य संघको विधानको परिच्छेद ४, धारा ४(४) को खण्ड (ङ) ४ बमोजिम निलम्बनको कारबाही गरिएको जानकारी दिए।

सम्मेलनमा आर्थिक वर्ष २०७४/०७५, ०७५/७६ र ०७६/७७ को लेखा परीक्षण प्रतिवेदनमा भगतको नाममा उक्त रकम बेरुजु देखिएकाले विधान बमोजिम कारबाही गरेको उनले बताए।

विधानले कार्यकारीणी समितिको कुनै पनि पदाधिकारीले संघको धनसम्पत्ति वा नगद रकम हिनामिना वा पेश्की लिई एक आर्थिक वर्षभित्र फस्र्यौट नगरे कारबाही गर्ने व्यवस्था गरेको छ। परिच्छेद ४ को धारा ४ (४) खण्ड (ङ) ४ मा ‘संस्थाको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख भई अधिकार प्राप्त व्यक्तिले प्रतिवेदनमा प्रमाणित गरी निजले सोही आर्थिक वर्षभित्र संघलाई तिर्नुपर्ने रकम वा जिम्मा रहेको अन्य सम्पत्ति नतिरे वा नबुझाए त्यस्ता पदाधिकारीलाई कार्यकारीणी समितिको निर्णयले बाँकी अवधिका लागि निलम्बन गरी रकम अुसल उपरको कारवाही गरेमा स्वतः सदस्यता समाप्ती हुने’ व्यवस्था रहेको बिश्वकर्माले बताए।  

बिकका अनुसार सोमबारको कार्य समिति बैठकमा प्रथम उपाध्यक्ष रमेश विश्वकर्मा, द्वितीय उपाध्यक्ष हस्तमाया राई, सदस्यहरु विनोद पाण्डे, केदार थापा, नविन बस्नेत, सरोज बस्नेत, टीकाकुमार श्रेष्ठ, रुपम अनुराग गुप्ता, बिष्णु ओली राईको उपस्थिति र हस्ताक्षर रहेको छ।

त्यस्तै संघको रिक्त अध्यक्ष पदमा विधानको परिच्छेद ५ को धारा ५.२ को खण्ड (२) बमोजिम प्रथम उपाध्यक्ष बिश्वकर्मालाई कार्यवाहक अध्यक्षको जिम्मेबारी दिने निर्णय पनि सोही बैठकले दिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।  

कारबाही अवैधानिक : भगत

यसैबीच आफमाथि कारबाही गर्ने कार्य अवैधानिक भएको भन्दै निलम्बित अध्यक्ष गजेन्द्र भगतले आपत्ती जनाएका छन्। आपूmलाई कारबाही गर्न आयोजित पत्रकार सम्मेलनको ६ घण्टापछि बुधबार साँझ जवाफी पत्रकार सम्मेलन गर्दै भगतले आपूmले संस्थाको कुनै रकम हिनामिना नगरेको दाब्ी गरेका छन्।  

उनले आर्थिक वर्ष ०७६/७७ मा १५ लाख ५४ हजार ६ सय १३ रुपैंया १५ पैसाको वार्षिक कारोबार गरेको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्दै पत्रकार सम्मेलनमा गलत मनसायले आफूमाथि झुटा आरोप लगाएर काराबाही गर्नु विधानबिपरित भएको बताए।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका भगतले वहुमत सदस्यको नाममा आफूमाथि अन्याय भएको गुनासो पनि पत्रकार सम्मेलनमा गरे।

प्रकाशित: ३० असार २०७८ ११:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App