१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

धान दिवसमा किसान सम्मानित

रानी जमरा कुलरीया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईले धान दिसवको अवसर पारेर आज दश जना किसानलाई सम्मान गरेको छ। आयोजनाको कमाण्ड क्षेत्र भित्रका टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिका अन्तर्गत राम्रो काम गरेका किसानमध्ये दश जनालाई उत्कृष्ट कृषक सम्मानद्वारा सम्मान गरिएको हो।  

उनीहरुलाई १० हजार रुपैयाँ नगद र प्रमाण पत्र प्रदान गरिएको छ। कार्यक्रम संयोजक भरत कँडेलले एक समारोहकाबिच नगद र प्रमाण पत्र प्रदान गरेका छन्।  

सम्मान ग्रहण गर्दै लम्कीचुहा नगरपालिका–७ हरद्वानीका ६८ वर्षका मायाराम न्यौपानेले बुढेसकालमा सम्मान पाउँदा खुशी लागेको बताए। उनी ११ वर्षको उमेरदेखि कृषि कार्यमा सकृय छन्। उनले आलु खेतीको प्रवर्द्धन गरेवापत उत्कृष्ठ कृषक सम्मान पाएका हुन्।  

उनले ३ विगाहमा आलु खेती गर्दै आएका छन्। उनका अनुसार थप ३ विगाहमा आलु खेती विस्तार गर्ने योजना छ। उनले अन्य तरकारी खेती र भैंसीपालनसमेत गर्दै आएका छन्।  

‘मलाई देखेर युवा पुस्ता प्रेरित होस् भन्ने मेरो चाहना छ’ उनले भने, ‘यो वृद्धावस्थामा समेत सकृय हुनुको उद्देश्य यही हो।’

जानकी गाउँपालिका–९ मुर्तियाका प्रकाशबहादुर विश्वकर्मा बाख्रापालन गरेबापत सम्मानित भएका छन्। उनले ठूलासाना गरी ७२ वटा बाख्रा पालेका छन्। उनले बाख्रा पालनका लागि आफ्नो एक विगाह कम परेर थप दुई विगाह जमिन भाडामा लगेका छन्।  

‘म यो सम्मानले निकै उत्साहित भएको छु’ उनले भने, ‘बाख्रा पालनलाई अझ बिस्तार गर्ने योजनाका साथ अघि बढ्छु।’

टीकापुर नगरपालिका–१ की ऐश्वरीदेवी जैशी व्यवसायिक गाईभैंसी पालन वापत सम्मानित भएकी छन्। उनले टीकापुर बहुमुखी क्याम्पसको जमिन भाडामा लगेर ३५ वटा गाईभैंसी पालेकी छन्। उनले दूध बेचेर राम्रो आम्दानी भैरहेको बताइन्।  

टीकापुर नगरपालिका–६ लछिनापुरका ठाकुराम चौधरी खाद्यान्न बालीको बिउ उत्पादन गर्छन्। उनले खाद्यान्न बालीको बिउ उत्पादन गरेर राम्रो आम्दानी गरिरहेका छन्। उनलाई खाद्यान्न बालीको बिउ उत्पादन गरेवापत सम्मान गरिएको हो।  

सम्मानित हुनेमा वैदेशिक रोजगारीबाट फर्किएर कृषि कार्यमा लागेका दुईजना समेत छन्। कतारमा मासिक ८० हजार रुपैयाँ बराबरको जागिर छोडेर घर फर्किएका जानकी गाँउपालिका–६ जगतपुरका प्रल्हाद बटाला बंगुर पालनमा व्यस्त छन्। त्यस्तै भारतबाट रोजगारी छोडेर फर्किएका टीकापुर नगरपालिका–२ सीतापुरका खेम विक केरा खेतीमा लागेका छन्। उनले १४ विगाहा जमिनमा केरा खेती गर्दै आएका छन्।  

सम्मानित हुनेमा नौ जना किसान र एक कृषक समूह रहेको छ। टीकापुर नगरपालिका–१ शिवनगरमा बसोबास गर्दै आएका मुक्त कमैयाहरु संलग्न शिवमुक्त कृषक समूह सम्मानित भएको हो। समूहले च्याउ खेती गर्दै आएको छ।  

कृषि कार्यक्रम कार्यान्वयन इकाईले कृषक समूह र किसानहरुलाई सम्मान गरेको मात्रै हैन अन्य धेरैलाई कृषि उपकरण समेत सहयोग गरेको छ।

कार्यक्रम संयोजक कँडेलका अनुसार ४७८ जना कृषकलाई ठूलासाना गरी ८९५ कृषि उपकरण सहयोग गरिएको छ।

प्रकाशित: १५ असार २०७८ ११:०७ मंगलबार

रानी जमरा कुलरीया सिँचाई आयोजना कृषि कार्यक्रम